Persian ruler Cyrus walking through opened bronze gates past released locks, treasures, and waiting exiles

यशैया 45

पवित्र बाइबल
1आफ्नो अभिषिक्‍त कोरेसलाई परमप्रभुले यसो भन्‍नुहुन्छ, उसको सामु रहेका जातिहरूलाई अधीन गर्न, राजाहरूलाई निशस्‍त्र पार्न र ढोकाहरू खुल्‍ला रहून् भनेर उसको सामु भएका ढोकाहरू खोल्न, उसको दाहिने हातलाई म समात्छुः
2“म तेरो अगि-अगि जानेछु र पर्वतहरूलाई समतल बनाउनेछु । काँसाका ढोकाहरूलाई म टुक्रा-टुक्रा बनाउनेछु र तिनीहरूका फलामे बारहरूलाई काटेर टुक्रा बनाउनेछु।
3अनि अँध्यारोका भण्डारहरू र टाढा लुकाइएका धनहरू म तँलाई दिनेछु, जसले गर्दा तैंले जान्‍न सक्‍छस् कि म परमप्रभु इस्राएलका परमेश्‍वर हुँ जसले तेरो नाउँ काढेर तँलाई बोलाउँछ ।
4मेरो सेवक याकूब र मेरो चुनिएको इस्राएलको निम्‍ति, मैले थोरै आदरको पद तँलाई दिएर तेरो नाउँ काढेर बोलाएको छु, तापनि तैंले मलाई चिन्दैनस् ।
5म परमप्रभु हुँ र त्‍यहाँ अरू कुनै छैन । मबाहेक कोही परमेश्‍वर छैन । तैंले मलाई नचिनेको भए तापनि म तँलाई युद्धको निम्ति सुसज्‍जित पार्नेछु ।
6ताकि सूर्य उदाउने ठाउँदेखि, र पश्‍चिमदेखि मानसिहरूले मबाहेक कुनै ईश्‍वर छैन भनी जानून्, म परमप्रभु हुँ र अरू कोही छैन ।
7म नै ज्योति बनाउँछु र अन्धकारको सृष्‍टि गर्छु । म शान्ति ल्याउँछु र विपत्तिको सृजना गर्छु । यी सबै कुराहरू गर्ने परमप्रभु म नै हुँ ।
8ए आकाश, माथिबाट वर्षा झार् ! आकाशले धार्मिकताको वर्षा गओस् । पृथ्वीले त्यो सोसेर लेओस् ताकि मुक्‍ति उम्रिहोस् र त्‍योसँगै धार्मिकता उम्रियोस् । म, परमप्रभुले नै ती दुवैको सृष्‍टि गरेको हो ।
9त्यसलाई धिक्‍कार जसले आफूलाई बनाउनेसँग बहस गर्छ, जो जमिनमा भएका सबै माटोका भाँडाका माझमा अरू कुनै माटोको भाँडाजस्तै छ ! के माटोले कुमालेलाई यसो भन्‍छ, 'तैंले के बनाउँदैछस्' वा तैंले बनाएको भाँडोमा हत्ता नै छैन ?’
10धिक्‍कार त्‍यसलाई जसले बुबालाई भन्छ, 'तपाईंले के जन्‍माउनुभयो?' वा आमालाई भन्छ, ‘तपाईंले के जन्‍म दिनुभयो ?'
11इस्राएलका सृष्‍टिकर्ता परमपवित्र परमप्रभु यसो भन्‍नुहुन्छ, ‘मेरा छोराछोरीका बारेमा'मैले के गर्नेछु भनी तिमीहरूले किन प्रश्‍न सोध्छौ? के मेरो हातका कामको बारेमा मैले के गर्नुपर्छ भनी तिमीहरू सिकाउँछौ?'
