Tyre's seaside walls collapse while merchant ships sail away and fishermen spread nets on the rocky shore

इजकिएल 26

पवित्र बाइबल
1यसैले यो एघारौं वर्षमा, महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2“ए मानिसको छोरो, किनभने यरूशलेमको विरुद्धमा टुरोस सहरले 'अहा! भनेको छ ।मानिसहरूका ढोकाहरू भत्‍केका छन् । त्‍यो मतिर फेर्केको छ । म भरपूर हुनेछु, किनभने त्‍यो भग्‍नावशेष भएको छ ।'
3यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘हेर्, ए टुरोस, म तेरो विरुद्धमा छु, र समुद्रमा छालहरू उठेझैं धेरै जातिहरूलाई तेरो विरुद्धमा म ल्‍याउनेछु ।
4उनीहरूले टुरोसका पर्खालहरू भत्‍काउनेछन्, र त्‍यसका धरहराहरू ढाल्‍नेछन्‌ । म त्‍यसको धूलो उडाउनेछु र त्यसलाई उजाड चट्टान बनाउनेछु ।
5त्‍यो समुद्रको बिचमा जालहरू सुकाउने ठाउँ हुनेछ, किनभने मैले नै यो घोषणा गरेको छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— र त्‍यो जातिहरूका निम्‍ति लूटको माल हुनेछ ।
6मैदानहरूमा भएका त्यसका छोरीहरू तरवारले मारिनेछन्‌, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।
7किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, उत्तरबाट राजाहरूका राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, र घोडचढीहरू र धेरै जना मानिससहित म टुरोसको विरुद्धमा ल्‍याउनेछु ।
8त्‍यसले मैदानहरूमा तेरा छोरीहरूलाई मार्नेछ । त्‍यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, र तेरा पर्खालहरूमा आड लाग्‍ने किल्‍ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ ।
9तेरो पर्खालमा हिर्काउनलाई त्‍यसले मूढाहरू राख्‍नेछ, र त्‍यसका हतियारले तेरा धरहराहरू ढाल्‍नेछ ।
10त्‍यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनका धूलोले तँलाई ढाक्‍नेछ । घोडचढीहरू, गाढाहरू र रथहरूको आवाजले तेरा पर्खालहरू हल्लिनेछन् । पर्खाल भत्‍केको कुनै सहरभित्र मानिसहरू पसेझैं गरी त्‍यो तेरा ढोकाहरूभित्र पस्‍छ ।
11त्‍यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्‍चिनेछ । त्‍यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खामाहरू जमिनमा ढल्‍नेछन्‌ ।
12उनीहरूले तेरा धन-सम्‍पत्तिहरू लुट्‌नेछन्, र तेरा व्‍यापारका मालहरू लुट्‌नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्‍नेछन्‌ र तेरा आरामदायी घरहरू भत्‍काउनेछन्‌ । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्‍नेछन्‌ ।
13तेरो गीतको हल्ला म बन्‍द गर्नेछु । तेरा वीणाहरूका आवाज फेरि कहिल्‍यै सुनिनेछैन ।
14म तँलाई उजाड चट्टान बनाउनेछु । तँ जालहरू सुकाउने ठाउँ बन्‍नेछस्‌ । फेरि कहिल्‍यै तँलाई बनाइनेछैन, किनकि म परमप्रभु परमेश्‍वर नै बोलेको हुँ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
15परमप्रभु परमेश्‍वर टुरोस सहरलाई यसो भन्‍नुहुन्‍छ, 'जब तेरो बिचमा डरलाग्दो मारकाट हुन्‍छ, तब ढलेहरूका सोर र घाइतेहरूले सुस्‍केराले के टापुहरू काम्‍नेछैनन्‌ र?
16तब समुद्र किनारका सबै जना शासक आ-आफ्‍ना सिंहासनबाट ओर्लनेछन् र आ-आफ्‍नो पोशाक उतार्नेछन्, र बुट्टा भरिएका वस्‍त्रहरू फुकाल्‍नेछन्‌ । तिनीहरूले आफैंमा कम्पका पोशाक लगाउनेछन्, तिनीहरू भूइँमा बस्‍नेछन्, र हरेक क्षण काम्‍नेछन्, र तँलाई देखेर तिनीहरू भयभीत हुनेछन्‌ ।
17तिनीहरूले तेरो विषयमा विलाप गर्नेछन्‌ र तँलाई यसो भन्‍नेछन्‌: नाविकहरू बसोबास गर्ने, तँ कसरी नष्‍ट भइस्‌ । शक्तिशाली र प्रसिद्ध सहर अब समुद्रबाट हराएको छ । त्यसका बासिन्‍दाहरूले आफ्‍ना नजिक बस्‍ने हरेकलाई कुनै बेला थर्कमान् पारेका थिए ।
18अब तेरो पतनको दिनमा समुद्र-किनारका देशहरू काम्‍छन्‌ । तँ आफ्नो ठाउँमा नभए हुनाले टापूहरू त्रासमा परेका छन्‌ ।'
19किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जब मानिसहरू बसोबास नगरेको अरू सहरझैं म तँलाई एउटा उजाडिएको सहर तुल्‍याउँछु, र जब म गहिरो सागरलाई तेरो विरुद्ध उठाउनेछु, र जब ठुला छालहरूले तँलाई ढाक्‍छन्,
20तब म तँलाई प्राचिन समयका मानिसहरूकहाँ ल्याउनेछु, अरू मानिसहरूझैं जो खाल्डोमा गएका छन् । किनभने म तँलाई पृथ्‍वीमुनि, प्राचीन भग्‍नावशेषमा जस्‍तै, मृत-लोकमा जानेहरूसित बस्‍न लाउनेछु । जसको कारण तँ फेरि कहिल्‍यै जीवितहरूको देशमा फर्केर बस्‍नेछैनस्‌ ।
21तँमाथि म विपति ल्याउनेछु, र सधैंको निम्‍ति तँ फेरि कहिलै हुनेछैनस् । तब तेरो खोजी हुनेछ तर तँलाई फेरि कहिलै भेट्टाइनेछैन— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.