Isaiah speaking with anxious King Ahaz beside Jerusalem's upper aqueduct as a mother holds a child nearby

यशैया 7

पवित्र बाइबल
1उज्‍जियाहको नाति, योतामका छोरा यहूदाको राजा आहाजको समयमा, अरामका राजा रसीन, र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्धमा युद्ध गर्न माथि गए, तर तिनीहरू त्‍यसको विरुद्धमा विजयी हुन सकेनन् ।
2अरामले एफ्राइमसँग सन्‍धी गर्‍यो भनी दाऊदको घरानालाई बताइयो । तिनको हृदय काँप्यो, अनि तिनका मानिसहरूका हृदय जङ्गलका रुखहरू हावाले हल्लाएझैं काँप्यो ।
3तब परमप्रभुले यशैयालाई भन्‍नुभयो, “तेरो छोरा शार्यासूबलाई साथमा लिएर आहाजलाई भेट्न धोबीको खेत जाने बाटोमा माथिल्लो पोखरीको नहरको छेउमा जा ।
4उसलाई भन्, 'होसियार होऊ, शान्त बस, नडराऊ, रेसीन र अराम अनि रमल्याहको छोरा पेकहको भयङ्कर रिसको बलिरहेको अगुल्टोद्वारा त्रसित नहोऊ ।
5अराम, एफ्राइम र रमल्याहको छोराले तिम्रो विरुद्धमा खराब योजना गरेका छन् । तिनीहरूले भनेका छन्,
6“हामी यहूदालाई आक्रमण गरौं र त्यसलाई त्रसित बनाऔं, र हामी त्यसभित्र पसौं र ताबेलका छोरालाई त्‍यहाँ हाम्रा राजा बनाऔं ।”
7परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “त्‍यो कुरा हुन आउनेछैन । त्‍यस्‍तो हुनेछैन,
8किनभने अरामको मुख्‍यालय दमसकस हो र दमसकसको मुखिया रेसीन हो । पैंसट्ठी वर्षभित्र, एफ्राइम टुक्रा-टुक्रा हुनेछ र त्यसमा कोही मानिस हुनेछैन ।
9एफ्राइमको मुख्‍यालय सामरिया हो र सामरियाको मुखिया रमल्याहको छोरा हो । तिमी विश्‍वासमा दृढ रहँदैनौ भने, निश्‍चय नै तिमी सुरक्षित हुनेछैनौ ।”
10परमप्रभुले फेरि आहाजसँग बोल्नुभयो,
11“परमप्रभु आफ्‍ना परमश्‍वरसँग एउटा चिन्ह माग् । गहिराइमा भए पनि वा उच्‍चाइमा पनि यो माग् ।”
12तर आहाजले भने, “म माग्‍नेछैन, न त म परमप्रभुको जाँच नै गर्नेछु ।”
13त्यसैले यशैयाले जवाफ दिए, “ए दाऊदका घराना, सुन । के तिमीहरूको निम्ति मानिसहरूका धेर्यको जाँच नै पर्याप्‍त हुँदैन र? के तिमीहरूले मेरो परमेश्‍वरको धैर्यको पनि जाँच गर्नुपर्छ र?
14यसकारण परमप्रभुले नै तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछः हेर, एज जना कन्या केटीले गर्भधारण गर्नेछिन्, एउटा छोरा जन्माउनेछिन् र उनको नाउँ इम्मानुएल राख्‍नेछिन् ।
15जब उनले खराबलाई इन्कार गर्न र असललाई रोज्‍न जान्‍दछन्, तब उनले दही र मह खानेछन् ।
16किनकि बालकले खराबलाई इन्कार गर्न र असललाई रोज्‍न जान्‍नुअघि नै तिमी डराएका दुई जना राजाहरूका देश उजाड हुनेछन् ।
17परमप्रभुले तिमी, तिम्रा मानिसहरू र तिम्रा बुबाको घरानामाथि एफ्राइम यहूदाबाट छुटेदेखि कहिल्यै नभएको कुरा ल्याउनुहुनेछ— उहाँले तिमीमाथि अश्शूरका राजा ल्याउनुहुनेछ ।”
18त्यस बेला परमप्रभुले झींगालाई मिश्रदेशको खोलादेखि र मौरीलाई अश्शूरको देशदेखि सुसेलेर बोलाउनुहुनेछ ।
19तिनीहरू सबै आउनेछन् र घाँटीहरूमा, चट्टानको चिराहरूभित्र, सबै काँढाका झाङमाथि र सबै चरनहरूमा बस्‍नेछन् ।
20त्यस बेला परमप्रभुले युफ्रेटिस नदी पारि अश्‍शूरका राजाकोबाट भाडामा लिइएको छुराले, टाउकाहरू र खुट्टाहरूका रौं खौरनुहुनेछ । त्‍यसले दाह्रीलाई पनि सफा गर्नेछ ।
21त्यस दिन, एक जना मानिसले एउटा कोरली र दुई वटा भेडा पाल्नेछ,
22र तिनीहरूले दिने दूधको प्रशस्‍तताको कारणले, उसले दही खानेछ, किनकि देशमा छोडिएका हरेकले दूध र मह खानेछन् ।
23त्यस बेला, हजार बोट दाखको हजार शेकेल पर्ने जग्गामा, त्‍यहाँ सिउँडी र काँढा बाहेक केही हुनेछैन ।
24मानिहरू त्यहाँ धनु लिएर शिकार गर्न जानेछन्, किनभने सबै देश नै सिउँडी र काँढा हुनेछन् ।
25तिनीहरू सिउँडी र काँढाको डरले खनजोत गरी खेतीपाती गरिएका सबै डाँडाबाट टाढै रहनेछन् । तर यो गाईवस्‍तु र भेडाहरू चर्ने ठाउँ हुनेछ ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.