The Lamb with a faithful multitude on Mount Zion as three angels fly above grain and grape harvests

प्रकाश 14

पवित्र बाइबल
1मैले सियोन पर्वतमा थुमा उभिरहनुभएको हेरेँ र देखेँ । उहाँसँग १,४४, ००० थिए, जोसँग उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए ।
2मैले धेरै पानीको आवाजजस्तै र ठुलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर सुनेँ । मैले सुनेको त्यो आवाज वीणा बजाउनेहरूले आफ्ना वीणाहरू बजाइरहेका सोरजस्तो थियो ।
3धर्म-गुरुहरू, चार जीवित प्राणीहरू र सिंहासनका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए । पृथ्‍वीबाट ल्याइएका १,४४, ००० बाहेक अरू कसैले पनि त्यो गीत सिक्‍न सक्दैनथ्यो ।
4यिनीहरू जसले आफैलाई स्‍त्रीहरूसित लसपस गरेका थिएनन्, किनकि तिनीहरूले अनैतिकतादेखि आफूलाई शुद्ध राखेका थिए । यी तिनीहरू हुन्, जो थुमा जहाँ-जहाँ जानुहुन्छ तिनीहरूले उहाँलाई त्यता-त्यता पछ्याउँछन् । परमेश्‍वर र थुमाका निम्ति यिनीहरू पहिलो फलको रूपमा मानव-जातिबाट ल्याइएकाहरू हुन् ।
5तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू दोषरहित थिए ।
6तब मैले अर्को स्वर्गदूतलाई आकाशको बिचमा उडिरहेको देखेँ; पृथ्‍वीमा बस्‍ने हरेक जाति, कुल, भाषा, र मानिसलाई सुसमाचार घोषणा गर्न तिनीसँग अनन्त सन्देश थियो ।
7तिनले चर्को सोरसँग कराएर भने, “परमेश्‍वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्‍वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।”
8अर्को दोस्रो स्वर्गदूतले यसो भन्दै पछ्याए, “पतन, महान् बेबिलोनको पतन भएको छ, जसले त्यसको अनैतिक कुवासनाको मद्य सबै जातिलाई पिउन लगाई ।”
9अनि अर्को तेस्रो स्वर्गदूतले चर्को सोरमा यसो भन्दै तिनीहरूलाई पछ्याए, “यदि कसैले त्यस पशु र उसको मूर्तिलाई पुजा गर्दछ, र निधारमा वा उसको हातमा छाप लगाँउछ भने,
10उसले पनि परमेश्‍वरको क्रोधबाट केही मद्य पिउनेछ, जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ । जसले यो पिउँछ त्यसलाई परमेश्‍वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ ।
11तिनीहरूको वेदनाबाट धुवाँ सदासर्वदाका निम्त माथितिर जान्छ; पशु र त्यसको मूर्ति पूज्‍नेहरू र त्यसको नाउँको छाप लिनेहरूले दिन वा रातमा कहिल्यै विश्राम पाउनेछैनन् ।
12पवित्रहरूको धैर्यका निम्ति यहाँ एउटा बोलावट छ, जसले परमेश्‍वरको आज्ञा पालन गर्दछन् र येशूमा विश्‍वास राख्छन् ।”
13मैले स्वर्गबाट यसो भनेको एउटा सोर सुनेँ, “यो लेखः प्रभुमा मर्नेहरू धन्यका हुन् ।” “हो,” आत्मा भन्‍नुहुन्छ, “ताकि तिनीहरूले आफ्नो परिश्रमबाट विश्राम पाउन सकून्, किनकि तिनीहरूका कामले तिनीहरूलाई पछ्याउनेछन् ।”
14मैले हेरेँ र त्यहाँ एउटा सेतो बादल थियो, बादलमाथि बस्‍नुभएको एक जना मानिसका पुत्रजस्तैलाई देखेँ । उहाँको शिरमा एउटा सुनको मुकुट र उहाँको हातमा धारिलो हँसिया थियो ।
15त्यसपछि अर्को स्वर्गदूत मन्दिरबाट बाहिर आए र बादलमाथि बस्‍नुहुनेलाई चर्के सोरसँग बोलाएः “तपाईंको हँसिया लिनुहोस् र कटनी गर्न सुरु गर्नुहोस् । किनभने कटनीको समय आएको छ, किनकि पृथ्‍वीको बाली पाकिसकेको छ ।”
16तब बादलमाथि बस्‍नुहुनेले आफ्नो हँसिया पृथ्‍वीमाथि चलाउनुभयो, र पृथ्‍वीमा कटनी भयो ।
17स्वर्गमा भएको मन्दिरबाट अर्को स्वर्गदूत बाहिर आए; तिनीसँग पनि एउटा धारिलो हँसिया थियो ।
18अझ अर्को स्वर्गदूत धूप वेदीबाट आए, जोसँग आगोमाथि अधिकार थियो । जोसित धारिलो हँसिया थियो, उनलाई उहाँले चर्को सोरले बोलाउनुभयो, “तिम्रो धारिलो हँसिया चलाऊ र पृथ्‍वीका अङ्गुरहरूको झुप्पालाई जम्मा गर, किनभने तिनीहरूका अङ्गुरहरू पाकिसकेका छन् ।”
19ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्‍वीमा चलाए र पृथ्‍वीका अङ्गुरको फसल जम्मा गरे । परमेश्‍वरको क्रोधको ठुलो दाख कोलभित्र फालिदिए ।
20सहर बाहिरबाट दाखको कोल भरियो र घोडाको लगामको उच्‍चाइसम्म रगत पोखियो, किनकि यो १,६०० किलोमिटरसम्म फैलिएको थियो ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.