
उपदेशक 1
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1दावीदका पुत्र, यरूशलेमका राजा, उपदेशकका वचनहरू:
2“अर्थहीन नै अर्थहीन!” उपदेशकले भन्दछन्, “पूर्ण रूपमा अर्थहीन! सबै थोक अर्थहीन हुन्।”
3मानिसहरूले सूर्यमुनि गरेका सबै परिश्रमबाट तिनीहरूलाई के नै लाभ हुन्छ र?
4पुस्ताहरू आउँछन्, र पुस्ताहरू जान्छन्; तर पृथ्वी सदासर्वदा रहिरहन्छ।
5सूर्य उदाउँछ, र सूर्य अस्ताउँछ; अनि जुन ठाउँबाट उदाएको थियो फेरि हतारिँदै आफ्नै ठाउँतिर फर्किजान्छ।
6बतास दक्षिणतिर बहन्छ, र फेरि उत्तरतिर फर्कन्छ; त्यो फन्को मार्दै, फेरि फन्को मार्दै फर्केर आउँछ।
7सबै नदीनालाहरू बगेर समुद्रमै जान्छन्, र पनि समुद्र कहिल्यै भरिँदैन; जुन स्थानबाट ती नदीनालाहरू आउँछन्, ती फेरि त्यतैतिर फर्केर जान्छन्।
8सबै थोक विरक्तलाग्दा छन्, कसैले ती वर्णन गर्न सक्दैन। देखेर आँखा कहिल्यै सन्तुष्ट हुँदैन; न त सुनेर कान तृप्त हुन्छ।
9जे भएको थियो, त्यही फेरि हुनेछ; जे गरिएको थियो, फेरि त्यही गरिनेछ; सूर्यमुनि कुनै कुरा नयाँ छैन।
10के कुनै कुरो यस्तो छ, जसबारे कसैले भन्न सक्छ, “हेर! योचाहिँ नयाँ कुरा हो?” त्यो धेरै पहिलेदेखि नै यहाँ थियो, हाम्रो समयभन्दा पनि धेरै पहिलेदेखि।
11विगतका पुस्ताहरूलाई कसैले सम्झनेछैन, र आउनेवालाहरूलाई पनि कसैले सम्झनेछैन; त्यसपछि आउनेहरूले पनि सम्झना गर्नेछैनन्।
12म उपदेशक, यरूशलेममा इस्राएलको राजा थिएँ।
13आकाशमुनि जे जति गरिन्छन्, ती सबै बुद्धिद्वारा अध्ययन र अनुसन्धान गर्न भनेर मैले मेरो मनलाई लगाएँ। परमेश्वरले मानिस जातिलाई कति कठिन बोझ दिनुभएको छ, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्।
14सूर्यमुनि गरिने सबै काम मैले देखेको छु; ती सबै अर्थहीन हुन्, बतासलाई खेदेको जस्तो मात्र हो।
15जे बाङ्गो छ, त्यसलाई सीधा पार्न सकिँदैन; अनि जे कुरा छँदैछैन, त्यसको गन्ती हुँदैन।
16मैले मनमनै भनेँ, “हेर, मभन्दा अगि यरूशलेममा राज्य गर्ने सबैले भन्दा धेरै बुद्धि मैले प्राप्त गरेको छु; धेरै बुद्धि र ज्ञान मैले अनुभव गरेको छु।”
17तब बुद्धि के रहेछ भनी बुझ्नलाई आफ्नो मन लगाएँ; यसै गरी पागलपन र मूर्खतामा पनि; अनि यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ भनी मैले जानेँ।
18किनकि धेरै बुद्धिले धेरै शोक ल्याउँछ; र धेरै ज्ञानले त्यससँगै धेरै कष्ट पनि बढाउँछ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.