Judah pleading before Joseph beside Benjamin's opened sack and the silver cup

उत्पत्ति 44

पवित्र बाइबल
1योसेफले तिनको घरको भण्डारेलाई आज्ञा दिए, “ती मानिसहरूले लैजान सक्‍नेजति अनाज तिनीहरूका बोराहरूमा भरिदेऊ, र हरेकको बोराको मुखमा हरेकको रुपियाँ-पैसा पनि हालिदेऊ ।
2कान्छोको बोराको मुखमा मेरो चाँदीको कचौरा र तिनले अनाजको लागि ल्याएको रुपियाँ-पैसा पनि हालिदेऊ ।” भण्डारेले योसेफले भनेझैँ गर्‍यो ।
3बिहान भएपछि ती मानिसहरू आ-आफ्ना गधाहरूसँगै पठाइए ।
4तिनीहरू सहरबाट केही पर पुग्दा योसेफले आफ्नो भण्डारेलाई भने, “उठ, र ती मानिसहरूको पिछा गर । तिनीहरूलाई भेट्टाएपछि यसो भन्‍नू, 'किन तिमीहरूले भलाइको सट्टा खराबी गर्‍यौ?
5के यो त्यही कचौरा होइन जसबाट मेरा मालिकले पिउनुहुन्छ र शकून-अपशकूनको लागि प्रयोग गर्नुहुन्छ? तपाईंहरूले जे गर्नुभएको छ त्यो खराब छ' ।”
6भण्डारेले तिनीहरूलाई भेट्टायो, र तिनहरूलाई ती वचनहरू भन्यो ।
7तिनीहरूले त्यसलाई भने, “किन मेरा मालिकले यस्ता कुराहरू गर्नुहुन्छ? तपाईंका दासहरूले कहिल्यै यस्तो कुरा गर्न सक्दैनन् ।
8हामीले हाम्रा बोराहरूका मुखमा फेला पारेका रुपियाँ-पैसा त हामीले कनान देशबाट फेरि तपाईंकहाँ फर्काएर ल्यायौँ । तब कसरी हामीले हाम्रा मालिकको घरबाट चाँदी वा सुन चोर्न सक्छौँ?
9तपाईंको कुनै पनि दाससित त्यो कचौरा फेला पारियो भने त्यो मारियोस्, र हामी आफै पनि तपाईंका दास हुनेछौँ ।”
10भण्डारेले भन्यो, “अब तपाईंहरूकै वचनअनुसार नै होस् । जससित त्यो कचौरा पाइन्छ, त्यो मेरो दास बनोस्, र अरूहरू निर्दोष हुनेछन् ।”
11त्यसपछि हरेक मानिसले हतार-हतारमा आ-आफ्नो बोरा भुइँमा झारी तिनीहरूले आ-आफ्ना बोरा खोल्यो ।
12भण्डारेले खोजी गर्‍यो । त्यसले जेठोबाट सुरु गरेर कान्छोमा टुङ्ग्यायो, अनि त्यो कचौरा बेन्यामीनको बोरामा फेला पारियो ।
13त्यसपछि तिनीहरूले आफ्ना लुगा च्याते । हरेकले आ-आफ्नो गधा लादेर तिनीहरू सहर फर्के ।
14यहूदा र तिनका दाजुभाइहरू योसेफको घरमा फर्के । तिनी अझै पनि त्यहीँ नै थिए र तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।
15योसेफले तिनीहरूलाई भने, “तिमीहरूले यो के गरेको? मजस्तो मानिसले शकून-अपशकून गर्छ भनी के तिमीहरूलाई थाहा छैन?”
16यहूदाले भने, “मेरा मालिकलाई हामी के भनौँ? हामी के बोलौँ? वा हामीले आफूलाई कसरी सफाइ दिऔँ? परमेश्‍वरले तपाईंका दासहरूको अपराध पत्ता लगाउनुभएको छ । हेर्नुहोस्, हामी मेरा मालिकहरूका दास हुन्छौँ– हामी र त्यो व्यक्ति जसको हातमा त्यो कचौरा फेला पर्‍यो ।
17योसेफले भने, “मबाट यस्तो कहिल्यै हुनेछैन । त्यो मानिस जसको हातमा कचौरा फेरा पारियो, त्यो मात्रै मेरो दास हुनेछ । तर तिमीहरूचाहिँ शान्तिसित आफ्ना पिताकहाँ जाओ ।”
