A priest encouraging Israelite troops while peace envoys pass beside a protected orchard

व्यवस्था 20

पवित्र बाइबल
1तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले तिनीहरूको भन्दा धेरै घोडा, रथ र मानिसहरू देख्यौ भने तिनीहरूदेखि नडराओ । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसितै हुनुहुन्छ जसले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनुभयो ।
2तिमीहरू युद्धमा जानै लाग्दा पुजारी नजिक आएर मानिसहरूलाई उसले यसो भन्‍नुपर्छ,
3'हे इस्राएली हो, सुन । तिमीहरू आफ्ना शत्रुको विरुद्धमा युद्धमा जान लागेका छौ । तिमीहरूका ह्रदय विचलत नहोऊन् । नडराओ, नकाम । तिनीहरूदेखि भयभीत नहोओ ।
4किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका शत्रुहरूको विरुद्धमा लडी तिमीहरूलाई बचाउन तिमीहरूको अगिअगि जाँदै हुनुहुन्छ ।'
5अधिकारीहरूले मानिसहरूलाई यसो भनून्, 'के घर निर्माण गरेर त्यसलाई अर्पण गर्न नपाएको यहाँ कोही छ ? त्यो आफ्नो घरमा फर्केर जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र अर्कोले त्यसको घर अर्पण नगरोस् ।
6के दाखबारी लगाएर यसको फल खान नपाउने यहाँ कोही छ ? त्यो घरमा जाओस् र युद्धमा मर्नु नपरोस् अनि अर्कोले त्यसलाई उपभोग गर्न नपाओस् ।
7के मगनी भएर बिहे नभएको यहाँ कोही मानिस छ ? त्यो घरमा जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र त्यसलाई अर्कोले बिहे गर्न नपाओस् ।'
8यसबाहेक अधिकारीहरूले मानिसहरूलाई यसो भनून्, 'के यहाँ कोही डरपोक र कातर छ ? त्यो फर्केर आफ्नो घरमा जाओस् ताकि त्यसको भाइको हृदय त्यसको झैँ शिथिल नहोस् ।'
9अधिकारीहरूले मानिसहरूसित बोलिसकेपछि तिनीहरूले उनीहरूमाथि सेनानायकहरू नियुक्त गरून् ।
10कुनै सहरलाई आक्रमण गर्न तिमीहरू नजिक पुग्दा ती मानिसहरूसित शान्तिको प्रस्ताव राख्‍नू ।
11तिनीहरूले तिमीहरूको प्रस्तावलाई स्वीकार गरी तिमीहरूलाई सहरमा स्वागत गरे भने त्यस सहरमा भएका सबै मानिसलाई बेगार काममा लगाउनू र तिनीहरूले तिमीहरूको सेवा गरून् ।
12तर तिनीहरूले तिमीहरूसित कुनै शान्ति सम्झौता गर्नुको साटो तिमीहरूको विरुद्धमा युद्ध गर्न आए भने तब तिमीहरूले सहरलाई घेरा हाल्नू,
13र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिई तिमीहरूको नियन्त्रणमा ल्याउनुहुँदा तिमीहरूले त्यस सहरको हरेक व्यक्तिलाई मार्नू ।
14तर स्‍त्री, बालबच्‍चा, गाईवस्तु र सहरमा भएका हरेक थोक लुटको मालको रूपमा आफ्नो लागि लैजानू । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट दिनुभएको लुटको माल तिमीहरूले उपभोग गर्नू ।
15तिमीहरूबाट टाढा भएका सबै सहरलाई मात्र तिमीहरूले यसो गर्नू, तिमीहरूले यी जातिहरूका सहरहरूलाई भने त्यसो नगर्नू ।
16परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने यी जातिहरूको सहरहरूमा भने तिमीहरूले सास फेर्ने कसैलाई जीवित नराख्‍नू ।
17बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिमीहरूले हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई पूर्ण रूपमा नष्‍ट गरिदिनू ।
18तिनीहरूले आफ्ना देवताहरूसित गरेका तिनीहरूका घृणित मार्गहरू तिनीहरूले तिमीहरूलाई नसिकाऊन् भन्‍नाका लागि यसो गर्नू । तिनीहरूको मार्ग पछ्यायौ भने तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरका विरुद्धमा पाप गर्ने छौ ।
19कुनै सहरलाई कब्जा गर्न तिमीहरूले त्यसलाई लामो समयसम्म घेर्दा तिमीहरूले बञ्चरोले यसका रुखहरू नकाट्नू । किनकि तिमीहरूले तीबाट खान सक्छौ । त्यसैले, तिनलाई नकाट । किनकि के जङ्गलका रुखहरू जाति हुन् जसलाई तिमीहरू घेरा हाल्छौ ?
20फल दिने रुखहरू होइनन् भनी तिमीहरूले चिनेका रुखहरूलाई मात्र तिमीहरूले काटेर नष्‍ट गर्नू । तिमीहरूसित युद्ध गर्ने सहर पराजित नभएसम्म घेरा हाल्ने काममा ती प्रयोग गर्न सक्छौ ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.