Moses and seventy elders gathered while quail descend around Israel’s wilderness camp

गन्ती 11

पवित्र बाइबल
1यस बेला परमप्रभुले सुन्‍ने गरी मानिसहरूले तिनीहरूका कष्‍टबारे गनगन गरे । परमप्रभुले मानिसहरूको गनगन सुन्‍नुभयो र रिसाउनुभयो । परमप्रभुबाट आगो दन्कियो र यसका किनाराका केही छाउनीहरू जले ।
2अनि मानिसहरूले मोशासँग बिन्ती गरे । यसैले मोशाले परमप्रभुसँग प्रार्थना गरे, र आगो रोकियो ।
3त्यस ठाउँको नाउँ तबेरा राखियो, किनभने परमप्रभुको आगो मानिसहरूमाझ दन्कियो ।
4केही विदेशीहरू इस्राएलका सन्तानहरूसँग छाउनीमा बस्‍न थाले । तिनीहरूले मिठो खानेकुरा खाने इच्छा गरे । अनि इस्राएलका मानिसहरू रुन थाले र भने, “हामीलाई कसले मासु खान दिन्छ ?”
5हामीले मिश्रमा खुलमखुला खाएका माछा, काँक्रा, खरबूजा, कन्दहरू, प्याज र लसुन सम्झन्छौँ ।
6अहिले हाम्रो भोक नै हराइसकेको छ, किनभने हामी देख्‍ने जत्ति सबै थोक मन्‍न मात्र हो ।”
7मन्‍न धनियाँको बिउजस्तो थियो । यो हेर्दा खोटोजस्तो देखिन्थ्यो ।
8मानिसहरू वरिपरि जान्थे र यसलाई बटुल्थे । तिनीहरूले यसलाई पिँध्थे, ओखलीमा कुट्थे, भाँडामा उमाल्थे र यसलाई फुरौला बनाउँथे । यो ताजा जैतूनको तेलको स्वादको थियो ।
9छाउनीमा राती शीत पर्दा मन्‍न पनि झर्थ्यो ।
10मानिसहरू आ-आफ्ना परिवारमा रोएको मोशाले सुने र सबै मानिस आ-आफ्ना पालको ढोका थिए । परमप्रभु साह्रै क्रोधित हुनुभयो र तिनीहरूको गनगन मोशाको दृष्‍टिमा गलत थियो ।
11मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन यति नराम्रो व्यावहार गर्नुभएको ? तपाईं किन मसँग खुसी हुनुहुन्‍न ? तपाईंले मलाई यी सबै मानिसको बोझ बोकाउनुहुन्छ ।
12के यी मानिसहरूलाई मैले गर्भधारण गरेको थिएँ ? के तिनीहरूलाई मैले जन्माएको थिएँ अनि 'तिनीहरूलाई बुबाले बालकलाई आफ्नो छातीमा टाँसेर बोकेझैँ बोक्' भन्‍नुहुन्छ ? के मैले तिनीहरूलाई तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुक दिन त्यहाँसम्म नै बोक्‍नुपर्ने?
13यी सबै मानिसलाई खुवाउन मैले मासु कहाँ पाउन सक्छु ? तिनीहरू 'हामीलाई मासु खान दिनुहोस्' भन्‍दै मेरो सामु रोइरहेका छन् ।
14यी सबै मानिसलाई म एक्लै बोक्‍न सक्दिनँ । तिनीहरू मेरो निम्ति अति धेरै भएका छन् ।
15तपाईंले मसँग यस्तो व्यवहार गरिरहनुभएको हुनाले यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई अहिले नै मार्नुहोस्, मैले मेरो बिजोग देख्‍नु नपरोस् ।”
16परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलका सत्तरी जना धर्म-गुरु मकहाँ ले । तिनीहरू सबै धर्म-गुरु र मानिसहरूका अधिकृतहरू होऊन् । तिनीहरूलाई भेट हुने पालमा तँसँगै खडा हुनलाई ले ।
17म ओर्ली आउनेछु र तँसँग कुरा गर्नेछु । तँसँग भ‍एको केही आत्मा लिएर यसलाई म तिनीहरूमाथि राख्‍नेछु । तिनीहरूले मानिसहरूका बोझ तँसँगै बहन गर्नेछन् । यसलाई तँ एक्लैले बोक्‍नुपर्नेछैन ।
18मानिसहरूलाई भन्, 'भोलिको निम्ति आफैलाई शुद्ध पार र तिमीहरूले साँच्‍चै मासु खानेछौ, किनकि तिमीहरू रोएका छौ र परमप्रभुले सुन्‍नुभएको छ । तिमीहरूले भन्यौ, “हामीलाई कसले मासु खान दिन्छ ? हामीलाई मिश्र देश नै असल थियो ।” यसकारण, परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र तिमीहरूले यसलाई खानेछौ ।
19तिमीहरूले मासु एक दिन, दुई दिन, पाँच दिन, दस दिन वा बिस दिन मात्र खानेछेनौ,
20तर तिमीहरूले तिमीहरूको नाक लागूञ्‍जेलसम्म पुरै महिनाभरि नै मासु खानेछौ । यो तिमीहरूलाई दिगमिग हुनेछ, किनभने तिमीहरूले परमप्रभुलाई इन्कार गरेका छौ, जो तिमीहरू माझ हुनुहुन्छ । तिमीहरू उहाँको सामु रोएका छौ । तिमीहरूले भन्यौ, “हामीले मिश्र देश किन छाड्यौँ ?”
