Messengers from John approaching Jesus as restored and weary people gather beside him

मत्ती 11

पवित्र बाइबल
1येशूले आफ्ना बाह्र जना चेलालाई शिक्षा दिइसक्‍नुभएपछि तिनीहरूका सहरहरूमा सिकाउन र प्रचार गर्न उहाँ त्यहाँबाट जानुभयो ।
2अनि जब यूहन्‍नाले झ्यालखानाबाट ख्रीष्‍टले गर्नुभएका कामहरूको बारेमा सुने, उनले आफ्ना चेलाहरूद्वारा एउटा खबर पठाए,
3र उनलाई भने, “के आउनुहुनेवाला तपाईं नै हुनुहुन्छ, वा कोही अर्कै मानिस हुनुहुन्छ जसको हामीले प्रतीक्षा गर्नुपर्छ ?”
4येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्‍नालाई बताइदेओ ।
5दृष्‍टिविहीनहरूले दृष्‍टि पाइरहेका छन्; लङ्गडा मानिसहरू हिँडिरहेका छन्; कुष्‍ठरोगीहरू शुद्ध पारिएका छन्; बहिरा मानिसहरूले फेरि सुनिरहेका छन्; मरेका मानिसहरूलाई फेरि जीवनमा फर्काइएको छ, अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइँदै छ ।
6अनि तिनीहरू धन्यका हुन् जसले मलाई तिनीहरूका निम्ति कुनै बाधा सम्झँदैनन् ।”
7जसै यी मानिसहरू आफ्नो बाटो लागे, येशूले भिडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गयौ– हावाले हल्लाइरहेको निगालोलाई ?
8तिमीहरू के हेर्न बाहिर गयौ– मलमलको लुगा लगाउने मानिसलाई ? वास्तवमा मलमलको कपडा लगाउने व्यक्‍ति त राजाहरूका दरबारहरूमा बस्छ ।
9तर तिमीहरू के हेर्न बाहिर गयौ– के अगमवक्‍तालाई ? हो, म तिमीहरूलाई भन्दछु, अगमवक्‍ताभन्दा पनि महान् व्यक्‍तिलाई ।
10उनी तिनै हुन् जसको बारेमा यस्तो लेखिएको छ, ‘हेर, म तिमीहरूको अगि-अगि मेरा समाचारवाहकलाई पठाउँदै छु, जसले म आउनुभन्दा अगाडि तिमीहरूका निम्ति बाटो तयार पार्नेछन् ।’
11साँच्‍चै म तिमीहरूलाई भन्दछु, स्‍त्रीबाट जन्मेकाहरूमा बप्‍तिस्मा-दिने यूहन्‍नाभन्दा महान् अरू कोही छैन । तरै पनि स्वर्गको राज्यमा सबैभन्दा कम महत्त्‍वको मानिस उनीभन्दा महान् हुन्छन् ।
12बप्‍तिस्मा-दिने यूहन्‍नाको दिनदेखि अहिलेसम्म स्वर्गको राज्यले तीव्रता भोगिरहेको छ, र उग्र मानिसहरूले यसलाई बलपूर्वक पक्रन्छन् ।
13किनकि यूहन्‍ना नआन्जेलसम्म सबै अगमवक्‍ता र व्यवस्थाले अगमवाणी गरिरहेका थिए ।
14अनि यदि तिमीहरूले एलियालाई पाउने इच्छा गरिरहेका छौ भने, आउनुपर्ने एलिया उनी नै हुन् ।
15जससँग सुन्‍ने कान छ, त्यसले सुनोस् ।
16यस पुस्तालाई म केसँग तुलना गरूँ ? यो त बजारमा खेलिरहेका बालकहरूजस्तै छ, जो बस्दछ र एक अर्कालाई बोलाउँदछ,
17र भन्दछ, ‘हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ । हामीले शोक गर्‍यौँ, र तिमीहरू रोएनौ ।’
18किनकि यूहन्‍ना रोटी खाँदै अथवा दाखमद्य पिउँदै आएनन्, अनि तिनीहरू भन्छन्, ‘त्यसलाई भूत लागेको छ ।’
19मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, ‘हेर, ऊ एउटा घिचुवा मान्छे हो अनि पियक्‍कड, कर उठाउनेहरू र पापीहरूको मित्र हो !’ तर बुद्धिचाहिँ तिनको कामहरूले सिद्ध हुन्छ ।”
20तब येशूले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्‍तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले पश्‍चात्ताप गरेका थिएनन् ।
21“धिक्‍कार तँलाई, ए खोराजीन ! धिक्‍कार तँलाई, ए बेथसेदा ! यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू टुरोस र सीदोनमा गरिएका भए, तिनीहरूले धेरै पहिले नै भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसकेका हुने थिए ।
22न्यायको दिनमा तिमीहरूका निम्ति भन्दा टुरोस र सीदोनको निम्ति इन्साफ अझ बढी सहनीय हुनेछ ।
23तँ कफर्नहुम, के तँ स्वर्गमा उचालिनेछस् भनी सम्झन्छस् । होइन, तँलाई तल पातालमा झारिनेछ । किनकि यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू सदोममा गरिएका भए, त्यो आजसम्म पनि रहिरहने थियो ।
24तर म तिमीहरूलाई भन्दछु, कि इन्साफको दिनमा तेरो निम्ति भन्दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ ।”
25त्यस बेला येशूले भन्‍नुभयो, “पिता, म तपाईंको प्रशंसा गर्दछु । हे स्वर्ग र पृथ्वीका मालिक, किनभने तपाईंले यी कुराहरू बुद्धिमानी र समझदारहरूबाट लुकाउनुभयो, र ती अनपढलाई प्रकट गराउनुभयो जो साना बालकहरूजस्ता छन् ।
26हो, पिता, किनकि तपाईंको दृष्‍टिमा यही नै मनपर्दो थियो ।
27मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ । अनि पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, अनि पुत्र र पुत्रले प्रकट गराउन इच्छा गरेको व्यक्‍तिले बाहेक पितालाई कसैले चिन्दैन ।
28मकहाँ आओ, तिमीहरू सबै जसले परिश्रम गर्दछौ र गह्रौँ बोझले लादिएका छौ, अनि म तिमीहरूलाई विश्राम दिनेछु ।
29मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ ।
30किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुको छ ।”

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.