Moses standing between a flourishing town and a barren road of exile under dark clouds

व्यवस्था 28

पवित्र बाइबल
1आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका सबै आज्ञा पालन गर्न उहाँको कुरा होसियारीपूर्वक सुन्यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पृथ्वीका सबै जातिभन्दा उच्‍च बनाउनुहुने छ ।
2तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुन्यौ भने यी सबै आशिष् तिमीहरूमा आउने छन् ।
3तिमीहरू सहरमा आशिषित् हुने छौ र खेतमा आशिषित् हुने छौ ।
4तिमीहरूका सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूका पशु, तिमीहरूका गाईवस्तुसाथै तिमीहरूका बाछा-बाछीमाथि
5आशिष् पर्ने छ ।
6तिमीहरूको डालो र पिठो मुछ्ने आरीमा आशिष् पर्ने छ । तिमीहरू भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष् पाउने छौ ।
7तिमीहरूको विरुद्धमा खडा हुने तिमीहरूका शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु पराजित गर्नुहुने छ । तिनीहरू तिमीहरूको विरुद्धमा एउटा बाटो भएर आउने छन्, तर तिमीहरूकै सामु सातवटा बाटो भएर भाग्‍ने छन् ।
8परमप्रभुले तिमीहरूका धनसार र तिमीहरूले हात लगाउने हरेक थोकमा आशिष् ल्याउनुहुने छ । उहाँले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा उहाँले तिमीहरूलाई आशिष् दिनुहुने छ ।
9परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गरी उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले प्रतिज्ञा गरेअनुसार परमप्रभुले तिमीहरूलाई आफ्नो लागि अलग गर्नुभएको जातिको रूपमा स्थापित गर्नुहुने छ ।
10तिमीहरू परमप्रभुको नाउँद्वारा डाकिएका छौ भनी पृथ्वीका सबै जातिले थाहा पाउने छन्, र तिनीहरू तिमीहरूदेखि डराउने छन् ।
11परमप्रभुले तिमीहरूका सन्तान, तिमीहरूका गाईवस्तु, तिमीहरूको भूमिको उब्जनी र तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूको उन्‍नति गराउनुहुने छ ।
12ठिक समयमा वृष्‍टि दिन र तिमीहरूको देशको सबै काममा आशिष् दिन परमप्रभुले तिमीहरूका निम्ति आकाशमा भएको आफ्नो भण्डारण खुला गर्नुहुने छ । तिमीहरूले धेरै जातिलाई ऋण दिने छौ, तर तिमीहरूले ऋण लिने छैनौ ।
13परमप्रभुले तिमीहरूलाई शिर तुल्याउनुहुने छ, पुच्छर होइन । तिमीहरू केवल माथि हुने छौ, तल होइन । आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू पालन गर्न र मान्‍न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुन्यौ भने,
14र आज मैले तिमीहरूलाई आज्ञा गरेका वचनहरूबाट दायाँ र बायाँ गएर अरू देवताहरूको सेवा गर्न तिनीहरूको पछि लागेनौ भने तिमीहरूले आशिष् पाउने छौ ।
15तर आज मैले तिमीहरूलाई दिएका सबै आज्ञासाथै विधिहरू पालन गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुनेनौ भने यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् ।
16तिमीहरूको सहर र तिमीहरूको खेतमा श्राप पर्ने छ ।
17तिमीहरूको डालो र पिठो मुछ्ने आरीमा श्राप पर्ने छ ।
18तिमीहरूको सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूको गाईवस्तु र बाछा-बाछीहरूमा श्राप पर्ने छ ।
19तिमीहरू भित्र आउँदा र बाहिर जाँदा श्राप पर्ने छ ।
