Zelophehad’s five daughters before Moses while elders lay hands on Joshua

गन्ती 27

पवित्र बाइबल
1योसेफका छोरा मनश्शेका कुलका, मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलेद, गिलेदका छोरा हेपेर, हेपेरका छोरा सलोफादका छोरीहरू मोशाकहाँ आए । तिनका छोरीहरूका नाउँ यिनै थिएः महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा ।
2तिनीहरू भेट हुने पालको प्रवेश-द्वारमा मोशा, पुजारी एलाजार, अगुवाहरू र सारा समुदायको सामु खडा भए ।
3तिनीहरूले भने, “हाम्रा बुबा मरुभूमिमा मरे । तिनी परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कोरहको दलमा थिएनन् । तिनी आफ्नै पापको कारण मरे र तिनका कुनै छोराहरू छैनन् ।
4तिनका छोराहरू नभएकै कारण हाम्रा बुबाको नाउँ तिनका कुलका सदस्यहरूको बिचबाट किन निर्मूल गर्ने ? हामीहरूलाई हाम्रा बुबाका नातेदारहरूमाझ जग्‍गा दिनुहोस् ।”
5त्यसैले मोशाले तिनीहरूको विषयलाई परमप्रभुकहाँ ल्याए ।
6परमप्रभुले मोशालाई भन्‍नुभयो,
7“सलोफादका छोरीहरूले ठिकै भनिरहेका छन् । तैँले तिनीहरूलाई तिनीहरूका बुबाका नातेदारहरूमाझ उत्तराधिकारको रूपमा अंश दिनुपर्छ र तिनीहरूका बुबाको उत्तराधिकार तिनीहरूकै स्वामित्वमा रहोस् भनी तैँले निश्‍चय गर्नुपर्छ ।
8तैँले इस्राएलका मानिसहरूलाई भन्, 'यदि कुनै मानिस मर्छ र त्यसको छोरा छैन भने, तिमीहरूले त्यसको सम्पत्ति त्यसकी छोरीलाई दिनुपर्छ ।
9यदि त्यसकी छोरी छैन भने, तिमीहरूले त्यसको अंश त्यसको आफ्नो भाइलाई दिनुपर्छ ।
10यदि त्यसको भाइ छैन भने, तिमीहरूले त्यसको अंश त्यसका बुबाका भाइहरूलाई दिनुपर्छ ।
11यदि त्यसका बुबाका भाइहरू छैनन् भने, तिमीहरूले त्यसको अंश त्यसको कुलको सबैभन्दा नजिकको नातेदारलाई दिनुपर्छ । त्यसले त्यो आफ्नो निम्ति ग्रहण गर्नुपर्छ । यो परमप्रभुले मलाई आज्ञा गर्नुभएअनुसार इस्राएलका मानिसहरूका निम्ति आदेशद्वारा स्थापित गरिएको नियम हुने छ' ।”
12परमप्रभुले मोशालाई भन्‍नुभयो, “अबारीम पर्वतमाथि जा र मैले इस्राएलका मानिसहरूलाई दिएको भूमिलाई हेर् ।
13तैँले यसलाई हेरेपछि तँ पनि तेरा दाजु हारूनजस्तै तेरा मानिसहरूकहाँ जानुपर्छ ।
14तिमीहरू दुवै जनाले सीनको मरुभूमिमा मेरो आज्ञा विरुद्ध विद्रोह गरेको हुनाले यस्तो हुने छ । त्यहाँ चट्टानबाट पानी बगेर निस्कँदा तिमीहरूका रिसमा तिमीहरूले सारा समुदायको नजरमा पवित्र जनको रूपमा मलाई आदर गर्न चुक्यौ ।” यो घटना सीनको मरूभूमिको कादेशको मेरीबाको पानीमा भएको थियो ।
15त्यसपछि मोशाले परमप्रभुलाई भने,
16“हे सबै मानव-जातिका आत्माका परमप्रभु परमेश्‍वर, समुदायमाथि एक जना मानिस नियुक्‍त गर्नुहोस्,
17एउटा यस्तो मानिस जो तिनीहरूको अघिअघि बाहिर जाओस् र भित्र आओस् अनि तिनीहरूलाई बाहिर जाँदा र भित्र आउँदा नेतृत्व गरोस्, ताकि तपाईंका समुदाय गोठालोविनाका भेडाहरूजस्ता नहोऊन् ।”
18परमप्रभुले मोशालाई भन्‍नुभयो, “नूनका छोरा यहोशूलाई ले, एउटा मानिस जसमा मेरो आत्मा छ र त्यसमाथि तेरो हात राख् ।
19त्यसलाई पुजारी एलाजार र सबै समुदाय सामु राख् र तिनीहरूको सामुन्‍ने नै तिनीहरूलाई नेतृत्व गर्न त्यसलाई आज्ञा दे ।
20तैँले तेरो केही अधिकार त्यसलाई दिनुपर्छ, ताकि इस्राएलका मानिसहरूका सबै समुदायले तिनको आज्ञा पालन गरून् ।
21त्यो ऊरीमको निर्णयद्वारा आफ्नो निम्ति मेरो इच्छा खोज्न पुजारी एलाजारको सामु जाने छ । त्यो र इस्राएलका सबै मानिस अर्थात् सारा समुदाय त्यसको आज्ञामा नै बाहिर जाने छन् र भित्र आउने छन् ।”
22त्यसैले मोशाले परमप्रभुले तिनलाई आज्ञा गर्नुभएबमोजिम गरे । तिनले यहोशूलाई लिए र पुजारी एलाजार र सारा समुदायको सामु राखे ।
23तिनले उनीमाथि आफ्ना हात राखे र परमप्रभुले तिनलाई आज्ञा गर्नुभएझैँ नेतृत्व गर्न उनलाई आज्ञा दिए ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.