Johanan welcoming rescued families beside a broad reservoir as Ishmael's small band retreats into distant hills

यर्मिया 41

पवित्र बाइबल
1सातौँ महिनामा एलीशामाको नाति, नतन्याहको छोरो इश्माएल, जो राजकीय घरानाका थिए, तिनी राजाका दस जना अधिकारीसँगै मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ आए । मिस्पामा तिनीहरूले सँगसँगै खानपान गरे ।
2तर नतन्याहको छोरो इश्माएल र तिनीसित भएका दस जना मानिस उठे, र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले आक्रमण गरे । इश्माएलले गदल्याहलाई मारे, जसलाई बेबिलोनका राजाले देशको गभर्नर नियुक्त गरेका थिए ।
3त्यसपछि इश्माएलले मिस्पामा गदल्याहसित भएका सबै यहूदी र त्यहाँ भेट्टाइएका कल्दी योद्धाहरूलाई मारे ।
4तब गदल्याह मारिएको दोस्रो दिन भएको थयो तर पनि कसैलाई थाहा थिएन ।
5शकेम, शीलो र सामरियाबाट आ-आफ्ना दारी खौरेका, लुगा च्यातेका र शरीर चिरै-चिरा पारेका असी जना मानिस आ-आफ्ना हातमा खानाका भेटीहरू र धुप लिएर परमप्रभुको मन्दिरमा जानलाई आए ।
6तिनीहरू रुँदै जाँदै गर्दा नतन्याहको छोरो इश्माएल मिस्पाबाट तिनीहरूलाई भेट्न निस्के । तिनीहरूसित तिनको भेट हुँदा तिनले तिनीहरूलाई भने, “अहीकामका छोरा गदल्याहकहाँ आओ ।”
7जब तिनीहरू सहरभित्र प्रवेश गरे, तब नतन्याहको छोरो इश्माएलले तिनीहरूको हत्या गरे, तिनी र तिनका मानिसहरूका लाशलाई एउटा खाडलमा फाले ।
8तर तिनीहरूका बिचमा भएका दस जना यस्ता मानिस थिए जसले इश्माएललाई भने, “हामीलाई नमार्नुहोस्, किनकि हामीसित खेतमा लुकाइएका हाम्रा खाद्यपदार्थहरू अर्थात् गहूँ, जौ, तेल र मह छन् ।” त्यसैले तिनले तिनीहरू र तिनका साथीहरूलाई मारेनन् ।
9इश्माएलले हत्या गरी जुन इनारमा ती लाशहरू फलेका थिए, त्‍यो एउटा ठुलो इनार थियो जसलाई आसा राजाले इस्राएलका राजा बाशाको विरुद्धमा सुरक्षाको निम्ति खनेका थिए । नतन्याहको छोरो इश्माएलले यसलाई लाशहरूले भरे ।
10त्यसपछि इश्माएलले मिस्पामा भएका अरू सबै मानिस, राजाका छोरीहरू र अहीकामका छोरा गदल्याहको जिम्मामा अङ्गरक्षकका कप्‍तान नबूजरदानले मिस्पामा छाडेका सबै मानिसलाई समाते । यसरी नतन्याहको छोरो इश्माएलले तिनीहरूलाई कैद गरे र सिमाना पार गरेर अम्मोनका मानिसहरूकहाँ गए ।
11तर कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्‍तानले नतन्याहको छोरो इश्माएलले ल्याएका सबै हानिको विषयमा सुने ।
12त्यसैले तिनीहरूले आफ्ना सबै मानिसलाई लिए र नतन्याहको छोरो इश्माएलको विरुद्धमा युद्ध गर्न गए । तिनीहरूले तिनलाई गिबोनको ठुलो तलाउमा फेला पारे ।
13जब इश्माएलसित भएका सबै मानिसले कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्‍तानलाई देखे, तब तिनीहरू साह्रै खुसी भए ।
14इश्माएलले मिस्पामा समातेका सबै मानिस फर्के र कारेहका छोरा योहानानकहाँ गए ।
15तर नतन्याहको छोरो इश्माएल आठ जना मानिससँगै योहानानबाट भागे । तिनी अम्मेनका मानिसहरूकहाँ गए ।
16कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्‍तानले नतन्याहको छोरो इश्माएलबाट उद्धार गरिएका सबै मानिसलाई मिस्पाबाट लगे । यो इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेपछिको कुरो थियो । योहानान र तिनका साथीहरूले गिबोनमा उद्धार गरिएका बलिया पुरुषहरू, योद्धाहरू, स्‍त्रीहरू, बालबालिका र नपुंसकहरूलाई लगे ।
17त्यसपछि तिनीहरू गए, र केही समय बेथलेहेम नजिकै गेरूथ-किम्हाममा बसे ।
18कल्दीहरूको कारणले तिनीहरू मिश्रदेश जाँदै थिए । तिनीहरू उनीहरूदेखि डराएका थिए, किनकि नतन्याहको छोरो इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेका थिए, जसलाई बेबिलोनका राजाले देशको गभर्नर बनाएका थिए ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.