20तिमीहरूले दुष्‍ट काम गरी मलाई त्यागेकाले तिमीहरू चाँडै नष्‍ट नभएसम्म तिमीहरूले हात लगाउने हरेक थोकमा परमप्रभुले तिमीहरूमाथि श्राप, भ्रम र हप्की पठाउनुहुने छ ।
21तिमीहरूले अधिकार गर्न जान लागेको देशमा तिमीहरूको नाउँनिशानै नमेटुञ्‍जेलसम्म परमप्रभुले तिमीहरूमाथि विपत्ति ल्याउनुहुने छ ।
22परमप्रभुले तिमीहरूलाई सङ्क्रामक रोग, ज्वरो, सूज, खडेरी, प्रचण्ड ताप, चिलाउने बतास र ढुसीले आक्रमण गर्नुहुने छ । तिमीहरू नष्‍ट नभएसम्म यी आइरहने छन् ।
23तिमीहरूको शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको पृथ्वी फलाम हुने छ ।
24परमप्रभुले तिमीहरूको देशको वृष्‍टिलाई धूलोपिठोमा बद्लनुहुने छ । तिमीहरू विनाश नभएसम्म यो आकाशबाट आइरहने छ ।
25परमप्रभुले तिमीहरूलाई तिमीहरूका शत्रुहरूको सामु परास्त गर्नुहुने छ । तिमीहरू तिनीहरूको विरुद्धमा एउटा बाटो जाने छौ, तर तिनीहरूबाट सातवटा बाटा भएर भाग्‍ने छौ । तिमीहरू पृथ्वीका सबै राज्यमा धपाइने छौ ।
26तिमीहरूका लाश आकाशका चराचुरुङ्गीहरू र पृथ्वीका पशुहरूका लागि भोजन हुने छन् । तिनीहरूलाई त्रसित पार्ने कोही हुने छैन ।
27परमप्रभुले तिमीहरूलाई मिश्रका फोका, गिर्खा, पिला, चिलाउने रोगले आक्रमण गर्नुहुने छ जसबाट तिमीहरू निको हुन सक्दैनौ ।
28परमप्रभुले तिमीहरूलाई पागलपन, अन्धोपन र मानसिक गोलमालले आक्रमण गर्नुहुने छ ।
29अन्धोले अन्धकारमा छामछाम-छुमछुम गरेर हिँडेजस्तै तिमीहरू मद्यदिनमा हिँड्ने छौ, तिमीहरूले आफ्ना मार्गमा उन्‍नति गर्ने छैनौ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र लुटिने छौ अनि तिमीहरूलाई बचाउने कोही हुने छैन ।
30तिम्रो मगनी भएकी केटीलाई अर्को पुरुषले लगेर बलत्कार गर्ने छ । तिमीहरूले घर बनाउने छौ, तर त्यसमा बस्‍न पाउने छैनौ ।
31तिमीहरूले दाखबारी लगाउने छौ, तर यसको फल खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गोरुलाई मारिने छ, तर तिमीहरूले त्यसको मासु खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गधालाई जबरजस्ती लगिने छ, र तिमीहरूले फिर्ता पाउने छैनौ । तिमीहरूको भेडा तिमीहरूका शत्रुहरूलाई दिइने छ, र तिमीहरूलाई सहायता गर्ने कोही हुने छैन ।
32तिमीहरूका छोराछोरीहरू अरू जातिहरूलाई दिइने छन् । तिमीहरूले पुरै दिन तिनीहरूको बाटो हेर्ने छौ, तर तिनीहरूलाई देख्‍ने छैनौ । तिमीहरूका हातमा कुनै शक्ति हुने छैन ।
33तिमीहरूको देशको उब्जनी र तिमीहरूको परिश्रमको फल तिमीहरूले नचिनेको जातिले खाइदिने छ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र पेलिने छौ ।
34यसरी तिमीहरू तिमीहरूले देख्‍नु परेको दृश्यद्वारा बौलाहा हुने छौ ।
35परमप्रभुले तिमीहरूलाई तिमीहरूको शिरदेखि पैतालासम्म अनि घुँडा र खुट्टामा फोकाले आक्रमण गर्नुहुने छ जसबाट तिमीहरू निको हुनै सक्दैनौ ।
36परमप्रभुले तिमीहरू र तिमीहरूले आफ्नो लागि रोजेका राजालाई तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका जातिकहाँ धपाउनुहुने छ । त्यहाँ तिमीहरूले काठ र ढुङ्गाले बनेका देवताहरूलाई पुज्ने छौ ।
37परमप्रभुले तिमीहरूलाई सबै जातिको बिचमा धपाउनुहुने छ जहाँ तिमीहरू हेला, तिरस्कार र गिल्लाका पात्र बन्‍ने छौ ।
