A community crosses dry waterbeds and refining fire before entering an abundant place with offerings

भजनसंग्रह 66

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1हे सारा पृथ्वी, आनन्दसाथ परमेश्‍वरको जयजयकार गर!
2उहाँको नामको महिमा गर; र उहाँको प्रशंसा महिमामय बनाओ।
3परमेश्‍वरलाई भन, “तपाईंका कार्यहरू कति अद्‌भुत छन्! तपाईंको शक्ति यति महान् छ कि तपाईंको अगि तपाईंका शत्रुहरू निहुरिन्छन्।
4सारा पृथ्वी तपाईंको सामु झुक्छ; तिनीहरूले तपाईंको निम्ति प्रशंसा गाउँछन्, तिनीहरूले तपाईंको नामको गीत गाउँछन्।” सेला
5आओ र परमेश्‍वरले गर्नुभएका कामहरू हेर; मानिसहरूको निम्ति उहाँका अद्‌भुत कार्यहरू!
6उहाँले समुद्रलाई सुक्खा भूमिमा बदल्नुभयो, तिनीहरूले पैदलै सुक्खा नदी तरे— आओ, हामी उहाँमा आनन्द मनाऔँ।
7परमेश्‍वरले आफ्नो शक्तिद्वारा सदासर्वदा शासन गर्नुहुन्छ; उहाँको आँखाले राष्ट्रहरूलाई हेर्नुहुन्छ— तपाईंको विरुद्धमा तपाईंका विद्रोहीहरू उठ्न नसकून्। सेला
8हे सबै जाति-जातिहरू हो, हाम्रा परमेश्‍वरलाई प्रशंसा गर, उहाँलाई चढाइएको प्रशंसाको आवाज सुनियोस्;
9उहाँले हामीलाई जीवित राख्नुभएको छ, र हाम्रा खुट्टाहरूलाई चिप्लन दिनुभएको छैन।
10किनकि हे परमेश्‍वर, तपाईंले हामीलाई जाँच गर्नुभयो; तपाईंले हामीलाई चाँदीलाई जस्तै खार्नुभयो।
11तपाईंले हामीलाई कैदमा पार्नुभयो; र हाम्रो ढाडमा गह्रौँ भारी बोकाउनुभयो।
12तपाईंले हाम्रो शिरमाथि मानिसहरूलाई सवार गर्न दिनुभयो; हामी आगो र पानीद्वारा भएर गयौँ; तर तपाईंले हामीलाई प्रशस्तताको ठाउँमा ल्याउनुभयो।
13म तपाईंको मन्दिरमा होमबलि सहित आउनेछु; र तपाईंसँग गरेका मेरा भाकलहरू पूरा गर्नेछु।
14जब म सङ्कष्‍टमा थिएँ, मेरा ओठले प्रतिज्ञा गरेका र मेरो मुखले बोलेका भाकलहरू म पूरा गर्नेछु।
15म तपाईंलाई मोटा पशुहरूको बलिदान चढाउनेछु; र भेडाहरूको भेटी चढाउनेछु; म बहरहरू र बोकाहरू चढाउनेछु। सेला
16हे परमेश्‍वरको भय मान्‍नेहरू हो, सबै आओ र सुन; उहाँले मेरो निम्ति के गर्नुभएको छ, सो म तिमीहरूलाई बताउनेछु।
17मेरो मुखले उहाँलाई सहायताको निम्ति पुकारेँ; उहाँको प्रशंसा मेरो जिब्रोमा थियो।
18यदि मेरो हृदयमा मैले पापलाई ठाउँ दिएको भए, प्रभुले मेरो बिन्ती सुन्‍नुहुने थिएन;
19तर परमेश्‍वरले साँच्‍चै नै सुन्‍नुभएको छ; र उहाँले मेरो प्रार्थना सुन्‍नुभएको छ।
20परमेश्‍वरलाई प्रशंसा होस्, जसले मेरो प्रार्थना इन्कार गर्नुभएको छैन, वा मबाट उहाँको अचुक प्रेम रोक्नुभएको छैन!

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.