Magi visiting the young Jesus while Mary and Joseph’s road toward Egypt stretches beyond

मत्ती 2

पवित्र बाइबल
1यहूदियाको बेथलेहेममा राजा हेरोदको समयमा येशूको जन्म भएपछि पूर्वबाट ज्ञानी मानिसहरू यरूशलेममा आएर यसो भन्‍न लागे,
2“यहूदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ ? हामीले उहाँको तारा पूर्वमा देख्यौँ र उहाँलाई दण्डवत् गर्न आएका छौँ ।”
3जब हेरोद राजाले यो सुने, उनी र उनीसँगै सारा यरूशलेम बेचैन भए ।
4हेरोदले सबै मुख्य पुजारी र मानिसहरूका शास्‍त्रीहरूलाई भेला गराए, र उनले तिनीहरूलाई सोधे, “जन्मने भनिएका ख्रीष्‍ट कहाँ छन् ?”
5तिनीहरूले उनलाई भने, “यहूदियाको बेथलेहेममा किनकि अगमवक्‍ताद्वारा यस्तै लेखिएको थियो,
6‘र यहूदाको देशमा, ए बेथलेहम, यहूदाका शासकहरूभन्दा तँ कुनै कम छैनस्, किनकि तँबाट एक जना शासक आउनुहुनेछ जसले मेरा मानिस इस्राएलको हेरचाह गर्नुहुनेछ’ ।”
7त्यसपछि ठिक कुन समयमा तारा देखा परेको थियो भनी सोध्‍न हेरोदले गुप्‍त रूपमा ती ज्ञानी मानिसहरूलाई बोलाए ।
8उनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए, “जाओ र राम्रोसँग त्यस बालकलाई खोज । जब उनलाई भेट्टाउनेछौ, मलाई खबर गर ताकि म पनि गएर उनलाई दण्डवत् गर्न सकूँ ।”
9तिनीहरूले राजाले भनेका कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे अनि तिनीहरूले पूर्वमा देखेका तारा तिनीहरूका अगि-अगि गए, र सानो बालक भएको ठाउँमा आइपुग्दा त्यो तारा त्यही ठाउँमाथि रोकियो ।
10जब तिनीहरूले त्यो तारा देखे, तिनीहरू हर्षले अति आनन्दित भए ।
11तिनीहरू घरभित्र पसे र सानो बालकलाई उहाँकी आमा मरियमको साथमा देखे । तिनीहरूले दण्डवत् गरे र उहाँको आराधना गरे । तिनीहरूले आफ्ना बहुमूल्य कुराहरू निकाले र उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका उपहारहरू चढाए ।
12परमेश्‍वरले तिनीहरूलाई हेरोदकहाँ फर्की नजानू भनी सपनामा चेतावनी दिनुभयो । त्यसैले, तिनीहरू अर्कै बाटो भएर आ-आफ्नै देशमा गए ।
13तिनीहरू गइसकेपछि परमप्रभुका एउटा दूत योसेफकहाँ सपनामा देखा परे र भने, “उठ, सानो बालक र उहाँकी आमालाई लिएर मिश्र देशमा भागेर जाऊ । मैले नभनेसम्म त्यहीँ बस, किनकि हेरोदले सानो बालकलाई मार्न उहाँलाई खोज्नेछ ।”
14त्यो रात योसेफ उठे र सानो बालक र उहाँकी आमालाई लिए अनि मिश्रदेशतर्फ प्रस्थान गरे ।
15हेरोदको मृत्यु नभएसम्म उनी त्यहीँ बसे । अगमवक्‍ताद्वारा परमप्रभुले भन्‍नुभएको कुरा यसरी पुरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएको छु ।”
16त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए, उनी औधी रिसाए । ती ज्ञानी मानिसहरूबाट उनले निर्धारण गरेका समयअनुसार त्यस क्षेत्रका दुई वर्ष पुगेका र त्योभन्दा मुनिका बालकहरूलाई र बेथलेहेमका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए ।
17यसरी यर्मिया अगमवक्‍ताद्वारा जे भनिएको थियो, त्यो पुरा भयो,
18“रामामा एउटा आवाज सुनियो, रोदन र ठुलो विलाप, बालकहरूका निम्ति राहेलको रोदन, र सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन् ।”
19जब हेरोद मरे, हेर, परमप्रभुका एक जना दूत मिश्रमा योसेफकहाँ सपनामा देखा परे अनि उनलाई भने,
20“उठ, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा जाऊ, किनकि जसले बालकलाई मार्न चाहेका थिए, तिनीहरू मरिसकेका छन् ।”
21योसेफ उठे, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा आए ।
22तर जब यहूदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले शासन गरिरहेका उनले सुने, उनी त्यहाँ जान डराए । परमप्रभुले सपनामा चेतावनी दिनुभएपछि उनी गालीलको क्षेत्रतिर लागे,
23र नासरत भनिने सहरमा गएर बसे । “उहाँलाई नासरी भनिनेछ” भनेर अगमवक्‍ताहरूद्वारा बोलिएको वचन यसरी पुरा भयो ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.