38तिमीहरूले खेतमा धेरै बिउ लगाउने छौ, तर थोरै मात्र कटनी गर्ने छौ किनकि सलहहरूले त्यसलाई खाइदिने छन् ।
39तिमीहरूले दाखबारी लगाई त्यसको कटनी गर्ने छौ, तर तिमीहरूले दाखरस पिउन पाउने छैनौ, न त दाख नै जम्मा गर्न पाउने छौ किनकि किराहरूले ती खाइदिने छन् ।
40तिमीहरूका इलाकाभरि तिमीहरूले भद्राक्षका रुखहरू लगाउने छौ, तर तिमीहरूले तेल निकाल्न पाउने छैनौ, किनकि तिमीहरूका भद्राक्षका रुखहरूको फल झर्ने छन् ।
41तिमीहरूले छोराछोरीहरू जन्माउने छौ, तर तिनीहरू तिमीहरूका हुने छैनन् किनकि तिनीहरू दासत्वमा लगिने छन् ।
42तिमीहरूका सबै रुख र तिमीहरूको भूमिको फललाई सलहहरूले नष्‍ट गरिदिने छन् ।
43तिमीहरूको बिचमा बास गर्ने परदेशी तिमीहरूभन्दा माथि-माथि उठ्ने छ । तर तिमीहरूचाहिँ तल-तल झर्ने छौ ।
44त्यसले तिमीहरूलाई ऋण दिने छ, तर तिमीहरूले त्यसलाई ऋण दिने छैनौ । त्यो शिर हुने छ भने तिमीहरू पुच्छर हुने छौ ।
45यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् र तिमीहरू नष्‍ट नभएसम्म तिनले तिमीहरूको पिछा गर्ने छन् । उहाँले तिमीहरूलाई उहाँका आज्ञा र निर्देशनहरू पालन गर्न तिमीहरूले उहाँको कुरा नसुनेकाले यो हुने छ ।
46चिन्ह र आश्‍चर्यको रूपमा यी श्रापहरू तिमीहरू र तिमीहरूका सन्तानहरूमाथि सदाको निम्ति आइपर्ने छन् ।
47तिमीहरूको उन्‍नति हुँदा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई ह्रदयबाट खुसीसाथ र आनन्दसाथ उहाँको आराधना नगरेकाले
48परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुहुने शत्रुहरूको तिमीहरूले सेवा गर्ने छौ । तिमीहरूले भोक, तिर्खा, नग्‍नता र गरिबीमा तिनीहरूको सेवा गर्ने छौ । उहाँले तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म उहाँले तिमीहरूको काँधमा जुवा हालिदिनुहुने छ ।
49परमप्रभुले धेरै टाढाबाट अर्थात् पृथ्वीको छेउबाट आफ्नो सिकारको लागि झम्टने गरुडझैँ तिमीहरूको विरुद्धमा एउटा जातिलाई ल्याउनुहुने छ जसको भाषा तिमीहरू बुझ्दैनौ ।
50यो एउटा क्रुर रूप भएको जाति हुने छ जसले पाकाहरूलाई आदर गर्दैन र युवाहरूलाई स्‍नेह देखाउँदैन ।
51तिमीहरू नष्‍ट नभएसम्म तिनीहरूले तिमीहरूका बाछा-बाछी र तिमीहरूको देशको फल खाने छन् । तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म तिनीहरूले तिमीहरूका लागि कुनै अन्‍न, नयाँ मद्य वा तेल वा बाछा-बाछी वा भेडा-बाख्रा छाड्ने छैनन् ।
52तिमीहरूले भरोसा गरेका सहरहरूका अग्ला र मजबुत पर्खालहरू नढालेसम्म तिनीहरूले तिमीहरूका सहरहरूलाई घेराबन्दी गर्ने छन् । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको तिमीहरूको देशका सबै सहरलाई तिनीहरूले घेराबन्दी गर्ने छन् ।
53तिमीहरूका शत्रुहरूले तिमीहरूमाथि कष्‍ट ल्याएको समयमा र तिमीहरूलाई घेराबन्दी गर्दा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएका तिमीहरूका आफ्नै सन्तान अर्थात् छोराछोरीका मासु खाने छौ ।
54तिमीहरूका बिचमा भएका कोमल र भद्र मानिसले पनि आफ्नै भाइ, आफ्नी प्यारी पत्‍नी र आफ्ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउने छैन ।
