Samson standing near smoking fields and a spring with a lowered jawbone

न्यायकर्ताहरू 15

पवित्र बाइबल
1केही दिनपछि, गहुँ कटनीको समयमा, शिमशोनले एउटा पाठो लिए र आफ्नी पत्‍नीलाई भेट्न गए । तिनले मनमनै भने, “म मेरी पत्‍नीको कोठामा जानेछु ।” तर उनका बुबाले तिनलाई भित्र जान दिएनन् ।
2उनका बुबाले भने, “तपाईंले उनलाई घृणा गर्नुहुन्छ भनी मैले सोचेको थिएँ, यसैले मैले त्यसलाई तपाईंको साथमा बसेको मित्रलाई दिएँ । उनकी कान्छी बहिनी उनीन्दा सुन्दरी छिन् । तिनैलाई लैजानुहोस् ।”
3शिमशोनले तिनीहरूलाई भने, “यसपल्ट मैले पलिश्तीहरूलाई चोट दिंदा म निर्दोष हुनेछु ।”
4शिमशोन गए र तिन सयवटा स्यालहरू समाते र हरेकलाई दुई-दुईचटा गरेर पुच्छर-पुच्छर बाँधिदिए । तब तिनले राँको लिएर हरेक जोडीको पुच्छरको बिचमा राखे ।
5जब तिनले राँकाहरूमा आगो सल्काए, तब तिनले स्यालहरूलाई पलिश्तीहरूका पाकिरहेका अन्‍नमा छोडिदिए, र तिनीहरूले जम्‍मा गरेर राखिएका अन्‍न र खेतमा पाकेका अन्‍न दुवैमा, दाखवारीहरू र जैतूनका बगैंचाहरूलाई डढाए ।
6पलिश्तीहरूले सोधे, “यो कसले गर्‍यो?” तिनीहरूलाई भनियो, “तिम्नामा बसोबास गर्नेका ज्वाइँ शिमशोनले यो गरेका हुन् किनभने तिम्नाका मानिसहरूले शिमशोनकी पत्‍नीलाई लिए र तिनको साथमा बसेको मित्रलाई दिए ।” त्यसपछि पलिश्तीहरू गएर त्यस स्‍त्री र त्यसका बुबालाई जलाइदिए ।
7शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूको व्यवहार यस्तै हो भने, म तिमीहरूका विरुद्ध बदला लिनेछु, र त्‍यसो गरेपछि मात्र म रोकिनेछु ।”
8तब तिनले उनीहरूलाई कम्मर र जाँघबाट टुक्रा-टुक्रा गरी काटे र धेरैको हत्या गरे । त्यसपछि उनी तल गए र एतामको चट्टानको गुफामा बसे ।
9त्यसपछि पलिश्तीहरू माथि आए र तिनीहरूले यहूदामा युद्धको निम्ति तयारी गरे र लहीमा आफ्ना सेनालाई तयार राखे ।
10तब यहूदाका मानिसहरूले भने, “तिमीहरू किन हामीलाई आक्रमण गर्न आएका छौ?” तिनीहरूले भने, “शिमशोनलाई समातौं र त्यसले हामीलाई जे गरेको छ त्‍यसलाई त्‍यस्तै गरौ भनेर हामी आक्रमण गर्दैछौं ।”
11तब यहूदाका तिन हजार मानिसहरू एतामको चट्टानको गुफामा गए, र तिनीहरूले शिमशोनलाई भने, “के तिमीलाई थाहा छ, कि पलिश्तीहरू हाम्रा शासकहरू हुन्? यो तिमीले हामीलाई के गरेका छौ?” शिमशोनले तिनीहरूलाई भने, “तिनीहरूले मलाई जस्तो गरे, अनि मैले पनि तिनीहरूलाई त्यस्तै गरें ।”
12तिनीहरूले शिमशोनलाई भने, “तिमीलाई बाँधेर पलिश्तीहरूका हातमा दिनको निम्ति हामी यहाँ तल आएका छौं ।” शिमशोनले तिनीहरूलाई भने, “मसँग यो शपथ खाओ कि तिमीहरू आफैंले मलाई मार्नेछैनौ ।”
13तिनीहरूले तिनलाई भने, “हामी तिमीलाई केवल डोरीले बाँध्‍नेछौं र तिमीलाई तिनीहरूकहाँ सुम्पिनेछौं । हामी यो प्रतिज्ञा गर्छौं, कि हामी तिमीलाई मार्नेछैनौं ।” यसैले तिनीहरूले तिनलाई दुईवटा नयाँ डोरीले बाँधे र त्यस चट्टानबाट माथि ल्याए ।
14जब तिनी लहीमा आए, पलिश्तीहरूले तिनलाई भेट्नेवित्तिकै ठुलो सोरमा कराउँदै आए । अनि परमप्रभुका आत्मा शक्तिको साथमा उनीमाथि आउनुभयो । तिनका पाखुराका डोरीहरू डढेका सनपाटझैं भए, र तिनीहरू तिनका हातबाट झरे ।
15शिमशोनले एउटा गधाको आलो बङ्गारो भेट्टाए, र तिनले त्यो उठाए र त्यसैले एक हजार जना मानिसलाई मारे ।
16शिमशोनले भने, “एउटा गधाको बङ्गारोले रासमाथि रास पारें ।” एउटा गधाको बङ्गारोले मैले एक हजार जना मानिसलाई मारें ।”
17जब शिमशोनले बोलिसके, तब तिनले त्‍यो बङ्गारोलाई फालिदिए, र तिनले त्यस ठाउँलाई रामत-लही नाउँ राखे ।
18शिमशोन धेरै तिर्खाए र परमप्रभुलाई पुकारा गरे र भने, “तपाईंले आफ्नो दासलाई यो महान् विजय दिनुभएको छ । तर के अब म तिर्खाले मर्ने, अनि खतना नभएका मानिसहरूका हातमा पर्नेछु?”
19परमेश्‍वरले लहीमा भएको खाल्डोलाई चिरिदिनुभयो र त्यहाँबाट पानी निस्कियो । जब तिनले पानी पिए, तब तिनको शक्ति फर्कियो र तिनी ताजा भए । यसैले तिनले त्यस ठाउँको नाउँ एन-हक्‍कोरे राखे, र आजको दिनसम्मै त्यो लहीमा छ ।
20शिमशोनले पलिश्तीहरूको समयमा इस्राएलमा बिस वर्ष न्याय गरे ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.