Proud rulers watch from an eagle-high red-rock fortress as refugees and divided possessions fill the valley and survivors approach radiant Mount Zion

ओबदिया 1

पवित्र बाइबल
1ओबदियाले देखेका दर्शन । एदोमको विषयमा परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: “हामीले परमप्रभुबाट एउटा सन्देश सुनेका छौं, र जातिहरूका बिचमा एक जना राजदूतलाई यसो भनेर पठाइएको छ, ‘उठ! हामी युद्धको निम्ति त्यसको विरुद्धमा उठौं!’
2हेर्, म तिमीहरूलाई जाति-जातिका बिचमा सानो तुल्याउनेछु, तिमीहरू अति घृणित हुनेछौ ।
3ए चट्टानका छेदहरूमा, आ-आफ्ना अग्ला घरहरूमा बस्‍नेहरू हो । आ-आफ्ना हृदयमा यसो भन्‍नेहरू “कसले मलाई तल जमिनमा खसाल्‍छ र?” तिमीहरूको हृदयको घमण्डले तिमीहरूलाई धोका दिएको छ ।
4तिमीहरू गरूडझैं उचाइमा उडे पनि र तिमीहरूको गुँड ताराहरूका बिचमा भए पनि, तिमीहरूलाई त्यहाँबाट म तल ल्याउनेछु, परमप्रभु भन्‍नुहुन्छ ।
5तिमीहरूकहाँ चोरहरू आउँदा, रातमा डाँकुहरू आउँदा— तिमीहरूको कस्तो सर्वनाश होला!— के तिनीहरूले आफूलाई चाहिने जति मात्र चोरेर लाँदैनन् र? दाख बाटुल्‍नेहरू तिमीहरूकहाँ आए भने, तिनीहरूले अलिअलि सिलाहरू छोड्‍दैनन् र?
6तर एसाव कसरी लुटिएको छ, त्यसका लुकाइएका धनसम्पत्तिको खोजिनेछ ।
7तेरा मित्रराष्‍ट्रका सबै मानिसहरूले तँलाई सिमाना कटाउनेछन् । तँसँग मिलापमा भएका मानिसहरूले तँलाई धोका दिएका छन्, र तेरो विरूद्धमा प्रबल भएका छन् । तेरो रोटी खानेहरूले नै तेरोमुनि पासो थापेका छन् । उसमा कुनै सुझबुझ नै छैन ।
8परमप्रभु भन्‍नुहुन्छ, “त्यो दिनमा के म एदोमबाट बुद्धिमान् मानिसहरूलाई र एसावका पहाडबाट समझदारलाई नाश गर्नेछैनँ र?”
9ए तेमान, तेरा बलवान मानिसहरू निराश हुनेछन्, जसको कारणले एसावका पहाडबाट सबै मानिसहरू काटिएर सखाप हुनेछन् ।
10तेरो भाइ याकूबमाथि गरिएको क्रूरताको कारणले, तँ शर्ममा पर्नेछस्, र तँ सधैंको निम्ति नाश हुनेछस् ।
11तँ एक्‍लै खडा भएको दिनमा, अनजान मानिसहरूले त्यसको धन खोसेर लगेका र परदेशीहरू त्यसका मूल ढोकाहरूभित्र पसेका र यरूशलेमको निम्ति चिट्ठा हालेका दिनमा, तँ पनि तीमध्‍ये एकझैं थिइस् ।
12तर आफ्नो भाइको दुर्भाग्यको दिनमा हर्षित नहो, र यहूदाका मानिसहरूको विनाशको दिनमा तिनीहरूमाथि आनन्दित नहो । तिनीहरूको विपत्तिको दिनमा घमण्ड नगर् ।
13मेरा मानिसहरूको विपत्तिको दिनमा तिनीहरूका मूल ढोकाभित्र प्रवेश नगर् । तिनीहरूको आपदको दिनमा तिनीहरूको कष्‍टमाथि हर्षित नहो । तिनीहरूको विनाशको दिनमा तिनीहरूको धन-सम्पत्ति नलुट् ।
14त्यसका भगुवाहरूलाई काट्नलाई दोबाटोमा खडा नहो, र विपत्तिको दिनमा त्यसका बाँकी बचेकाहरूलाई नसुम्‍पी ।
15किनकि सबै जातिहरूमाथि परमप्रभुको दिन नजिकै छ । तैंले जस्तो गरेको छस्, तँलाई त्यस्तै गरिनेछ । तेरा कामहरू तेरो आफ्‍नै थाप्‍लोमा फर्किनेछन् ।
16किनकि जसरी तैंले मेरो पवित्र पर्वतमा पिएको छस्, त्‍यसरी नै सारा जातिहरूले त्यहाँ सधैं पिउनेछन् । तिनीहरूले पिउनेछन् र निल्‍नेछन् अनि तिनीहरू कहिल्यै अस्तित्वमा नभएझैं हुनेछन् ।
17तर भाग्‍न सफल भएकाहरू सियोन पर्वतमा रहनेछन् र त्यो पवित्र हुनेछ । अनि याकूबको घरानाले तिनीहरूका आ-आफ्ना सम्पत्तिको अधिकार गर्नेछन् ।
18याकूबको घराना आगो हुनेछ, र योसेफको घराना ज्वाला हुनेछ, र एसावको घराना झिंजाहरू हुनेछ, र तिनीहरूले त्यसलाई जलाउनेछन् र भस्म पार्नेछन् । एसावको घरानामा कोही पनि बाँच्‍नेछैन, किनकि परमप्रभुले नै यसो भन्‍नुभएको छ ।”
19नेगेवका मानिसहरूले एसावको डाँडामा अधिकार गर्नेछन् र शेपेलाका मानिसहरूले पलिश्‍तीहरूको देशमा अधिकार गर्नेछन् । तिनीहरूले एफ्राइम र सामरियाका देशमा अधिकार गर्नेछन् । अनि बेन्यामीनले गिलादमा अधिकार गर्नेछ ।
20निर्वासनमा गएको इस्राएलका मानिसहरूको समुहले कनान देशदेखि सारपतसम्मका देश अधिकार गर्नेछ । सपारादमा भएका यरूशलेमका निर्वासितहरूले नेगेवका सहरहरूमा अधिकार गर्नेछन् ।
21उद्धार गर्नेहरू एसावको पहाडी देशमा शासन गर्नलाई सियोन पर्वतसम्म जानेछन्, र त्यो राज्य परमप्रभुको हुनेछ ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.