
इजकिएल 8
पवित्र बाइबल
1छैटौं वर्षको छैटौं महिनाको पाँचौं दिनमा जब म आफ्नो घरमा बसें र यहूदाका धर्म-गुरुहरू मेरो सामु बसे, तब त्यहाँ परमप्रभु परमेश्वरको बाहुली ममाथि पर्यो ।
2तब मैले हेरें, र हेर, त्यहाँ मानिसको रूप भएको आकार थियो। तिनको कम्मरमुनि आगोजस्तो थियो । अनि तिनको कम्मरदेखि माथिचाहिं चम्किरहेको धातुजस्तो देखिन्थ्यो ।
3तब तिनले हातजस्तै आकार पसारेर मेरो कपाल समातेर मलाई जुरुक्क उठाए । आत्माले मलाई पृथ्वी र स्वर्गको बिचमा उचाल्नुभयो, र परमेश्वरका दर्शनहरूमा यरूशलेममा मन्दिरको भित्री चोकमा प्रवेश गर्ने उत्तरपट्टिको मूल ढोकानेर उहाँले मलाई लग्नुभयो, जहाँ डाही बनाउने मूर्ति खडा थियो ।
4तब हेर, मैले मैदानमा देखेको दर्शनअनुसार त्यहाँ इस्राएलका परमेश्वरको महिमा थियो ।
5तब उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो! तेरो आँखाले उत्तरतिर हेर् ।” यसैले मैले आँखाले उत्तरतिर हेरें, र वेदीतिर जाने ढोकाको उत्तर, त्यहाँ ढोकामा त्यो डाहको मूर्ति थियो ।
6यसैले उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, तिनीहरू के गर्दैछन्, तँ देख्छस्? इस्राएलको घरानाले मलाई आफ्नो पवित्रस्थानबाट टाढा हटाउनलाई घिनलाग्दा काम यी नै हुन् । तर तँ फर्कनेछस् र अझ बढी घिनलाग्दा कामहरू देख्नेछस् ।”
7तब उहाँले मलाई चोकको ढोकामा ल्याउनुभयो, र मैले हेरें र त्यहाँ पर्खालमा प्वाल थियो ।
8उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, यो भित्ताभित्र खन् ।” त्यसैले मैले त्यो भित्ताभित्र खनें, र त्यहाँ एउटा ढोका थियो ।
9तब उहाँले मलाई भन्नुभयो, “जा र तिनीहरूले त्यहाँ गरिरहेका घिनलाग्दा दुष्ट कामहरू हेर् ।”
10यसैले म भित्र पसें र हेरें, र नियालें । त्यहाँ हरेक किसिमका घस्रने जन्तुहरू र घिनलाग्दा पशुहरू थिए! इस्राएलको घरानाका जम्मै मूर्तिहरूका चित्रहरू त्यहाँ भित्तामा चारैतिर बनाइएका थिए ।
11त्यहाँ इस्राएलका घरानाका सत्तरी जना धर्म-गुरुहरू थिए र शापानको छोरो याजन्याह तिनीहरूका माझमा खडा थिए । तिनीहरू मूर्तिहरूका सामु खडा थिए, र धूपको धूवाँ मास्तिर जाओस् भनेर हरेकले हातमा आ-आफ्ना धुपौरो लिएर खडा थिए ।
12उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, इस्राएलका घरानाका धर्म-गुरुहरूले अँध्यारोमा के गरिरहेका के तँ देख्छस्? आफ्नो मूर्तिको गुप्त कोठामा तिनीहरू प्रत्येकले यसो गर्छन् किनकि तिनीहरू भन्छन्, 'परमप्रभुले हामीलाई देख्नुहुन्न। परमप्रभुले देशलाई त्याग्नुभएको छ' ।”
13तब उहाँले मलाई भन्नुभयो, “फेरि फर्की र तिनीहरूले गरिरहेका अरू ठुला घिनलाग्दा कामहरू हेर् ।”
14त्यसपछि उहाँले मलाई परमप्रभुका मन्दिरको उत्तरपट्टिका ढोकाको मुखमा लानुभयो र हेर, त्यहाँ स्त्रीहरू बसेर तम्मूज देवताको लागि रोइरहेका थिए ।
15त्यसैले उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, के तँ यो देख्छस्? फर्की र यीभन्दा पनि बढी घिनलाग्दा कुराहरू हेर् ।”
16उहाँले मलाई परमप्रभुका मन्दिरको भित्री चोकमा लानुभयो, र हेर, अनि त्यहाँ वेदी र दलानको बिचमा परमप्रभुको मन्दिरको ढोकामा करिब पच्चीस जना मानिस थिए, आफ्ना पिठ परमप्रभुको मन्दिरतिर र अनुहारचाहिं पूर्वपट्टि फर्काएर तिनीहरूले सूर्यको पुजा गरिरहेका थिए ।
17उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, के तँ यो देख्छस्? के तिनीहरूले यहाँ गरिरहेका यी घिनलाग्दा काम यहूदाका घरानाको लागि सानो कुरा हो र? किनकि तिनीहरूले देशलाई हिंसाले भरेका छन् र आफ्ना नाकमा हाँगा राखेर मलाई रिस उठाउनलाई तर्केका छन् ।
18यसैले म पनि तिनीहरूको माझमा काम गर्नेछु । मेरा आँखामा दया हुनेछैन, र म तिनीहरूलाई छोड्नेछैनँ । तिनीहरू उच्च सोरले मेरो कानैमा कराए तापनि म तिनीहरूको कुरा सुन्नेछैनँ ।
पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.