Samson near Timnah vineyards with an uneasy wedding feast in the distance

न्यायकर्ताहरू 14

पवित्र बाइबल
1शिमशोन तल तिम्नामा गए, र त्यहाँ पलिश्तीहरूका छोरीहरूमध्‍ये एक जना स्‍त्रीलाई तिनले देखे ।
2जब तिनी फर्के, तब तिनले आफ्ना बुबा र आमालाई भने, “मैले तिम्नामा पलिश्तीहरूका छोरीहरूमध्‍ये एक जना स्‍त्रीलाई देखें । तिनलाई मेरो पत्‍नी हुनलाई ल्याइदिनुहोस् ।”
3तिनका बुबा र आमाले तिनलाई भने, “के तिम्रा नातेदारहरूका छोरीहरू वा हाम्रा मानिसहरूका माझमा कोही स्‍त्री छैन र? के तिमी खतना नभएका पलिश्तीहरूबाट आफ्नो निम्ति पत्‍नी लिन जाँदैछौ?” शिमशोनले आफ्ना बुबालाई भने, “तिनलाई मेरो निम्ति ल्याइदिनुहोस्, किनकि म जब तिनलाई हेर्छु, मलाई खुशी लाग्‍छ ।”
4तर तिनका बुबा र आमालाई यो कुरा परमप्रभुबाट आएको हो भन्‍ने कुरा थाहा थिएन, किनकि उहाँले पलिश्तीहरूसँग झगडा ल्याउने योजना गर्नुभएको थियो (किनकि त्यो समयमा पलिश्तीहरूले इस्राएलमाथि शासन गरिरहेको थियो) ।
5तब शिमशोन आफ्ना बुबा र आमासँग तल तिम्नामा गए, र तिनीहरू तिम्नाको दाखबारीमा गए । अनि हेर, त्‍यहाँ जवान सिंहहरूमध्‍ये एउटा माथि आयो र तिनीमाथि गर्जन थाल्यो ।
6परमप्रभुका आत्मा अचानक तिनीमाथि आउनुभयो, र तिनले एउटा सानो पाठोलाई झैं तुरुन्‍तै त्यो सिंहलाई च्यातिदिए, र तिनको हातमा तिनीसित कुनै कुरा पनि थिएन । तर आफूले जे गरेका थिए, त्‍यो तिनले आफ्ना बुबा वा आमालाई भनेनन् ।
7तिनी गए र त्यो स्‍त्रीसँग कुरा गरे, र जब शिमशोनले उनलाई हेरे, तब उनले तिनलाई खुसी पारिन् ।
8केही दिनपछि जब तिनी उनलाई विवाह गर्न भनेर फर्के, तब त्‍यो सिंहको सिनु हेर्नलाई तिनी त्‍यतातिर गए । अनि हेर, तिनले छाडेका त्यो सिंहको सिनुमा मौरीको झुण्ड र मह थियो ।
9तिनले आफ्ना हातमा मह लिए र तिनी जाँदा खाँदै गए । जब तिनी आफ्ना बुबा र आमाकहाँ आए, तिनले अलिकति मह तिनीहरूलाई पनि दिए, र तिनीहरूले खाए । तर तिनले त्यो मह सिंहको सिनुबाट लिएका थिए भन्‍ने कुरा तिनले भनेनन् ।
10शिमशोनका बुबा तल त्यो स्‍त्री भएको ठाउँमा गए, र शिमशोनले त्यहाँ एउटा भोज दिए, किनकि त्‍यो दुलहाले गर्नैपर्ने प्रचलन थियो ।
11स्‍त्रीका नातेदारहरूले तिनलाई देख्‍नेबित्तिकै, तिनीहरूले आफ्ना तिस जना साथी तिनीसँग बस्‍नलाई ल्याए ।
12शिमशोनले तिनीहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्छु । तिमीहरूमध्ये कसैले भोजको सात दिनभित्रमा अड्को फुकाएर त्यसको उत्तर मलाई भन्‍न सक्यौ भने, म तिमीहरूलाई तिसवटा सुतीका लबेदा र तिस थान लुगाहरू दिनेछु ।
13तर तिमीहरूले मलाई उत्तर भन्‍न सकेनौ भने, तिमीहरूले मलाई तिसवटा सुतीका लबेदा र तिस थान लुगाहरू दिनुपर्नेछ ।” तिनीहरूले उनलाई भने, “हामीलाई तिम्रो अड्को भन, ताकि हामी त्‍यो सनौं ।”
14तिनले उनीहरूलाई भने, “खानेबाट केही खाने कुरो निस्क्यो, बलियोबाट केही गुलियो कुरो निस्क्यो ।” तर तिनका पाहुनाहरूले तिन दिनमा त्यसको उत्तर पाउन सकेनन् ।
15चौथो दिनमा तिनीहरूले शिमशोनकी पत्‍नीलाई भने, “तिम्रो पतिलाई छल गर ताकि तिनले हामीलाई त्यो अड्कोको उत्तर बताऊन्, नत्रता हामी तिमी र तिम्रो बुबाको घरलाई आगो लगाइदिनेछौं । के हामीलाई गरिब बनाउनलाई तिमीले हामीलाई यहाँ बोलाएकी हौ?”
16शिमशोनकी पत्‍नी तिनको सामु रुन थालिन् । उनले भनिन्, “तपाईंले मलाई घृणा मात्र गर्नुहुन्छ! तपाईंले मलाई प्रेम गर्नुहुन्‍न । तपाईंले मेरा केही मानिसलाई अड्को थाप्नुभएको छ, तर तपाईंले मलाई उत्तर भन्‍नुभएको छैन ।” शिमशोनले त्यसलाई भने, “यता हेर, मैले मेरो बुबा वा आमालाई त भनेको छैनँ, त के म तिमीलाई भनूँ?”
17भोजको सातौं दिनसम्म त्यो रोई । सातौं दिनमा तिनले उनलाई उत्तर भनिदिए किनभने उनले तिनलाई धेरै दबाब दिइन् । उनले आफ्ना नातेदारहरूलाई उत्तर भनिदिई ।
18सातौं दिनमा सूर्य अस्ताउनअगि सहरका मानिसले तिनलाई भने, “महभन्दा गुलियो के हुन्छ र? सिंहभन्दा बलियो के हुन्छ र?” शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूले मेरो कोरेलीलाई नजोतेका भए, तिमीहरूले मेरो अड्कोको उत्तर पाउनेथिएनौ ।”
19तब परमप्रभुको आत्मा अचानक शक्तिको साथमा शिमशोनमाथि आउनुभयो । शिमशोन तल अश्कलोनमा गए र तिनीहरूका तिस जना मानिसहरूलाई मारे । तिनले तिनीहरूका लुटका सामान लिए, र त्यो अड्को फुकाउने मानिसहरूलाई तिनीहरूका लुगाहरू दिए । रिसले चूर भएर तिनी आफ्ना बुबाका घरमा गए ।
20शिमशोनको साथमा बसेको मित्रलाई तिनको पत्‍नी दिएर पठाइयो ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.