12मैले नै पृथ्वी बनाएँ, अनि त्‍यसमा मानिसको सृष्‍टि गरें । मेरै हातले आकाशलाई फैलाएँ, र सबै तारालाई देखा पर्ने आज्ञा मैले नै दिएँ ।
13मैले नै कोरेसलाई धार्मिकतामा उत्तेजित पारें र त्यसका सबै मार्गलाई म नै सहज बनाइदिनेछु । त्यसले मेरो सहर निर्माण गर्नेछ । त्यसले मेरा निर्वासित मानिसहरूलाई घर जान दिनेछ, न कुनै मूल्य वा घूस लिनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ ।
14परमप्रभु यसो भन्‍नुहुन्छ, “मिश्रदेशको कमाइ र शेबाका अग्‍ला कदका मानिसहरूसँग कूशको व्यापार तँकहाँ ल्याइनेछ । ती तेरै हुनेछन् । साङ्लामा तिनीहरू तेरो पछि-पछि आउनेछन् । तिनीहरू तेरो सामु घोप्टो पर्नेछन् र यसो भन्‍दै तँसँग बिन्ति गर्नेछन्, 'निश्‍चय पनि परमेश्‍वर तपाईंसँग हुनुहुन्छ र उहाँबाहेक अरू कोही छैन' ।”
15हे इस्राएलका परमेश्‍वर, उद्धारक, साँच्‍चै तपाईं परमेश्‍वर हुनुहुन्छ, जसले आफैलाई लुकाउनुहुन्छ ।
16तिनीहरू सबै एकसाथ लज्‍जित र अपमानित हुनेछन् । मूर्ती बनाउनेहरू अपमानमा हिंड्नेछन् ।
17तर परमप्रभुले इस्राएललाई अनन्त उद्धारसहित बचाउनुहुनेछ । तँ फेरि कहिल्यै लज्‍जित वा अपमानित हुनेछैनस् ।
18आकाशको सृष्‍टि गर्नुहुने परमप्रभु, पृथ्वीको सृष्‍टि गर्ने र त्‍यसलाई बनाउने र त्‍यसलाई स्थापित गर्ने साँचो परमेश्‍वर यसो भन्‍नुहुन्‍छ । उहाँले नै त्‍यसको सृष्‍टि गर्नुभयो, उजाड होइन, तर बसोवास गर्नलाई तयार पार्नुभयोः “म नै परमप्रभु हुँ र त्‍यहाँ अरू कोही छैन ।
19मैले गुप्‍तमा अर्थात् कुनै लुकेको ठाउँमा बोलेको छैन । मैले याकूबका सन्तानलाई, ‘व्यार्थमा मेरो खोजी गर' भनेको छैन । म परमप्रभु हुँ, जसले विश्‍वस्‍ततासाथ बोल्छु । ठिक कुराहरूको घोषणा म गर्छु ।
20आफूलाई भेला पार र आओ ! जातिहरूका माझबाटका आएका शरणार्थीहरू, एकसाथ भेला होओ ! तिनीहरूसँग ज्ञान नै छैन, जसले खोपेका मूर्तिहरू बोक्छन् र बचाउन नसक्‍ने देवताहरूसँग प्रार्थना गर्छन् ।
21नजिक आओ र मलाई यो घोषणा गर, प्रमाण ल्याओ ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् । यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको छ? कसले यो घोषणा गर्‍यो? के यो म परमप्रभुले नै थिएनँ र? ‍मबाहेक त्‍यहाँ अरू कुनै परमेश्‍वर छैन, न्यायी परमेश्‍वर र उद्धारक । मबाहेक कुनै अरू छैन ।
22ए पृथ्वीका अन्‍तिम छेउका हो, मतिर फर्क र बाँच । किनकि म नै परमेश्‍वर हुँ र त्‍यहाँ अरू कोही छैन ।
23म आफैंमा शपथ खान्छु, मेरो न्यायी आदेश दिन्छु र यो फिर्ता हुनेछैन, 'मेरो सामु हरेक घुँडा टेक्‍नेछ, हरेक जिब्रोले स्‍विकार गर्नेछ ।
24तिनीहरूले मेरो बारेमा यसो भन्‍नेछन्, “परमप्रभुमा मात्र उद्धार र शक्ति छ ।” उहाँसँग रिसाउनेहरू सबै लाजमा पर्नेछन् ।
25परमप्रभुमा नै इस्राएलका सबै सन्तानहरू धर्मी ठहरिनेछन् । तिनीहरूले उहाँमा नै गर्व गर्नेछन् ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.