Hagar beside a wilderness spring meeting a messenger who speaks hope for her son

उत्पत्ति 16

पवित्र बाइबल
1अब अब्रामकी पत्‍नी साराईले तिनको निम्ति कुनै सन्तान जन्माएकी थिइनन्, तर तिनकी हागार नाम गरेकी एउटी मिश्री कमारी थिई ।
2त्यसैले साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मलाई कुनै सन्तान दिनुभएको छैन । जानुहोस् मेरी कमारीसँग सुत्‍नुहोस् । सायद त्यसद्वारा मैले सन्तान प्राप्‍त गर्नेछु।” अब्रामले साराईको कुरा माने ।
3अब्राम कनानमा बसेको दश वर्षपछि साराईले आफ्नी मिश्री कमारी हागारलाई अब्राहमकी पत्‍नी हुनलाई दिइन् ।
4त्यसैले अब्रामले हागारसँग सम्बन्ध राखे र त्यो गर्भवती भई । जब त्यसले आफू गर्भवती भएको थाहा पाई, त्यसले आफ्नी मालिक्‍नीलाई अपमानको दृष्‍टिले हेर्न थाली ।
5त्यसपछि साराइले अब्रामलाई भनिन्, “ममाथि भएको यो खराबी तपाईंको कारणले हो । मैले मेरी कमारी तपाईंको अँगालोमा दिएँ, अनि जब त्यसले आफू गर्भवती भएको चाल पाई, त्यसको दृष्‍टिमा म तुच्छ भएँ । परमेश्‍वरले तपाईं र मेरो बिचमा इन्साफ गरून् ।”
6तर अब्राहमले साराइलाई भने, “हेर, तिम्री कमारी तिम्रै शक्तिमा छे, तिमीलाई जे उत्तम लाग्छ त्यही गर ।” त्यसैले साराईले त्यससँग कठोर व्यवहार गरिन्, अनि त्यो तिनीदेखि भागी ।
7परमप्रभुका दूतले त्यसलाई मरुभूमिमा भएको पानीको मूल नजिकै भेट्टाए । त्यो मूल शूरतिर जाने बाटोमा पर्छ ।
8तिनले सोधे, “साराईकी कमारी हागार, तँ कहाँबाट आइस् र कहाँ जाँदै छेस्?” त्यसले जवाफ दिई, “म मेरी मालिक्‍नी साराईदेखि भाग्दै छु।”
9परमप्रभुका दूतले त्यसलाई भने, “फर्केर तेरी मालिक्‍नीकहाँ जा र तिनको अधिकारमा समर्पित भएर बस्।”
10त्यसपछि परमप्रभुका दूतले त्यसलाई भने, “म तेरा सन्तानहरूलाई औधी बढाउनेछु, कि तिनीहरू गन्‍न नै नसकिने गरी धेरै हुनेछन् ।”
11परमेश्‍वरका दूतले यो पनि भने, “हेर्, तँ गर्भवती भएकी छेस् र एउटा छोरो जन्माउनेछेस्, र तैँले त्यसको नाम इश्‍माएल राख्‍नेछेस् किनकि परमप्रभुले तेरो दुःख सुन्‍नुभएको छ । मानिसहरूमा त्यो एउटा जङ्‍गली गधाझैँ हुनेछ ।
12त्यो हरेक मानिसको विरुद्धमा खडा हुनेछ, र हरेक मानिस त्यसको विरूद्धमा लाग्‍नेछ, र आफ्ना सबै दाजुभाइहरूबाट अलग बस्‍नेछ ।”
13त्यसपछि त्यसले आफूसँग बात गर्नुहुने परमेश्‍वरका दूतलाई यो नाउँ दिई, “तपाईं मलाई देख्‍नुहुने परमप्रभु हुनुहुन्छ,” किनकि त्यसले भनी, “के उहाँले मलाई देखिसकेपछि पनि म उहाँलाई साँच्‍चै देखिरहन्छु?”
14त्यसैले त्यस इनारको नाउँ बेअर-लहै-रोइ राखियो, जुन कादेश र बेरेदको बिचमा पर्छ ।
15हागारले अब्रामको छोरो जन्माई, अनि हागारले जन्माएको छोरोको नाम अब्रामले इश्माएल राखे ।
16हागारले अब्रामको निम्ति छोरो जन्माउँदा अब्राम छयासी वर्षका थिए ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.