Leaders stand beside equal measures, grain, oil, and sheep overlooking an ordered district surrounding the sanctuary

इजकिएल 45

पवित्र बाइबल
1उत्तराअधिकारको रूपमा देशलाई भाग लगाउन जब तिमीहरूले चिठ्ठा हाल्‍छौ, तब तिमीहरूले परमप्रभुको निम्‍ति एउटा जग्‍गा अलग गर्नू । यो दानको जग्‍गा पच्‍चीस हजार हात लामो र दश हजार हात चौडा देशको एउटा पवित्र जमिन हुनेछ । त्यो र त्यसको वरिपरिको क्षेत्र सबै पवित्र हुनेछ ।
2यसबाट पाँच सय हात लमाइ र चौडाइको वर्गाकार क्षेत्र हुनेछ जसले पवित्र स्थानलाई घेर्नेछ, र त्यसको वरिपरिको सिमाना पचास हात चौडा हुनेछ ।
3यस क्षेत्रबाट तिमीहरूले पच्‍चीस हजार हात लमाइ र दश हजार हात चौडाइ नाप्‍नू । त्योचाहिं पवित्र-स्थान, र महा-पवित्र स्थान हुनेछ ।
4योचाहिं परमप्रभुको सेवा गर्ने पुजारीहरूका निम्ति देशमा एउटा पवित्र ठाउँ हुनेछ, जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् । यो तिनीहरूका निम्ति घरहरू र पवित्र ठाउँको निम्ति एउटा पवित्र क्षेत्र हुनेछ ।
5यसरी त्यो पच्‍चीस हजार हात लामो र दश हजार हात चौडा हुनेछ, र त्यो मन्‍दिरमा सेवा गर्ने लेवीहरूका नगरहरूका निम्ति त्‍यो हुनेछ ।
6सहरको लागि एउटा क्षेत्र अलग गर्नू जुन पाँच हजार हात चौडा र पच्‍चीस हजार हात लामो होस् । त्योचाहिं पवित्र ठाउँको निम्ति अलग गरिएको क्षेत्रको छेउमा हुनेछ । यो सहर इस्राएलका सबै घरानाको हुनेछ ।
7शासकको जमिनचाहिं पवित्र-स्थान र सहरको निम्ति अलग गरिएको क्षेत्रको दुवैपट्टि हुनेछ । त्यो तिनीहरूको पश्‍चिम र पूर्वपट्टि हुनेछ । पूर्वदेखि पश्‍चिमसम्म यी भागहरूमध्ये एउटाको लमाइसँग बराबर लमाइ हुनेछ ।
8यो जमिनचाहिं इस्राएलको शासकका सम्पत्ति हुनेछ । मेरा शासकहरूले अब मेरा मानिसहरूलाई थिचोमिचो गर्नेछैनन् । बरु, तिनीहरूले इस्राएलको घरानाका कुलहरूलाई त्यो जमिन दिनेछन् ।
9परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: अब अति भयो, इस्राएलका शासकहरू हो! हिंसा र झैं-झगडा हटाओ । न्याय गर र धार्मिकता देखाओ । मेरा मानिसहरूलाई निष्कासन गर्न छोडिदेओ! यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
10तिमीहरूका नाप ठिक, ठिक एपा र ठिक बाथ हुनुपर्छ!
11एपा र बाथको नाप बराबर हुनुपर्छ । यसैले एक बाथ होमेरको दश भागको एक भाग हुनेछ । एक एपा होमेरको दश भागको एक भाग हुनेछ । तिनीहरूका नाप होमेरसँग मिल्‍दो हुनेछ ।
12शेकेलचाहिं बिस गेरा होस् । साठी शेकेलको एक मीना हुनेछ ।
13तिमीहरूले दिनेपर्ने योगदान यही हो: गहुँको एक होमेरसँग एपाको छैटौंभाग, र जौको एक होमेरसँग एपाको छैटौंभाग तिमीहरूले दिनेछौ ।
14तेलको तोकिएको भेटीचाहिं हरेक कोर वा हरेक होमेरको निम्ति बाथको दशौंभाग हुनेछ (एक कोर दश बाथ हुन्छ), किनभने एक होमेर भनेको पनि दश बाथ हो ।
15इस्राएलका राम्रो पानी पाएका क्षेत्रहरूका हरेक दुई सय पशुहरूका निम्ति बगालबाट एउटा भेडो वा बोको मानिसहरूका निम्ति प्रायश्‍चित गर्नलाई होमबलि वा मेलबलिको निम्ति प्रयोग हुनेछ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
16देशका सबै मानिसहरूले इस्राएलको शासकलाई यो उपहार दिनेछन् ।
17चाडहरू र औंसीका उत्सवहरू र शबाथ दिनहरू—इस्राएलको घरानाका सबै तोकिएका चाडहरूमा होमबलि, अन्‍नबलि, र अर्घबलिका निम्ति पशुहरू तयार गर्ने जिम्मेवारी शासकको हुनेछ । तिनैले इस्राएलको घरानाको निम्ति प्रायश्‍चित गर्न पापबलि, अन्‍नबलि, होमबलि, र मेलबलिको प्रबन्‍ध गर्नेछन् ।
18परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: पहिलो महिनाको पहिलो दिनमा, तिमीहरूले बथानबाट एउटा निष्खोट साँढे लिनू र पवित्र-स्थानको निम्ति पापबलि चढाउनु ।
19पुजारीले पापबलिको रगतबाट केही लिनेछन् र मन्‍दिरको ढोकाका चौकोसहरू, वेदीको सिमानाका चार किनारहरू, र भित्री चोकको ढोकाको चौकोसहरूमा लगाउनेछन् ।
20हरेक मानिसबाट अजानमा वा अज्ञानतामा हुने पापको निम्ति महिनाको सातौं दिनमा यस्तो गर्नू । यसरी तिमीहरूले मन्दिरको निम्ति प्रायश्‍चत गर्नेछौ ।
21पहिलो महिनाको चौधौं दिनमा, तिमीहरूको निम्ति सात दिनको एउटा पर्व हुनेछ । तिमीहरूले अखमिरी रोटी खानुपर्छ ।
22त्यस दिनमा, शासकले आफ्नै निम्ति र देशका सबै मानिसहरूका निम्ति पापबलिको रूपमा एउटा साँढे तयार गर्नेछन् ।
23सात दिनको पर्वमा, शासकले परमप्रभुको निम्ति होमबलि तयार गर्नेछन्: सात दिनसम्म हरेक दिन सातवटा साँढे र सात वटा निष्खोट भेडा, र हरेक दिन पापबलिको रूपमा एउटा बोको ।
24अनि शासकले हरेक साँढेको निम्ति एक एपा र हरेक भेडोको निम्ति एक एपा अन्‍नबलि र हरेक एपाको निम्ति एक हीन तेल तयार गर्नेछ ।
25सातौं महिनाको पन्ध्रौं दिनमा, चाडमा, शासकले यी सात दिनहरूमा यी बलिहरू चढाउनेछन्: पापबलि, होमबलि, अन्‍नबलि, र तेलको बलि ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.