18त्यसपछि यहूदा योसेफको नजिक आएर भने, “मेरा मालिक, बिन्ती छ, कि हजुरको दासलाई एउटा वचन बोल्न दिनुहोस् किनकि तपाईं फारोसमान हुनुहुन्छ ।
19मेरा मालिकले आफ्ना दासहरूलाई यसो भनी सोध्‍नुभयो, 'के तिमीहरूका पिता वा भाइ छ?'
20हामीले हजुरलाई भन्यौँ, 'हाम्रा वृद्ध पिता हुनुहुन्छ, र उहाँले बुढेसकालमा जन्माउनुभएको उहाँको एउटा छोरो पनि छ । तर तिनका दाजु मरिसके, र तिनकी आमापट्टिबाट तिनी मात्रै बाँकी छन्, र तिनका पिताले तिनलाई माया गर्नुहुन्छ ।'
21त्यसपछि तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो, 'तिनलाई लिएर आओ ताकि मैले तिनलाई देख्‍न सकूँ ।'
22त्यसपछि हामीले हजुरलाई भन्यौँ, 'ठिटोले आफ्ना पितालाई छाड्न सक्दैनन् । किनकि तिनले आफ्ना पितालाई छाड्नुपर्‍यो भने तिनका पिता मर्नेछन् ।'
23तब तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो, तिमीहरूको कान्छो छोरो तिमीहरूसँगै नआएसम्म तिमीहरूले मेरो अनुहार हेर्नेछैनौ ।'
24त्यसपछि हामी तपाईंका दास मेरा पिताकहाँ जाँदा हामीले उहाँलाई तपाईंका वचनहरू सुनायौँ ।
25हाम्रा पिताले भन्‍नुभयो, 'फेरि गएर हाम्रा लागि अनाज किन ।'
26त्यसपछि हामीले भन्यौँ, 'हामी तल जान सक्दैनौँ । हाम्रो कान्छो भाइ हामीसित गयो भने मात्र हामी तल जान सक्छौँ किनकि कान्छो भाइ हामीसित नगएसम्म हामीले ती मानिसको अनुहार हेर्न सक्दैनौँ ।'
27तपाईंका दास मेरा पिताले हामीलाई भन्‍नुभयो, 'मेरी पत्‍नीले मेरा लागि दुई जना छोरा जन्माएकी कुरा त तिमीहरूलाई थाहै छ ।
28एउटाले मलाई छाडेर गइसकेपछि मैले भनेँ, 'निश्‍चय नै, त्यसलाई धुजाधुजा पारिएको छ, र त्यस बेलादेखि मैले त्यसलाई देखेको छैनँ ।
29अब तिमीहरूले यसलाई पनि मबाट लिएर गयौ र यसमाथि कुनै हानि आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकमै पातालमा पुर्‍याउने‍छौ ।'
30त्यसकारण म हजुरका दास मेरा पिताकहाँ पुग्दा ती ठिटा मसित छैनन् भने उहाँको जीवन ती ठिटाको जीवनमा जोडिएकाले
31उहाँले मेरो साथमा ती ठिटालाई नदेख्‍नुहुँदा उहाँ मर्नुहुनेछ । तपाईंका दासहरूले हाम्रा पिताको फुलेको कपाललाई शोकमै पातलामा पुर्‍याउनेछन् ।
32किनकि तपाईंका दास मेरा पिताको अगि म ती ठिटाको जमानी बसेको छु, र भनेको छु, 'मैले तिनलाई तपाईंकहाँ ल्याइनँ भने म मेरा पिताको सामु सदाको लागि दोषी ठहरिनेछु ।'
33त्यसकारण ती ठिटाको साटोमा तपाईंका दासलाई नै हजुरको दासको रूपमा बस्‍न दिनुहोस्, र ती ठिटालाई तिनका दाजुहरूसँगै जान दिनुहोस् ।
34किनकि ठिटालाई नलिईकन म कसरी मेरा पिताकहाँ जान सक्छु र? मेरा पितामाथि आइपर्ने खराबी हेर्नदेखि म डराएको छु ।”

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.