
न्यायकर्ताहरू 18
पवित्र बाइबल
1ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएन । दानको कुलका मानिसहरूले बसोबास गर्नको निम्ति ठाउँ खोजिरहेका थिए, किनकि त्यो दिनसम्म तिनीहरूले इस्राएलका कुलहरूबाट कुनै उत्तराधिकार प्राप्त गरेका थिएनन् ।
2दानका मानिसहरूले आफ्ना सम्पुर्ण कुलबाट पाँच जना मानिसहरू, सोरा र एश्लोत अनुभवी युद्धाहरूलाई हिंडेर देशको जानकारी लिन र त्यसमाथि दृष्टि लगाउन पठाए । तिनीहरूले उनीहरूलाई भने, “जाओ, र देशमाथि दृष्टि लगाओ ।” तिनीहरू एफ्राइमको पहाडी देशमा मीकाको घरमा आए, र तिनीहरूले त्यो रात त्यहीं बिताए ।
3जब उनीहरू मीकाको घरको नजिकै थिए, तब उनीहरूले ती जवान लेवीको बोली चिने । यसैले उनीहरू तिनलाई रोके र सोधे, “तिमीलाई यहाँ कसले ल्यायो? तिमी यस ठाउँमा के गर्दैछौ? तिमी यहाँ किन छौ?”
4तिनले उनीहरूलाई भने, “मीकाले मेरो निम्ति यसो गरेका छन्: तिनको पुजारी हुनलाई तिनले मलाई नियुक्त गरेका छन् ।”
5उनीहरूले तिनलाई भने, “हाम्रो निम्ति परमेश्वरबाट सल्लाह माग, ताकि हामीले गरिरहेको यात्रा सफल हुन्छ कि हुन्न भनी हामीलाई थाहा होस् ।”
6ती पुजारीले उनीहरूलाई भने, “शान्तिमा जाओ । तिमीहरू जानुपर्ने बाटोमा परमप्रभुले तिमीहरूलाई डोर्याउनुहुनेछ ।”
7त्यसपछि ती पाँच जना मानिस त्यहाँबाट गए र लेशमा आए, अनि मानिसहरू सुरक्षासाथ बसोबास गरिरहेका उनीहरूले देखे, जसरी सीदोनीहरू कुनै बाधा नभई र सुरक्षित बस्थे । तिनीहरूलाई पराजय गर्ने वा त्यस देशमा कुनै प्रकारले दमन गर्ने कोही पनि थिएन । तिनीहरू सीदोनीहरूबाट टाढा बस्थे र तिनीहरूको कसैसँग लेन-देन थिएन ।
8उनीहरू सोरा र एश्तोलमा भएको आफ्नो कुलकहाँ फर्के । उनीहरूका नातेदारहरूले सोधे, “तिमीहरूसँग के विवरण छ?”
9उनीहरूले भने, “आओ, तिनीहरूलाई आक्रमण गरौँ! हामीले त्यो देश देखेका छौं र त्यो धेरै असल छ । के तिमीहरू केही गर्दैनौ? आक्रमण गर्न र त्यो देशमाथि अधिकार गर्न ढिला नगर ।
10जब तिमीहरू जान्छौ, तब तिमीहरूले ती मानिसहरूलाई भेट्नेछौ जसले आफैंलाई सुरक्षित ठान्छन्, र त्यो सहर फराकिलो छ! परमेश्वरले तिमीहरूलाई त्यो सहर दिनुभएको छ— एउटा ठाउँ जसमा कुनै कुराको अभाव छैन ।”
11दानका कुलका छ सय मानिसहरू युद्धको निम्ति हातहतियारले सुसज्जित भएर सोरा र एश्तोलबाट निस्के ।
12तिनीहरू माथि गए र यहूदाको किर्यत-यारीममा छाउनी हाले । यसकारण मानिसहरूले त्यस ठाउँलाई आजको दिनसम्म महनेह-दान भन्छन् । त्योचाहिं किर्यत-यारीमको पश्चिममा पर्छ ।
13तिनीहरू त्यहाँबाट एफ्राइमको पहाडी देशमा गए र मीकाको घरमा आए ।
14लेशको देशमा जानकारी प्राप्त गर्न गएका पाँच जना मानिसले आफ्ना नातेदारहरूलाई भने, “यी घरहरूमा एपोद, घर-देवताहरू, खोपिएको मूर्ति, र ढलौटे मूर्ति छन् भनी के तिमीहरूलाई थाहा छ? तिमीहरूले के गर्नेछौ अहिले नै निर्णय गर ।”
15यसैले तिनीहरू मीकाको घर, ती जवान लेवीकहाँ आए र तिनीहरूले तिनलाई अभिवादन गरे ।
16अनि दानका छ सय जना मानिसहरू युद्धको निम्ति हात-हतियारले सुसज्जित भएर ढोकामा उभिए ।
17ती पाँच जना मानिस जसले देशको बारेमा जानकारी लिन गएका थिए, तिनीहरू त्यहाँ गए र खोपिएको मूर्ति, एपोद, घर-देवताहरू, र ढलौटे मूर्ति लिए, जति बेला पुजारीचाहिं युद्धको निम्ति हात-हतियारले सुसज्जित छ सय जना मानिसका साथ ढोकामा उभिए ।
18जब तिनीहरू मीकाको घरमा पसे र खोपिएको मूर्ति, एपोद, घर-देवताहरू, र ढलौटे मूर्ति लिए, पुजारीले तिनीहरूलाई भने, “तिमीहरू यो के गरिरहेका छौ?”
