Solemn mountains surround a covenant hearing as a traveler uses honest scales and helps a poor family beside heaps of unused offerings

मिका 6

पवित्र बाइबल
1अब परमप्रभु के भन्‍नुहुन्छ त्यो सुन, “उठ र आफ्नो विषयमा पर्वतहरूलाई बताओ; पहाडहरूले तिमीहरूको आवाज सुनून् ।
2ए पर्वतहरू र पृथ्वीका बलिया जगहरू परमप्रभुको अभियोगलाई सुन । किनभने आफ्ना मानिसहरूको विरुद्ध परमप्रभुको एउटा अभियोग छ, र उहाँ इस्राएलको विरुद्ध न्यायलयमा लड्नुहुनेछ ।”
3“मेरा मानिस हो, मैले तिमीहरूलाई के गरेको छु? मैले तिमीहरूलाई कसरी थकित पारेको छु? मेरो विरुद्धमा साक्षी देओ!
4किनभने मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ र दासत्वको घरबाट बचाएँ । मैले मोशा, हारून, र मिरियमलाई तिमीहरूकहाँ पठाएँ ।
5मेरा मानिस हो, तिमीहरू शित्तीमदेखि गिलगालसम्म जाँदा, मोआबका राजा बालाकले कल्पना गरेका कुरा, र बओरको छोरो बालामले कसरी जवाफ दिएका थिए त्यो सम्झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरू जान्‍न सक ।”
6उच्‍च परमेश्‍वरकहाँ म निहुरिँदा, मैले परमप्रभुकहाँ के लैजाऊँ? के म उहाँकहाँ एक वर्षे बाछाहरूका होमबलि लिएर आऊँ?
7के परमप्रभु हजारौँ भेडाहरुद्धारा, वा तेलका दश हजार नदीहरुद्धारा प्रसन्‍न हुनुहुन्छ? के मेरा अपराधहरूका निम्ति र मेरो आफ्नै पापको निम्ति मेरो जेठो छोरो, मेरो शरीरको फल चढाऊँ?
8ए मानिस, उहाँले तँलाई जे असल छ त्यो, र तँबाट परमप्रभुले चाहनुभएको कुरा बताउनुभएको छ । न्यायपूर्ण काम गर, कृपालाई प्रेम गर, र आफ्ना परमेश्‍वरसँग नम्र भएर हिँड ।
9परमप्रभुको आवाजले सहरलाई एउटा घोषणा गर्दै छ - विवेकले तपाईंको नाउँलाई स्वीकार्दछ: “छडीलाई र त्यो ठाउँमा राख्‍नेलाई ध्यान देओ ।
10बेइमान दुष्‍टका घरानाहरूमा सम्पत्तिहरू छन्, र त्यहाँ झुटा कुराहरू छन्, जुन घृणास्पद छन् ।
11यदि कसैले छलपूर्ण तराजू र कपटपूर्ण ढक प्रयोग गर्छ भने के मैले त्यसलाई निर्दोष मान्‍ने?
12धनी मानिसहरू हिंसाले भरिएका छन्, त्यसका निवासीहरू झुट बोल्छन्, र तिनीहरूका मुखमा तिनीहरूका जिब्रा छलपूर्ण छन् ।
13यसैकारण म तिमीहरूलाई भयङ्कर रूपमा प्रहार गर्नेछु, र तिमीहरूका पापको कारण म तिमीहरूलाई उजाड बनाउनेछु ।
14तिमीहरूले खानेछौ तर तृप्‍त हुनेछैनौ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ । तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्यो म तरवारलाई दिनेछु ।
15तिमीहरूले छर्नेछौ तर कटनी गर्नेछैनौ । तिमीहरूले जैतूनको तेल निकाल्नेछौ तर त्यस तेलले आफैँलाई अभिषेक गर्नेछैनौ । तिमीहरूले दाख पेल्नेछौ तर मद्य भने पिउनेछैनौ ।
16ओम्रीका नियमहरू, र आहाबका घरानाका सबै कामहरू पालना भएका छन् । यसैकारण म तिमीहरूको सहरलाई भग्‍नावशेष बनाउनेछु, र त्यहाँका बासिन्दाहरूलाई खिसीको पात्रो बनाउनेछु, र मेरा मानिसहरूबाट तिमीहरूले निन्दा सहनेछौ ।”

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.