
मर्कूस 5
पवित्र बाइबल
1उहाँहरू समुद्रको पारिपट्टि गदरिनीहरूको क्षेत्रमा आउनुभयो ।
2जब येशू डुङ्गाबाट ओर्लंदै हुनुहुन्थ्यो, अशुद्ध आत्मा लागेको एक जना मानिस चिहानबाट उहाँकहाँ आयो ।
3त्यो मानिस चिहानमा बस्थ्यो । कसैले पनि त्यसलाई रोक्न सकेको थिएन; त्यसलाई साङ्लाले बाँधेर राख्न पनि सकेको थिएन ।
4त्यसलाई धेरै पटक साङ्लाहरूले बाँधेको र ठिँगुरो लगाएर राखोएको थियो । त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्यसको ठिँगुरोलाई तोडिदिन्थ्यो । त्यसलाई वशमा राख्ने सामर्थ्य कसैमा थिएन ।
5हरेक दिन र रात डाँडाहरूमा र त्यो चिहान घारीमा चिच्च्याउँथ्यो र त्यसले धारिलो ढुङ्गाहरूले आफैँलाई काटेर चोट पार्थ्यो ।
6जब त्यसले येशूलई टाढैबाट देख्यो, त्यो दौडेर उहाँकहाँ गयो, अनि उहाँको अगि घोप्टो पर्यो ।
7त्यसले ठुलो स्वरमा कराए भन्यो, “हे येशू, सर्वोच्च परमेश्वरका पुत्र, मेरो तपाईंसँग के सम्बन्ध छ ? म परमेश्वरको नाउँमा बिन्ती गर्छु, कि मलाई नसताउनुहोस् ।”
8किनभने येशूले त्यसलाई भनिरहनुभएको थियो, “तँ अशुद्ध आत्मा, त्यो मानिसबाट बाहिर निस्किआइज ।”
9उहाँले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो ?” त्यसले उहाँलाई भन्यो, “मेरो नाम फौज हो, किनकि हामी धेरै छौँ ।”
10त्यसले उहाँलाई त्यस क्षेत्रबाट बाहिर नपठाउन बारम्बार बिन्ती गर्यो ।
11त्यहाँ सुँगुरको एउटा ठुलो बथान डाँडामा चरिरहेको थियो,
12अनि तिनीहरूले यसो भन्दै उहाँसँग बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्; हामीलाई तिनीहरूमा पस्न दिनुहोस् ।”
13उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडतिर समुद्रभित्र हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे ।
14अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए, र तिनीहरूले त्यहाँ घटेको घटनाबारे सहर र गाउँघरतिर बताए अनि के भएकोरहेछ भनी हेर्न धेरै मानिसहरू गए ।
15तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए ।
16भूत लागेको मानिसलाई के भएको थियो भनी देख्नेहरूले त्यसलाई र सुँगुरहरूको बारेमा के भएको थियो भनी तिनीहरूलाई बताए ।
17अनि तिनीहरूले येशूलाई तिनीहरूको क्षेत्रबाट जान आग्रह गरे ।
18जब येशू डुङ्गामा चढ्दै हुनुहुन्थ्यो त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै जान उहाँलाई बिन्ती गर्यो ।
19तर येशूले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन । उहाँले भन्नुभयो, “तिम्रो जाति र तिम्रो घरमा जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कस्तो अनुग्रह गर्नुभयो, सो उनीहरूलाई भन ।”
20त्यसकारण, त्यो मानिस गयो र डेकापोलिसमा येशूले त्यसको निम्ति गर्नुभएका महान् कुराहरू बताउन थाल्यो, अनि तिनीहरू सबै छक्क परे ।
21येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भिड भेला भयो ।
22यहूदी सभाघरका याइरस नाउँ गरेका एक जना अगुवा आए । जब उनले येशूलाई देखे, तब उहाँको पाउमा परे ।
