Zophar speaking as an imagined wealthy feast darkens behind him

अय्यूब 20

पवित्र बाइबल
1तब सोपर नमातीले जवाफ दिए र यसो भने,
2“ममा भएको चिन्ताको कारणले, मेरा विचारहरूले मलाई झट्टै जवाफ दिने बनाउँछन् ।
3मलाई अनादार गर्ने हप्की म सुन्छु, तर मेरो सुझबुझको आत्माले मलाई जवाफ दिन्छ ।
4यो सत्यता तपाईंलाई प्राचीन समयदेखि नै थाहा छैन र, जति बेला परमेश्‍वरले मानिसलाई पृथ्वीमा राख्‍नुभयोः
5दुष्‍ट मानिसको जित क्षणिक हुन्छ, र ईश्‍वरहीन मानिसको आनन्द क्षणभर मात्र रहन्‍छ ।
6उसको उच्‍चता आकाशसम्मै पुगे, र उसको शिर बादलसम्मै पुगे पनि,
7त्‍यस्‍तो व्यक्ति आफ्नै मलमूत्रझैं स्थायी रूपमा नष्‍ट हुनेछ । उसलाई देखेकाहरूले सोध्‍नेछन्, 'ऊ कहाँ छ ?'
8ऊ सपनाझैं हराउनेछ, र भेट्टाइने छैन । वास्तवमा ऊ रातको दर्शनझैं लुप्‍त हुनेछ ।
9उसलाई देखेका आँखाले फेरि उसलाई देख्‍नेछैन । उसको ठाउँले फेरि उसलाई देख्‍नेछैन ।
10उसका छोराछोरीले गरिब मानिसहरू सँग क्षमा माग्‍नेछन् । उसको धन-सम्पत्ति उसकै हातले फिर्ता गर्नुपर्नेछ ।
11उसका हड्‍डीहरू युवावस्थाका ताकतले भरिएका छन्, तर ऊसँगै ती पनि भुइँमा ढल्‍नेछन् ।
12उसको मुखमा दुष्‍टता गुलियो भए पनि, उसले त्‍यसलाई आफ्नो जिब्रोमुनि लुकाए पनि,
13उसले त्‍यो त्‍यहीं राख्‍छ अनि त्‍यसलाई, फुत्‍किन दिंदैन तर त्‍यो आफ्‍नो मुखेमा राख्‍छ भने पनि,
14उसको भुँडीभित्र भएको खाना तितो बन्छ । उसको भित्र त्‍यो सर्पको विषझैं बन्छ ।
15उसले धन-सम्पत्ति निल्छ, तर उसले फेरि ती बान्‍ता गर्छ । परमेश्‍वरले उसको पेटबाट ती बाहिर निकाल्नुन्‍छ ।
16उसले सर्षको विष चुस्‍नेछ । साँभे-सर्पको जिब्रोले उसलाई मार्नेछ ।
17महको धारा अर्थात् तरलता, र घिउको आनन्‍द उसले लिन पाउनेछैन ।
18आफ्नो परिश्रमको फल उसले फिर्ता गर्नेछ र त्यो खान सक्‍नेछैन । आफ्‍नो व्यापारद्वारा कमाएको सम्‍पत्तिको आनन्‍द उसले पाउनेछैन ।
19किनकि उसले गरिब मानिसहरूलाई अत्याचार र बेवास्ता गरेको छ । आफूले नबनाएका घरहरूलाई उसले जबरजस्‍ती कब्जा गरेको छ ।
20ऊ आफैमा सन्तुष्‍ट नभएको हुनाले, आफूले मजा लिने कुनै कुरा पनि उसले बचाउन सक्‍नेछैन ।
21उसले नखाएको कुनै कुरो बाँकी छैन । त्यसकारण उसको सम्‍बृद्धि स्थायी हुनेछैन ।
22आफ्नो धनको प्रचुरतामा ऊ सङ्कष्‍टमा पर्नेछ । गरिबीमा रहेकाहरू हरेकको हात उसको विरुद्धमा आइलाग्‍नेछ ।
23उसले आफ्नो पेट भर्नै लाग्दा, परमेश्‍वरले आफ्नो घोर क्रोध उसमा उतार्नुहुन्‍छ । उसले खाइरहँदा परमेश्‍वरले उसमाथि त्‍यो बर्साउनुहुन्‍छ ।
24त्‍यो मानिस फलामको हतियारबाट भागे तापनि, काँसको धनुले उसलाई प्रहार गर्नेछ ।
25आफ्नो पिठिउँबाट उसले त्यो तान्‍नेछ, र चम्कने टुप्पो उसको कलेजोबाट बाहिर निस्कनेछ । उसमा त्रासहरू आउनेछन् ।
26उसको धनको लागि निस्पट्ट अन्धकार साँचिएको छ । प्रचण्ड आगोले उसलाई भस्म पार्नेछ । उसको पालमा छोडिएका सबै कुरालाई त्‍यसले भष्‍म पार्नेछ ।
27स्वर्गले उसको अधर्म प्रकट गर्नेछ, र साक्षीको रूपमा पृथ्वी नै उसको विरुद्धमा खडा हुनेछ ।
28उसको घरको धन लुप्‍त हुनेछ । परमेश्‍वरको क्रोधको दिनमा उसका सामानहरू टाढा बग्‍नेछन् ।
29परमेश्‍वरबाट दुष्‍ट मानिसले पाउने भाग, परमेश्‍वरले उसको निम्ति साँच्नुभएको पैतृक-अंश यही हो ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.