Priests and families bow before the veiled ark between cherubim as incense rises in the sanctuary

भजनसंग्रह 99

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1याहवेहले राज्य गर्नुहुन्छ; राष्ट्रहरू थरथर कामून्; उहाँ करूबहरूका बीचमा विराजमान हुनुहुन्छ; पृथ्वी हल्‍लियोस्!
2सियोनमा याहवेह महान् हुनुहुन्छ; उहाँ सबै राष्ट्रहरूमाथि सर्वोच्‍च हुनुहुन्छ।
3तिनीहरूले तपाईंको महान् र भययोग्य नामको प्रशंसा गरून्— उहाँ पवित्र हुनुहुन्छ।
4राजा सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले न्यायलाई मन पराउनुहुन्छ— तपाईंले निष्पक्षता स्थापना गर्नुभएको छ; तपाईंले याकोबमा न्याय र धार्मिकता सम्पन्‍न गर्नुभएको छ।
5याहवेह हाम्रा परमेश्‍वरलाई उच्‍च पार, र उहाँको पाउदानमा आराधना गर; उहाँ पवित्र हुनुहुन्छ।
6उहाँका पुजारीहरूमध्ये मोशा र हारून थिए, र शमूएल उहाँका नाम पुकार गर्नेहरू मध्येका एक थिए; तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
7उहाँले बादलको खाँबोबाट तिनीहरूसँग बोल्नुभयो; उहाँले तिनीहरूलाई दिनुभएका विधान र उर्दीहरूको तिनीहरूले पालन गरे।
8हे याहवेह, हाम्रा परमेश्‍वर, तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो; तपाईं इस्राएलीहरूका निम्ति क्षमाशील परमेश्‍वर हुनुहुन्थ्यो, यद्यपि तपाईंले तिनीहरूका दुष्कर्महरूलाई दण्ड दिनुभयो।
9याहवेह, हाम्रा परमेश्‍वरलाई उच्‍च पार, र उहाँको पवित्र पर्वतमा आराधना गर; किनकि याहवेह हाम्रा परमेश्‍वर पवित्र हुनुहुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.