55तिमीहरूको शत्रुले तिमीहरूका सबै सहरभित्र कष्‍ट ल्याएको समयमा र घेराबन्दी गर्दा यहाँसम्म हुने छ कि त्यसले खाँदै गरेको आफ्ना बालबच्‍चाहरूको शरीरको मासु त्यसले कसैलाई दिने छैन ।
56तिमीहरूको बिचमा भएकी कोमल र शिष्‍ट स्‍त्री जसले कोमलता र शिष्‍टताको कारणले भुइँमा आफ्नो पैतलाले टेक्‍न पनि चाहँदिन थिई, त्यस्ती स्‍त्रीले पनि आफ्ना पतिसाथै आफ्नै छोराछोरी,
57अनि आफूले भर्खरै जन्माएको छोरोसाथै आफ्नै बालबच्‍चाको मासु खाने छे । तिमीहरूको शत्रुले तिमीहरूको सहरलाई घेराबन्दी गरी कष्‍टमा ल्याउँदा त्यसले केही खान नपाएकीले गर्दा गुप्‍तमा त्यसले त्यो मासु खाने छे ।
58तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको महिमित र भययोग्य नाउँलाई आदर गर्न यस पुस्तकमा लेखिएका व्यवस्थाका सबै वचन पालन गरेनौ भने
59परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानमाथि डरलाग्दा विपत्तिहरू ल्याउनुहुने छ । ती लामो समयसम्म आउने भयानक डरलाग्दा र प्रचण्ड विपत्तिहरू हुने छन् ।
60मिश्रमा जुन विपत्तिहरूदेखि तिमीहरू डराएका थियौ, उहाँले तिनै विपत्तिहरू तिमीहरूमाथि ल्याउनुहुने छ ।
61ती तिमीहरूमा टाँसिने छन् । यसको अतिरिक्त, तिमीहरू नष्‍ट नभएसम्म परमप्रभुले व्यवस्थाको यस पुस्तकमा नलेखिएका हरेक रोग र विपत्ति पनि तिमीहरूमाथि ल्याउनुहुने छ ।
62तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा नमानेकाले तिमीहरू आकाशका ताराहरूजत्तिकै सङ्ख्यामा धेरै भए तापनि तिमीहरूको सङ्ख्या थोरै हुने छ ।
63तिमीहरूको भलो गर्न र तिमीहरूलाई गुणात्मक रूपमा वृद्धि गराउनमा परमप्रभु एक पटक जसरी रमाउनुभयो, त्यसै गरी तिमीहरूलाई नष्‍ट गरी विनाश गर्नमा उहाँ रमाउनुहुने छ । तिमीहरूले अधिकार गर्न लागेको देशबाट तिमीहरू धपाइने छौ ।
64परमप्रभुले तिमीहरूलाई पृथ्वीको एउटा कुनाबाट अर्को कुनासम्म सबै जातिका बिचमा तितर-बितर पारिदिनुहुने छ । त्यहाँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका काठ र ढुङ्गाले बनेका देवताहरूको पुजा गर्ने छौ ।
65यी जातिहरूका बिचमा तिमीहरूले चैन पाउने छैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ हुने छैन । बरु, त्यहाँ परमप्रभुले तिमीहरूलाई थरथर काँप्‍ने ह्रदय, थाक्‍ने आँखा र शोक गर्ने प्राण दिनुहुने छ ।
66तिमीहरूको जीवन तिमीहरूकै सामु आशङ्कमा झुण्डिने छ । तिमीहरू हरेक दिन र रात डराउने छौ अनि तिमीहरूको जीवनभर कुनै निश्‍चयता हुने छैन ।
67तिमीहरूका ह्रदयमा हुने डर र तिमीहरूका आँखाले देख्‍नुपर्ने कुराहरूको कारणले बिहान तिमीहरूले 'राति भइदिए हुन्थ्यो!' भन्‍ने छौ भने राति तिमीहरूले 'बिहान भइदिए हुन्थ्यो!' भन्‍ने छौ ।
68परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूद्वारा तिमीहरू जुन बाटो भएर आएका थियौ त्यही बाटो भएर तिमीहरूलाई मिश्र देशमा फर्काएर लैजानुहुने छ जुन बाटोको बारेमा उहाँले भन्‍नुभएको थियो, 'तिमीहरूले फेरि मिश्र देख्‍ने छैनौ ।' त्यहाँ तिमीहरूले आफैलाई कमारा-कमारीको रूपमा आफ्ना शत्रुहरूको हातमा बेच्ने छौ, तर कसैले तिमीहरूलाई किन्‍ने छैन ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.