Jesus beside an overflowing fishing boat as a leper and a paralyzed man receive restoration

लुका 5

पवित्र बाइबल
1जब मानिसहरू येशूकहाँ परमेश्‍वरको वचन सुन्‍नको लागि जम्मा भए, त्यो समयमा येशू गनेसरेतको तालमा उभिनुभएको थियो ।
2उहाँले तालको किनारमा दुईवटा डुङ्गा राखेको देख्‍नुभयो । जालहारीहरूले बाहिर निस्‍केर आफ्ना जालहरू धोइरहेका थिए ।
3येशू तीमध्ये एउटा डुङ्गामा चढ्नुभयो जुनचाहिँ सिमोनको थियो र उनलाई जमिनभन्दा पर पानी भएको ठाउँतिर लैजान भन्‍नुभयो । त्यसपछि उहाँले डुङ्गामा बसेर मानिसहरूलाई सिकाउनुभयो ।
4उहाँले बोलिसक्‍नुभएपछि सिमोनलाई भन्‍नुभयो, “माछाहरू समात्‍नलाई तिम्रो डुङ्गा गहिरो पानीतिर लैजाऊ र जाल हान ।”
5सिमोनले जवाफ दिएर भने, “प्रभु, हामीले रातभरि जाल हान्यौँ, तर केही पनि पक्रन सकेनौँ । तरै पनि तपाईं भन्‍नुहुन्छ भने म जाल हान्‍नेछु ।”
6जब तिनीहरूले यसो गरे, तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले र तिनीहरूको जाल फाट्न लागिरहेको थियो ।
7त्यसैले, तिनीहरूले आफ्ना डुङ्गाका अरू साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे । तिनीहरू आए र सबै डुङ्गाहरू भरे अनि ती डुब्‍न थाले ।
8तर सिमोन पत्रुसले जब यो देखे, येशूको अगाडि घुँडा टेकेर भने, “हे प्रभु, मबाट टाढा जानुहोस् किनकि म पापी हुँ ।”
9तिनीहरूले माछा समातेको देखेर उनी र तिनीसँग भएका सबै जना आश्‍चर्य चकित भए ।
10यस कार्यमा जब्दियाका छोराहरू याकूब र यूहन्‍ना पत्रुससँग साझेदार थिए । येशूले पत्रुसलाई भन्‍नुभयो, “नडराऊ, किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ ।”
11जब तिनीहरूले आफ्नो डुङ्गालाई जमिनमा ल्याए, उनीहरूले आफूसँग भएका सबै कुरा छोडेर उहाँको पछि लागे ।
12जब उहाँ सहरहरूमध्ये एउटा सहरमा जाँदै गर्नुहुँदा उहाँले कुष्‍ठरोगीलाई देख्‍नुभयो । जब कुष्‍ठरोगीले येशूलाई देख्यो, उसले घोप्‍टो परेर दण्डवत् गर्‍यो र भन्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्छ ।”
13येशूले हात पसारेर छुनुभयो र भन्‍नुभयो, “म चाहन्छु कि तिमी शुद्ध होऊ ।” अनि तत्कालै कुष्‍ठरोगले उसलाई छोड्यो ।
14उहाँले यो कुरा कसैलाई नभन्‍नू भनी आज्ञा गर्नुभयो र भन्‍नुभयो, “आफ्नो बाटो लाग र मोशाको व्यवस्थाबमोजिम आफैँलाई पुजारीकहाँ देखाऊ । तिम्रो शुद्धताको लागि बलि चढाऊ र तिनीहरूलाई तिमी कसरी निको भयौ भनी गवाही देऊ ।”
15तर यो कुरा चारैतिर फैलियो र भिडहरू त्यो कसरी निको भयो भनी सिकाएको सुन्‍न र आ-आफ्नो रोगबाट निको हुन आए ।
16तर उहाँ प्रायः गरेर उजाड-स्थानतिर गएर प्रार्थना गर्नुहुन्थ्यो ।
17एक दिन उहाँले शिक्षा दिइरहनुभएको बेलामा, त्यहाँ फरिसीहरू र व्यवस्‍थाका शिक्षकहरू पनि बसिरहेका थिए, जो गालील र यहूदाका विभिन्‍न गाउँ र इलाकाहरूबाट अनि यरूशलेमको सहरबाट आएका थिए । निको पार्नका लागि परमेश्‍वरको शक्‍ति उहाँसँग थियो ।
18केही मानिसहरूले एक जना पक्षाघाती मानिसलाई गुन्‍द्रिमा बोकेर त्यहाँ आए । उसलाई येशूको अगाडि भित्र लगेर राख्‍नका लागि लैजाने बाटो खोजे ।
19तर भिडको कारणले गर्दा तिनीहरूले उसलाई येशूकहाँ लैजान सकेनन् । त्यसैले, तिनीहरू घरको छानामाथि चढे र छाना खोलेर तिनीहरूले त्यो मानिसलाई येशू भएको ठाउँको अगाडि ओछ्यानसहित झारिदिए ।
