John baptizing Jesus in the Jordan while diverse families and generations gather along the banks

लुका 3

पवित्र बाइबल
1कैसर तिबेरियसको पन्ध्रौँ वर्षमा, जति बेला पन्तियस पिलातस यहूदियाका शासक थिए, हेरोद गालीलका शासक र उनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए । लुसानियास अबिलेनेका शासक थिए ।
2हन्‍नास र कैयाफा प्रधान पुजारी भएको समयमा, जकरियाका छोरा यूहन्‍नाकहाँ उजाड-स्थानमा परमेश्‍वरको वचन आयो ।
3उनले पाप क्षमाका निम्ति बप्‍तिस्माको प्रचार गर्दै यर्दन नदी वरपरिका क्षेत्रहरूमा प्रचार गर्दै हिँडे ।
4जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “उजाड-स्थानमा कसैको आवाजले बोलाइरहेको छ, प्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझो बनाऊ ।
5हरेक उपत्यका बनाइनेछ, हरेक पहाड र डाँडाहरू समतल पारिनेछ, बाङ्गा बाटाहरू सोझो हुन आउनेछन् र नराम्रा बाटोहरू राम्रा बनाइनेछन् ।
6सबै मानिसहरूले परमेश्‍वरको उद्धारलाई देख्‍नेछन् ।”
7यसकारण, यूहन्‍नाले उनीकहाँ बप्‍तिस्‍मा लिन आइरहेको ठुलो भिडलाई भने, “हे विषालु सर्पका सन्तान हो, कसले तिमीहरूलाई परमेश्‍वरको आउँदै गरेको क्रोधबाट भाग्‍नलाई चेताउनी दियो ?
8पश्‍चात्ताप योग्यको फल फलाओ र आफ्नो मनमा हाम्रा पिता त अब्राहाम हुन् भन्‍न छोड, किनभने परमेश्‍वरले यी चट्टानहरूबाट पनि अब्राहामको निम्ति सन्तान खडा गर्न सक्‍नुहुन्छ ।
9रुखहरूको जरामा बन्चरो परिसकेको छ । त्यसैले, असल फल नफलाउने हरेक रुख काटिनेछ र आगोमा फालिनेछ ।”
10तब भिडबाट मानिसहरूले यसो भन्दै सोधे, “त्यसो भए हामीले के गर्ने त ?”
11उनले तिनीहरूलाई जवाफ दिए, “दुई जोर दौरा हुनेले नहुनेलाई दिओस् । त्यसै गरी, जससँग खानेकुरा छ, त्यसले नहुनेलाई दिओस् ।”
12त्यसपछि केही कर उठाउनेहरू पनि उनीकहाँ बप्‍तिस्मा लिन आए र भने, “गुरु, हामीले के गर्ने नि ?”
13उनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूले उठाउनुपर्ने भन्दा बढी पैसा नउठाउनू ।”
14केही सिपाहीहरू पनि आएर सोधे, “हाम्रो बारेमा नि ? हामीले के गर्ने ?” उनले तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूबाट जबरजस्ती पैसा नलेओ र कसैलाई पनि झुटो दोष नलगाओ, तर आफ्ना तलबमा नै सन्तुष्‍ट होओ ।”
15तब मानिसहरूले ख्रीष्‍ट आउनुहुन्छ भनेर उत्सुकतासाथ प्रतीक्षा गरिरहेका थिए, कतै यूहन्‍ना नै पो ख्रीष्‍ट हुन् कि भनेर हरेकको मनमा दोधार भइरहेको थियो ।
16यूहन्‍नाले तिनीहरू सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु, तर मभन्दा अर्का शक्‍तिशाली व्यक्‍ति आउनुहुन्छ, जसको जुत्ताको फित्ता फुकाल्न पनि म योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ ।
17उहाँको खला सफा गर्न र अन्‍नलाई भण्डारमा जम्मा गर्नलाई उहाँको हातमा निफन्‍ने नाङ्लो छ । तर उहाँले भुसलाई चाहिँ कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ ।
