
यहोशू 9
पवित्र बाइबल
1त्यसपछि यर्दन पारिको पहाडी देशहरू र लेबनानपट्टि महासमुद्रको किनारका मैदानहरूमा हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्जीहरू, हिव्वीहरू र यबूसीहरू बस्थे ।
2यिनीहरू यहोशू र इस्राएलविरुद्ध युद्ध गर्न एउटै समूहमा सहभागी भए ।
3जब गिबोनका बासिन्दाहरूले यहोशूले यरीहो र ऐलाई गरेका कुरा सुने,
4उनीहरूले धूर्त योजना बनाएर काम गरे । उनीहरू समाचारवाहकको रूपमा गए । उनीहरूले फाटिसकेको बोराहरू लिए र उनीहरूका गधामाथि राखे । उनीहरूले पुरानो, फाटेको र मरम्मत गरिएका मशकहरू पनि लिए ।
5उनीहरूले खुट्टामा पुरानो र टालेका जुत्ताहरू अनि लुगा पनि पुरानो फाटेको नै लगाए । उनीहरूले खानलाई लगेका सबै रोटी सुकिसकेका र ढुसी परेका थिए ।
6उनीहरू गिलगालमा यहोशूको छाउनीमा गए र तिनलाई र इस्राएलका मानिसहरूलाई भने, “हामी धेरै टाढाको देशबाट आएका हौँ, त्यसैले अहिले हामीसँग सन्धि गर्नुहोस् ।
7इस्राएलका मानिसहरूले हिव्वीहरूलाई भने, “सायद तिमीहरू हाम्रो नजकै बस्छौ । हामीले तिमीहरूसँग कसरी सन्धि गर्नु ?”
8उनीहरूले भने, “हामी तपाईंहरूका दासहरू हौँ ।” यहोशूले उनीहरूलाई भने, “तिमीहरू को हौ? तिमीहरू कहाँबाट आएका हौ?”
9उनीहरूले तिनलाई भने, “परमप्रभु तपाईंका परमेश्वरको नाउँको कारण तपाईंका दासहरू टाढा देशबाट यहाँ आएका छन् । उहाँको बारेमा र उहाँले मिश्रमा गर्नुभएका सबै कुरा,
10र यर्दन पारिका एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन, अस्तारोतमा बस्ने बाशानका राजा ओगलाई उहाँले गर्नुभएका सबै कुरा हामीले सुनेका छौँ ।
11हाम्रा धर्म-गुरुहरू र हाम्रा देशका बासिन्दाहरूले हामीलाई भने, 'यात्राको निम्ति खानेकुराहरू लैजाओ । तिनीहरूलाई भेट्न जाओ र तिनीहरूलाई भन, 'हामी तपाईंका दासहरू हौँ । हामीसँग सन्धि गर्नुहोस् ।'
12हामी तपाईंहरूकहाँ आउनलाई हाम्रो घरबाट यात्रा सुरु गरेको दिन यो रोटी तातै थियो । तर अहिले हेर्नुहोस्, यो सुकिसकेको र ढुसी परेको छ ।
13१३ हामीले मशकहरू भर्दा यिनीहरू नयाँ नै थिए र हेर्नुहोस्, अहिले यी चुहिरहेका छन् । धेरै लामो यात्राको कारण हाम्रा लुगा र जुत्ताहरू फाटिसकेका छन्' ।”
14त्यसैले इस्राएलीहरूले उनीहरूका केही खानेकुरा लिए, तर उनीहरूले परमप्रभुको निर्देशनको खोजी गरेनन् ।
15यहोशूले उनीहरूसँग शान्ति सम्झौता गरे, उनीहरूसँग सन्धि गरे र उनीहरूलाई जीवित रहन दिए । मानिसहरूका अगुवाहरूले पनि उनीहरूसँग शपथ खाए ।
16इस्राएलीहरूले उनीहरूसँग यो सन्धि गरेको तिन दिनपछि उनीहरू छिमेकी रहेछन् र उनीहरू नजिकै बस्दा रहेछन् भनी तिनीहरूले थाहा पाए ।
17त्यसपछि इस्राएलका मानिसहरू निस्के र तेस्रो दिनमा सहरमा आए । उनीहरूका सहरहरू गिबोन, कपीरा, बरोत, किर्यात-यारीम थिए ।
18इस्राएलका मानिसहरूले उनीहरूलाई आक्रमण गरेनन्, किनभने तिनीहरूका अगुवाहरूले परमप्रभु इस्राएलका परमेश्वरको सामु उनीहरूबाट शपथ खाएका थिए । सबै इस्राएलीले तिनीहरूका अगुवाहरूविरुद्ध गनगन गरे ।
19तर सबै अगुवाले मानिसहरूलाई भने, “हामीले उनीहरूको बारेमा परमप्रभु इस्राएलका परमेश्वरद्वारा शपथ खाएका छौँ र अहिले हामी उनीहरूको हानि गर्न सक्दैनौ ।
20हामी उनीहरूलाई यसो गर्ने छौँ: हामीले उनीहरूसँग शपथ खाएका कारण हामीमाथि आइपर्ने क्रोधबाट बच्न हामी उनीहरूलाई बाँच्न दिने छौँ ।”
21अगुवाहरूले तिनीहरूका मानिसहरूलाई भने, “उनीहरूलाई बाँच्न देओ ।” त्यसैले अगुवाहरूले तिनीहरूलाई भने झै गिबोनीहरू सबै इस्राएलीका निम्ति पानी बोक्ने र दाउरा काट्ने मानिसहरू भए ।
22यहोशूले उनीहरूलाई बोलाए र भने, “'हामी टाढाबाट आएका हौँ' भनी तिमीहरूले हामीसँग किन छल गर्यौ, जब कि तिमीहरू हाम्रै माझमा बस्दा रहेछौ?
23अब यसैकारण तिमीहरू श्रापित भएका छौ र तिमीहरूमध्ये केही सधैँको निम्ति मेरा परमेश्वरको भवनमा दाउरा काट्ने र पानी तान्ने दासहरू हुने छौ ।”
24उनीहरूले यहोशूलाई जवाफ दिए र भने, “परमप्रभु तपाईंका परमेश्वरले उहाँका दास मोशालाई सबै भूमि दिन र तपाईं सामु भएका भूमिका सबै बासिन्दालाई नष्ट पार्नलाई आज्ञा दिनुभएको तपाईंका दासहरूलाई बताइएको हुनाले तपाईंहरूको कारण हामी हाम्रो जीवनको निम्ति साह्रै भयभीत भएका थियौँ । यसैले हामीले यसो गर्यौँ ।
25अब हेर्नुहोस्, हामीलाई तपाईंको शक्तिमा राख्नुहोस् । तपाईंको नजरमा हामीलाई जे गर्न असल र उचित लाग्छ, त्यही गर्नुहोस् ।”
26त्यसैले यहोशूले उनीहरूका निम्ति यसो गरेः तिनले उनीहरूलाई इस्राएलका मानिसहरूको नियन्त्रणबाट छुटकारा दिए । त्यसैले इस्राएलीहरूले उनीहरूलाई मारेनन् ।
27त्यस दिन यहोशूले गिबोनीहरूलाई समुदायको निम्ति र परमप्रभुले चुन्नुभएको ठाउँको निम्ति दाउरा काट्ने र पानी बोक्नेहरू बनाए ।
पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.