19तिनीहरूले तिनलाई भने, “चूप लाग! आफ्नो हात आफ्नो मुखमा राख र हामीसँग आऊ, र हाम्रो निम्ति पिता र पुजारी होऊ । के तिम्रो निम्ति एउटा मानिसको घरको पुजारी हुनु, कि इस्राएलमा एउटा कुल र वंशको पुजारी हुनु कुन असल छ?”
20ती पुजारीको हृदय हर्षित भयो । तिनले त्यो एपोद, घर-देवताहरू, र खोपिएको मूर्ति लिए, र ती मानिसहरूसँगै गए ।
21यसैले तिनीहरू फर्केर त्यहाँबाट गए । तिनीहरूले साना बालबालिका र गाई-वस्तु र आफ्ना धनमालहरूलाई आफ्नो अगि-अगि हिंडाए ।
22जब तिनीहरू मीकाको घरबाट अलि पर पुगे, मीकाको घरनजिकका घरहरूमा बस्ने मानिसहरूलाई एकसाथ भेला गरियो, र तिनीहरूले दानका मानिसहरूलाई भेट्टाए ।
23तिनीहरूले दानका मानिसहरूमाथि कराए, र तिनीहरू फर्के र मीकालाई भने, “तिमीहरू किन एकसाथ भेला भएका छौ?”
24तिनले भने, “मैले बनाएका देवताहरू तिमीहरूले चोर्यौ, मेरो पुजारीलाई लग्यौ, र तिमीहरू जाँदैछौ । अब मसँग के बाँकी छ? तिमीहरू कसरी मलाई ‘तिमीलाई के कुराले दु:ख दिइरहेको छ’ भनेर सोध्दैछौ?”
25दानका मानिसहरूले तिनलाई भने, “हामीलाई तिम्रो केही कुरा नसुनाऊ, नत्रता हामीमध्येका कोही धेरै क्रोधित मानिसले तिमीलाई आक्रमण गर्नेछ, र तिमी र तिम्रा परिवार सबै मारिनेछन् ।”
26त्यसपछि दानका मानिसहरू आफ्नो बाटो लागे । जब तिनीहरू आफ्नो निम्ति धेरै नै बलिया रहेछन् भनेर मीकाले देखे तब तिनी आफ्नै घर फर्किए ।
27दानका मानिसहरूले मीकाले बनाएका कुराहरू र तिनका पुजारीलाई लिए, र तिनीहरू लेशमा कुनै बाधामा नपरेका र सुरक्षित मानिसहरूकहाँ आए, अनि तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे र सहरलाई जलाइदिए ।
28तिनीहरूलाई बचाउने त्यहाँ कोही पनि थिएन किनभने त्यो सीदोनबाट धेरै टाढा थियो, र तिनीहरूको कसैसँग पनि कुनै लेन-देन थिएन । त्यो बेथ-रहोबनजिकको बेसीमा थियो । दानका मानिसहरूले त्यो सहरलाई पुनर्निर्माण गरे र त्यहीं बसोबास गरे ।
29तिनीहरूले इस्राएलका छोरामध्ये एक जना आफ्ना पुर्खा दानका नाउँमा त्यस सहरलाई दान नाउँ दिए । तर त्यस सहरको नाउँ पहिले लेश थियो ।
30दानका मानिसहरूले आफ्नै निम्ति ती खोपिएका मूर्तिहरू राखे । अनि त्यो देश कैदमा नपरेसम्म मोशाका नाति, गेर्शोमका छोरा जोनाथन र तिनका छोराहरू दानका कुलका निम्ति पुजारीहरू भए ।
31यसैले शीलोमा परमेश्वरको भवन भएसम्म तिनीहरूले मीकाले बनाएका खोपिएका मूर्तिहरूको पुजा गरे ।
पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.