A ruler dismisses corrupt courtiers while honest workers and families gather in an open palace

भजनसंग्रह 101

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1म तपाईंको अचुक प्रेम र न्यायको गीत गाउनेछु; हे याहवेह, म तपाईंको प्रशंसा गाउनेछु।
2म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु, तपाईं मकहाँ कहिले आउनुहुनेछ? म निर्दोष हृदय लिएर आफ्नो घरको कामकाज गर्नेछु।
3म आफ्नो आँखाहरू अगि कुनै पनि अनुचित कुराहरू राख्नेछैनँ। पथभ्रष्‍ट भएकाहरूका कामलाई म घृणा गर्छु; यसमा मेरो कुनै सरोकार हुनेछैन।
4कुटिल हृदय भएकाहरू मबाट टाढा रहनेछन्; दुष्‍टसँग मेरो कुनै सरोकार रहनेछैन।
5जसले गुप्‍तमा आफ्ना छिमेकीको निन्दा गर्दछ, म त्यसलाई नाश गर्नेछु; अहङ्कारी दृष्‍टि भएका र घमण्डी हृदय भएकालाई, म सहनेछैनँ।
6देशका विश्‍वासयोग्य जनहरूमाथि म मेरो नजर राख्नेछु; ताकि तिनीहरू मसित बास गरून्; त्यो, जसको चालचलन निर्दोष छ, उसले नै मेरो सेवा गर्नेछ।
7छली काम गर्ने कसैले पनि मेरो घरमा बास पाउनेछैन; झूटो बोल्ने कोही पनि मेरो उपस्थितिमा खडा हुनेछैन।
8हरेक बिहान म देशका दुष्‍ट काम गर्नेहरू सबैलाई नाश पार्नेछु; याहवेहको सहरबाट म हरेक दुष्कर्मीलाई नष्‍ट पार्नेछु।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.