The human pair leaving the garden for a thorn-edged land after the fall

उत्पत्ति 3

पवित्र बाइबल
1परमप्रभु परमेश्‍वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी धूर्त थियो । त्यसले स्‍त्रीलाई भन्यो, “के परमेश्‍वरले साँच्‍चै नै तिमीहरूलाई बगैँचाको कुनै रुखको फल नखानू भनी भन्‍नुभएको छ?”
2स्‍त्रीले सर्पलाई भनिन्, “हामीले बगैँचाका रुखहरूका सबै फल खान सक्छौँ,
3तर बगैँचाको बिचमा भएको रुखको फलको विषयमा भने, परमेश्‍वरले भन्‍नुभएको छ, ‘तिमीहरूले त्यो नखानू, न त तिमीहरूले त्यो छुनू, नत्रता तिमीहरू मर्नेछौ ।’”
4सर्पले स्‍त्रीलाई भन्यो, “निश्‍चय नै तिमीहरू मर्नेछैनौ ।
5किनभने परमेश्‍वर जान्‍नुहुन्छ, कि जुन दिन तिमीहरू त्यो खान्छौ तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ ।”
6जब स्‍त्रीले त्यो रुखको फल खानमा असल, र हेर्नमा रहरलाग्दो, अनि बुद्धि प्राप्‍त गर्नलाई त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन्, तिनले त्यसका केही फलहरू टिपिन् र खाइन् । त्यसपछि तिनले केही आफूसँगै भएका आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि त्यो खाए ।
7तब तिनीहरू दुवैका आँखा खुले, र तिनीहरू नाङ्‍गै रहेछन् भनेर थाहा पाए । तिनीहरूले अञ्‍जीरका पातहरू गाँसेर आफ्ना निम्ति वस्‍त्र बनाए ।
8अनि साँझपख जब तिनीहरूले परमप्रभु परमेश्‍वर बगैँचामा हिँडिरहनुभएको आवाज सुने, तब मानिस र उनकी पत्‍नी बगैँचाका रुखहरूबिच परमप्रभु परमेश्‍वरको नजरबाट लुके।
9परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्?”
10मानिसले भन्यो, “मैले बगैँचामा तपाईंको आवाज सुनेँ, र म डराएँ किनकि म नाङ्‍गै थिएँ । यसैकारण म लुकेँ ।”
11परमेश्‍वरले भन्‍नुभयो, “तँ नाङ्‍गै थिइस् भनेर तँलाई कसले भन्यो ? के मैले तँलाई नखानू भनेर आज्ञा गरेको रुखको फल तैँले खाइस् ?”
12मानिसले भन्यो, “तपाईंले मसँगै रहनलाई दिनुभएको स्‍त्रीले मलाई त्यस रुखको फल दिई, र मैले त्यो खाएँ ।”
13परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तैँले यो के गरिस्?” स्‍त्रीले भनिन्, “सर्पले मलाई छल गर्‍यो, र मैले खाएँ ।”
14परमप्रभु परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तैँले यसो गरेको हुनाले सबै पाल्तु पशुहरू र जङ्गली जनावरहरूमा केवल तँ श्रापित हुनेछस् । तँ तेरो पेटद्वारा हिँड्नेछस्, र तेरो जीवनभरि नै तैँले माटो खानेछस् ।
15तेरो र स्‍त्रीबिच, अनि तेरो सन्तान र स्‍त्रीको सन्तानबिच म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुल्चनेछ, र तैँले त्यसको कुर्कुच्‍चा डस्‍नेछस् ।”
16उहाँले स्‍त्रीलाई भन्‍नुभयो, “म तेरो प्रसव-वेदना ज्यादै बढाइदिनेछु; तैँले पीडामा नै बालक जन्माउनेछस् । तेरो इच्छा तेरो पतिको लागि हुनेछ, तर त्यसले तँलाई आफ्नो अधीनमा राख्‍नेछ ।”
17आदमलाई उहाँले भन्‍नुभयो, “तैँले तेरी पत्‍नीको कुरा सुनेको, र मैले तँलाई नखानू भनेको रुखको फल तैँले खाएको हुनाले, तेरो कारण यो भूमि श्रापित भएको छ । तेरो जीवनभरि नै तैँले यस भूमिमाथि कडा परिश्रम गरेर खानेछस् ।
18त्यसले तेरो निम्ति काँढा र सिउँडीहरू उमार्नेछ, र तैँले खेतका बिरुवाहरू खानेछस् ।
19तँ माटोमा नफर्कुन्जेल, तैँले आफ्नो परिश्रमको पसिना बगाएर भोजन खानेछस्, किनकि तँ माटैबाट निकालिएको थिइस् । तँ माटै होस्, र माटोमा नै फर्किजानेछस् ।”
20मानिसले आफ्नी पत्‍नीको नाम हव्‍वा राख्‍यो किनकि तिनी सबै जीवित प्राणीकी आमा हुन् ।
21परमप्रभु परमेश्‍वरले आदम र उनकी पत्‍नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई पहिराइदिनुभयो ।
22परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “असल र खराबको ज्ञान पाएर मानिस हामीजस्तै भएको छ । यसैकारण अब त्यसलाई आफ्नो हात पसारेर जीवनको रुखको फल खान दिनुहुँदैन नत्रता त्यो सधैँभरि जीवित रहला ।”
23त्यसैकारण जुन भूमिबाट त्यो निकालिएको थियो त्यही भूमिमा खेतीपाती गर्न परमप्रभु परमेश्‍वरले त्यसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो ।
24परमेश्‍वरले मानिसलाई बगैँचाबाट निकालिदिनुभएपछि जीवनको रुखतर्फको मार्गमा पहरा दिन उहाँले अदनको बगैँचाको पूर्वमा करूबहरू र चारैदिशातर्फ घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.