20येशूले तिनीहरूको विश्‍वासलाई देख्‍नुभयो र भन्‍नुभयो, “हे मानिस, तिम्रो विश्‍वासको कारण तिम्रा पाप क्षमा भएका छन् ।”
21शास्‍त्री र फारिसीहरूले प्रश्‍न गर्न थाले, “यो ईश्‍वर-निन्दा गर्ने को हो ? परमेश्‍वरबाहेक कसले पापको क्षमा दिन सक्छ ?”
22येशूले तिनीहरूले आपसमा के विचार गरेका थिए भन्‍ने कुरा जान्‍नुभयो र भन्‍नुभयो, “तिमीहरू आफ्नो हृदयमा किन यस्तो प्रश्‍न गर्दछौ ?
23कुन कुरा सजिलो छ ‘तिम्रा पाप क्षमा भए भन्‍नु वा उठेर हिँड् भन्‍नु ?‘
24तिमीहरूलाई थाहा होस् कि मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ । म तिमीलाई भन्दछु, ‘उठ, तिम्रो आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ‘ ।”
25तुरुन्तै तिनीहरूको सामुन्‍ने ऊ उठ्यो र आफ्नो ओछ्यान उठाएर परमेश्‍वरको महिमा गर्दै आफ्नो घरतर्फ लाग्यो ।
26सबै जना अचम्मित भए र परमेश्‍वरलाई महिमा दिए । तिनीहरू डरले भरिएर भने, “आज हामीले असाधारण काम देखेका छौँ ।
27यसपछि येशू त्यहाँबाट जानुभयो र लेवी नाउँ गरेको कर उठाउने व्यक्‍तिलाई कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो । उहाँले उसलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।”
28त्यसैले, लेवीले सब थोक छाडेर उठे अनि उहाँलाई पछ्याए ।
29तब लेवीले येशूको निम्ति उसको घरमा एउटा ठुलो भोज दिए, जहाँ धेरै कर उठाउनेहरू पनि थिए अनि अन्य मानिसहरूले पनि टेबलमा अडेस लगाएर तिनीहरूसँगै खाइरहेका थिए ।
30तर फरिसीहरू र तिनीहरूका शास्‍त्रीहरूले उहाँका चेलाहरूसँग यसरी गुनासो गरिरहेका थिए, “तिमीहरू किन कर उठाउनेहरू र अरू पापीहरूसँग बसेर खान्‍छौँ ?”
31येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “असल स्वस्थ हुने मानिसलाई वैद्यको आवश्यकता पर्दैन, बिरामीलाई मात्र यसको आवश्यकता पर्छ ।”
32म धर्मी मानिसलाई पश्‍चात्तापको लागि बोलाउन आएको होइनँ, तर पापीहरूलाई पश्‍चात्तापको निम्ति बोलाउन आएको हुँ ।
33तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू प्रायः उपवास बस्छन् र प्रार्थना गर्छन् अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरू खान्छन् र पिउँछन् ।”
34येशूले तिनीहरूलाई भन्‍नुभयो, “के विवाह भोजमा दुलहा त्यहाँ तिनीहरूकासाथमा हुँदा विवाह भोजमा उपस्थित हुनेहरू उपवास बस्‍छन् र ?”
35तर तिनीहरूबाट दुलहालाई लगिने समय आउनेछ,तब मानिसहरू ती दिनहरूमा उपवास बस्‍नेछन् ।”
36त्यसपछि येशूले तिनीहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो, “कसैले पनि पुरानो कपडा टाल्नलाई नयाँ कपडा च्यात्दैन । उसले त्यसो गर्‍यो भने, उसले त्यो नयाँ कपडालाई च्यातेको हुन्छ, तर त्यो नयाँ कपडाको टुक्रा पुरानो कपडासँग पनि मिल्दैन ।
37साथै कसैले पनि पुरानो मशकमा नयाँ दाखमद्य हाल्दैन । उसले त्यसो गर्‍यो भने नयाँ दाखमद्यले पुरानो मशकलाई फुटाउनेछ र दाखमद्य पोखिन्छ र मशक पनि नष्‍ट हुनेछ ।
38तर नयाँ दाखमद्य नयाँ मशकमा नै राख्‍नुपर्छ ।
39पुरानो दाखमद्य पिएर कसैले पनि नयाँ दाखमद्यको चाह गर्दैन, किनभने उसले “पुरानो नै असल छ भन्छ ।”

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.