A teacher speaking to an attentive household while messengers walk sunlit roads toward a coastal city

रोमी 10

पवित्र बाइबल
1भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्‍वरलाई मेरो बिन्ती तिनीहरूका लागि र तिनीहरूको उद्धारको निम्ति हो ।
2किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु, कि तिनीहरूसँग परमेश्‍वरको निम्ति जोस छ, तर ज्ञानअनुसार छैन ।
3किनकि तिनीहरूले परमेश्‍वरको धार्मिकता जान्दैनन्, र तिनीहरूले आफ्नै धार्मिकता स्थापित गर्न खोज्छन् । तिनीहरू परमेश्‍वरको धार्मिकताप्रति समर्पित भएनन् ।
4विश्‍वास गर्ने सबैको निम्ति ख्रीष्‍ट नै धार्मिकताको निम्ति व्यवस्थाको समाप्‍ति हुनुहुन्छ ।
5किनकि मोशा व्यवस्थाबाट आउने धार्मिकताको विषयमा लेख्‍छन्, “व्यवस्थाको धार्मिकता पालन गर्ने मानिस, यो धार्मिकताद्वारा नै जिउनेछ ।”
6तर विश्‍वासद्वारा आउने धार्मिकताले यसो भन्छ, “आफ्नो हृदयमा यसो नभन, ‘स्वर्गमा को उक्लने ?’ (अर्थात् ख्रीष्‍टलाई तल ल्याउन) ।
7र यसो नभन, ‘तल पातालसम्म को ओर्लने ?’ (अर्थात् ख्रीष्‍टलाई मरेकाहरूबाट ल्याउन),
8तर यसले के भन्छ ? “वचन तिमीहरूको नजिकै छ, तिमीहरूको मुख र हृदयमा नै छ ।” त्यो विश्‍वासको वचन हो, जुन हामी घोषणा गर्छौं ।
9यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ र परमेश्‍वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्‍वास गर्छौ भने, तिमी बचाइनेछौ ।
10किनकि मानिसले धार्मिकताको निम्ति आफ्नो हृदयले विश्‍वास गर्छ, र उसले उद्धारको निम्ति आफ्नो मुखले स्वीकार गर्छ ।
11किनकि धर्मशास्‍त्रले भन्छ, “हरेक जसले उहाँमा विश्‍वास गर्छ, त्यो शर्ममा पारिनेछैन ।”
12किनकि यहूदी र ग्रिकहरूबिच कुनै भिन्‍नता छैन । किनकि उही प्रभु नै सबैका प्रभु हुनुहुन्छ र उहाँलाई पुकार्ने सबैको लागि उहाँ प्रशस्त हुनुहुन्छ ।
13किनकि प्रभुको नाम पुकार्ने सबै बचाइनेछन् ।
14त्यसो हो भने, जसमाथि तिनीहरूले विश्‍वास गरेका छैनन् उहाँलाई कसरी पुकार्ने ? र जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्‍वास गर्ने ? र प्रचारकविना तिनीहरूले कसरी सुन्‍न सक्छन् ?
15र जबसम्म तिनीहरू पठाईंदैनन् तिनीहरूले कसरी प्रचार गर्छन् र ? जस्तो लेखिएको छ, “असल कुराहरूबारे खुसीको सन्देश प्रचार गर्नेहरूका पाउ कति राम्रा ?”
16तर तिनीहरू सबैले सुसमाचार सुनेनन् । किनकि यशैया भन्छन्, “हे प्रभु, हाम्रो सन्देश कसले विश्‍वास गरेको छ ?”
17त्यसकारण, विश्‍वास सुनाइबाट आउँछ, र सुनाइ ख्रीष्‍टको वचनद्वारा आउँछ ।
18तर म भन्छु, “के तिनीहरूले सुनेनन् ?” हो, निश्‍चय नै । “तिनीहरूको आवाज सारा पृथ्वीभरि र तिनीहरूका शब्दहरू पृथ्वीको अन्त्यसम्म नै पुगेका छन् ।”
19यसको अतिरिक्‍त, म भन्छु, “के इस्राएलले जानेन ?” पहिले मोशा भन्छन्, “म तिमीहरूलाई एउटा जाति नै नभएको समूहद्वारा डाही तुल्याउँछु । समझविनाको जातिद्वारा म तिमीहरूलाई क्रोधित तुल्याउनेछु ।”
20यशैया निकै साहसी छन् र भन्छन्, “जसले मलाई खोजेनन्, तिनीहरूले मलाई भेट्टाए । जसले मलाई बिन्ती गरेनन्, म तिनीहरूकहाँ देखा परेँ ।”
21तर इस्राएललाई उहाँ भन्‍नुहुन्छ, “मैले मेरा हात दिनभरि अनाज्ञाकारी र हठी जातितिर फैलाएँ ।”

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.