23उनले यसो भन्दै बारम्बार बिन्ती गरे, “मेरी सानी छोरी मृत्युको मुखमा परेकी छे । म तपाईंलाई बिन्ती गर्छु, कि आउनुहोस् र उनीमाथि हात राखिदिनुहोस्, ताकि उनी ठिक हुन सकून् र बाँच्न सकून् ।”
24त्यसैले, उहाँ तिनीसँग जानुभयो, अनि ठुलो भिडले उहाँलाई पछ्यायो, अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे ।
25त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने रोगले ग्रस्त भएकी एक महिला थिइन् ।
26तिनले धेरै डाक्टरकहाँ गएर धेरै दुःख कष्ट भोगेकी थिइन् अनि तिनीसँग भएका सबै थोक तिनले खर्च गरिसकेकी थिइन् । तैपनि तिनलाई कुनै पनि कुराले सहायता पुर्याएन, बरु तिनको अवस्था झनझन नराम्रो मात्र हुँदै गयो ।
27तर तिनले येशूको बारेमा सुनेकी थिइन् । त्यसैले, उहाँ भिडमा हिँडिरहनुभएको बेला तिनी उहाँको पछाडि आइन्, अनि तिनले उहाँको खास्टो छोइन् ।
28किनकि तिनले भनिन्, “यदि मैले उहाँको खास्टो छोएँ भने म निको हुनेछु ।”
29जब तिनले उहाँलाई छोइन्, रगत बग्न रोकियो, अनि तिनले आफू आफ्नो कष्टबाट निको भएकी महसुस गरिन् ।
30येशूले आफूबाट शक्ति निस्केर गएको तुरुन्तै थाहा पाउनुभयो । अनि उहाँ भिडतिर फर्केर भन्नुभयो, “कसले मेरो लुगा छोयो ?”
31उहाँका चेलाहरूले उहाँलाई भने, “तपाईंको वरिपरि ठेलमठेल गरेको भिडलाई देख्नुहुन्छ, अनि तपाईं भन्नुहुन्छ ‘मलाई कसले छोयो’ ?”
32तर येशूले यो कसले गरेको थियो भनी देख्न वरिपरि हेर्नुभयो ।
33ती स्त्रीले आफूलाई के भएको थियो भन्ने कुरा थाहा पाइन्, अनि तिनी डरले कामिन् । तिनी उहाँको सामु घोप्टो परिन् र सबै सत्यता उहाँलाई बताइन् ।
34उहाँले तिनलाई भन्नुभयो, “हे छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ । शान्तिसाथ जाऊ र तिम्रो रोगबाट निको होऊ ।”
35उहाँ बोल्दै गर्नुहुँदा सभाघरका अगुवाको घरबाट केही मानिसहरू यसो भन्दै आए, “तपाईंकी छोरी मरी । अब गुरुलाई किन दुःख दिने ?”
36तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्नुभयो, उहाँले सभाघरका अगुवालाई भन्नुभयो, “नडराऊ । विश्वास मात्र गर ।”
37उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन ।
38उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला अर्थात् रोइरहेको र विलाप गरिरहेको देख्नुभयो ।
39जब उहाँ घरभित्र पस्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन निरास छौ र रुन्छौ ? बालिका मरेकी छैनन्, सुतेकी मात्र हो ।”
40उहाँको कुरामा तिनीहरू हाँसे, तर उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो, अनि उहाँले बालिकाका बाबु र आमा अनि उहाँसँग आएकाहरूलाई लिएर उहाँ ती बालिका भएको ठाउँमा आउनुभयो ।
41उहाँले बालिकालाई हात समातेर तिनलाई भन्नुभयो, “तालिता कूमी”, जसको अर्थ हुन्छ, “सानी नानी, म तिमीलाई भन्दछु, उठ ।”
42तुरुन्तै बालिका उठिन् अनि हिँडिन् (उनी बाह्र वर्षकी थिइन्) । अनि तिनीहरू अत्यन्तै चकित भए ।
43उहाँले त्यस बारेमा कसैलाई थाहा नदिन कडा आज्ञा दिनुभयो । अनि उहाँले ती बालिकालाई केही खाने कुरा दिनुभयो ।
पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.