18उहाँले मानिसहरूलाई अझ धेरै उत्साह दिँदै सुसमाचार प्रचार गर्नुभयो ।
19यूहन्‍नाले हेरोदलाई उनका भाइकी पत्‍नी हेरोदियासलाई विवाह गरेको साथै उनले गरेको अन्य खराबीहरूका निम्ति पनि हप्काए ।
20तर हेरोदले अझ बढी दुष्‍ट काम गरे । किनभने उनले यूहन्‍नालाई जेलमा हालेका थिए ।
21यूहन्‍नाले मानिसहरूलाई बप्‍तिस्‍मा दिँदै गर्दा, येशूलाई पनि बप्‍तिस्‍मा दिइयो । जब उहाँले प्रार्थना गर्दै हुनुहुन्‍थ्‍यो, तब स्वर्ग खुल्यो ।
22पवित्र आत्मा उहाँमाथि ढुकुरजस्तै ओर्लनुभयो । त्यसै बेला स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, म तिमीसँग प्रसन्‍न छु ।”
23येशूले आफैँ सिकाउन सुरु गर्नुहुँदा उहाँ तिस वर्षको हुनुहुन्थ्यो । उहाँ योसेफका छोरा (जस्तो सोचिएको थियो) हुनुहुन्थ्यो, योसेफ एलीका छोरा थिए ।
24मत्तातका छोरा एली, लेवीका छोरा मत्तात, मल्कीका छोरा लेवी, यान्‍नाका छोरा मल्की, योसेफका छोरा यान्‍ना,
25मत्ताथियासका छोरा योसेफ, आमोसका छोरा मत्ताथियास, नहूमका छोरा आमोस, इसलीका छोरा नहूम र इसली नग्गैका छोरा थिए,
26माथका छोरा नग्गै, मत्ताथियासका छोरा, माथ मत्ताथियासका छोरा, सेमैनका छोरा मत्ताथियास, योसेखका छोरा सेमैन, योदाका छोरा योसेख थिए,
27योआनानका छोरा योदा, रेसाका छोरा योआनान, यरुबाबेलका छोरा रेसा, शालतिएलका छोरा यरुबाबेल, नेरीका छोरा शालतिएल,
28मल्कीका छोरा नेरी, अद्दीका छोरा मल्की, कोसामका छोरा अद्दी, एलमादमका छोरा कोसाम, एर्‍का छोरा एलमादम थिए,
29यहोशूका छोरा एर्, एलिएजरका यहोशू, योरीमका छोरा एलिएजर, मत्तातका छोरा योरीम, लेवीका छोरा मत्तात थिए,
30शिमियोनका छोरा लेवी, यहूदाका छोरा शिमियोन, योसेफका छोरा यहूदा, योनानका छोरा योसेफ, एल्याकीमका छोरा योनान,
31मलेआका छोरा एल्याकीम, मिन्‍नाका छोरा मलेआ, मत्ताथाका छोरा मिन्‍ना, नातानका छोरा मत्ताथा, दाऊदका छोरा नातान,
32यिशैका छोरा दाऊद, ओबेदका छोरा यिशै, बोअजका छोरा ओबेद, सल्मोनका छोरा बोअज, नहशोनका छोरा सल्मोन,
33अम्मीनादाबका छोरा नहशोन, आरामका छोरा अम्मीनादाब, हेस्रोनका छोरा आराम, फारेसका छोरा हेस्रोन, यहूदाका छोरा फारेस,
34याकूबका छोरा यहूदा, इसहाकका छोरा याकूब, अब्राहामका छोरा इसहाक, तेरहका छोरा अब्राहाम, नाहोरका छोरा तेरह,
35सरूगका छोरा नाहोर रऊका छोरा सरूग, पेलेगका छोरा रऊ, एबेरका छोरा पेलेग, शेलहका छोरा एबेर,
36केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ,
37मतूशेलहका छोरा लेमेख, हनोकका छोरा मतूशेलह, येरेदका छोरा हनोक, महलालेलका छोरा येरेद, केनानका छोरा महलालेल,
38एनोशका छोरा केनान, शेतका छोरा एनोश, आदमका छोरा शेत आदम परमेश्‍वरका छोरा थिए ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.