21त्यसपछि मोशाले भने, “म छ लाख मानिससँग छु, र तपाईंले भन्‍नुभएको छ, 'मैले तिनीहरूलाई पुरै एक महिना मासु खान दिनेछु ।'
22के तिनीहरूलाई तृप्‍त पार्न हामीले भेडा-बाख्राहरू र गाईवस्तुहरू काट्नु त ? के तिनीहरूलाई तृप्‍त पार्न हामीले समुद्रका सबै माछाहरू पक्रने ?”
23परमप्रभुले मोशालाई भन्‍नुभयो, “के मेरो बहुली छोटो भएको छ ? मेरो वचन सत्य हो वा होइन भनी अब तैँले देख्‍नेछस् ।”
24मोशा बाहिर गए र परमप्रभुको वचन बोले । तिनले मानिसका सत्तरी जना धर्म-गुरुलाई भेला गरे र तिनीहरूलाई पालको वरिपरि राखे ।
25परमप्रभु बादलमा तल आउनुभयो र मोशासँग बोल्नुभयो । परमप्रभुले मोशासँग भएको केही आत्मा लिनुभयो र यसलाई सत्तरी जना धर्म-गुरुमाथि राखिदिनुभयो । तिनीहरूमाथि आत्मा आउनुभएपछि तिनीहरूले अगमवाणी गरे, तर त्यस बेला मात्र र फेरि अगमवाणी गरेनन् ।
26एल्दाद र मेदाद नाउँ गरेका दुई जना छाउनीमा नै बसे । आत्मा तिनीहरूमाथि पनि आउनुभयो । सूचीमा तिनीहरूका नाउँ पनि उल्लेख गरिएको थियो, तर तिनीहरू पालमा गएका थिएनन् । तथापि तिनीहरूले छाउनीमा नै अगमवाणी गरे ।
27छाउनीमा भएका एक जना जवान दौडेर गएर मोशालाई भने, “एल्दाद र मेदादले छाउनीमा नै अगमवाणी गरिरहेका छन् ।”
28मोशाका सहायक, तिनका चुनिएका एक जना अर्थात् नूनका छोरा यहोशूले मोशालाई भने, “मालिक, तिनीहरूलाई रोक्‍नुहोस् ।”
29मोशाले तिनलाई भने, “के तिमी मेरो खातिर डाही हुन्छौ ? परमप्रभुले उहाँका सबै मानिसमाथि उहाँको आत्मा राखेर तिनीहरू अगमवक्‍ताहरू भए कति राम्रो हुन्थ्यो !”
30मोशा र इस्राएलका धर्म-गुरुहरू छाउनीमा फर्केर गए ।
31त्यसपछि परमप्रभुबाट बतास आयो र समुद्रबाट बट्टाई चराहरू ल्यायो । तिनीहरू छाउनी नजिक वरिपरि एक दिनको बाटोभरि झरे । बट्टाई चराहरूले लगभग एक मिटर जत्ति बाक्लो हुने गरी जमिनलाई नै ढाके ।
32मानिसहरू त्यस दिनभरि, रातभरि र अर्को दिनभरि बट्टाई चराहरू बटुल्नमा व्यस्त भए । कसैले पनि पच्‍चिस मुरीभन्दा कम बटुलेन । तिनीहरूले छाउनीभरि बट्टाई चराहरू फिँजाए ।
33मासु तिनीहरूको मुखमा हुँदा नै, तिनीहरूले यसलाई चपाइरहँदा नै, परमप्रभु तिनीहरूसँग क्रोधित हुनुभयो । उहाँले मानिसहरूलाई भयङ्कर रोगले प्रहार गर्नुभयो ।
34त्यस ठाउँको नाउँ किब्रोथ-हत्तावा राखियो, किनभने मासुको लालसा गर्ने मानिसहरूलाई तिनीहरूले त्यहाँ गाडे ।
35किब्रोथ-हत्तावाबाट मानिसहरू हसेरोततिर गए, जहाँ तिनीहरू बसे ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.