
व्यवस्था 13
पवित्र बाइबल
1तिमीहरूका बिचमा कुनै अगमवक्ता वा स्वप्न-दर्शी देखा परी त्यसले तिमीहरूलाई कुनै चिन्ह वा चमत्कार देखाउन खोज्यो भने
2र त्यसले तिमीहरूलाई भनेको चिन्ह वा चमत्कार घटेपछि 'तिमीहरूले नजानेका अरू देवताहरूलाई पछ्याएर तिनीहरूको पुजा गरौँ' भन्यो भने
3त्यस अगमवक्ता वा स्वप्न-दर्शीको कुरा नसुन्नू । किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सारा हृदय र सारा प्राणले उहाँलाई प्रेम गर्छौ कि गर्दैनौ भनी तिमीहरूको जाँच गर्दै हुनुहुन्छ ।
4तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको पछि लाग्नू; उहाँको आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र उहाँको कुरा सुन्नू र उहाँको आराधना गर्नू अनि उहाँमा टाँसिनू ।
5त्यस अगमवक्ता वा स्वप्न-दर्शीलाई मृत्युदण्ड दिनू किनकि त्यसले तिमीहरूलाई मिश्र देशबाट ल्याउनुहुने र दासत्वको घरबाट छुटकारा दिनुहुने परमप्रभु तिमीहरूका परमेश्वरको विरुद्धमा बोलेको छ । त्यस अगमवक्ताले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई हिँड्न लगाउनुभएको मार्गबाट तिमीहरूलाई तर्काउन चाहन्छ । त्यसैले तिमीहरूका बिचबाट दुष्टतालाई मिल्काइदेओ ।
6मानौँ, तिम्रो आफ्नै दाजुभाइ, वा तिम्रो छोरा वा छोरी वा तिम्री प्यारी पत्नी वा तिम्रो घनिष्ठ साथीले तिमीहरूलाई गोप्य रूपमा फकाएर यसो भन्यो, 'जाऔँ र तिमीहरू वा तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका अन्य देवताहरूको पुजा गरौँ
7अर्थात् तिमीहरूका वरिपरि, तिमीहरूको नजिक वा टाढा वा पृथ्वीको एउटा कुनादेखि अर्को कुनासम्म भएका जातिहरूको कुनै देवताको पुजा गरौँ ।'
8त्यस बेला तिमीहरूले त्यसको कुरा नसुन्नू, त्यसलाई दया देखाउन आफ्ना आँखालाई अनुमति नदिनू, र त्यसलाई नजोगाउनू वा नलुकाउनू ।
9बरु, त्यसलाई निश्चय नै मारिदिनू । त्यसलाई मार्नेमा तेरो हात पहिलो होस् र त्यसपछि अरूहरू तम्सून् ।
10तिमीहरूले त्यसलाई ढुङ्गाले हानेर मार्नू किनकि त्यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरबाट तर्काउन खोजेको छ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याउनुभयो ।
11सारा इस्राएली यो सुनेर डराउने छन्, र तिमीहरूका बिचमा कसैले पनि यस्तो दुष्टता गर्ने छैन ।
12परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई बस्न दिनुहुने कुनै पनि सहरमा
13केही दुष्ट मित्रहरू तिमीहरूबाट तर्केर गई तिमीहरूको सहरका बासिन्दाहरूलाई 'तिमीहरूले नचिनेका अन्य देवताहरूको पुजा गरौँ' भनेको तिमीहरूले सुन्यौ भने
14तिमीहरूले गम्भीर रूपमा साक्षीको जाँच गर्नू; अनुसन्धान गर्नू अनि केरकार गर्नू । तिमीहरूका बिचमा यस्तो घृणित कुरो भएको रहेछ भनी तिमीहरूले पक्का गर्यौ भने तिमीहरूले कारवाही अगाडि बढाउनू ।
15तिमीहरूले तरवारले त्यस सहरका बासिन्दाहरूलाई आक्रमण गरी त्यसलाई पूर्ण रूपमा नष्ट गरिदिनू अनि त्यहाँ भएका सबै मानिसलगायत तिनीहरूका गाईवस्तु सबैलाई तरवारले नष्ट पार्नू ।
16तिमीहरूले लुटका सबै माल सडकको बिचमा जम्मा गरी परमप्रभु तिमीहरूका परमेश्वरको सामु ती मालसमेत सहरलाई जलाइदिनू । त्यो सहर सदाको लागि भग्नावशेषको थुप्रो हुने छ । यसलाई फेरि कहिल्यै पुनर्निर्माण नगरियोस् ।
17विनाशको लागि अलग गरिएको कुनै पनि थोक तिमीहरूको हातमा नहोस् ताकि परमप्रभुको क्रोध शान्त होस् जसले तिमीहरूलाई दया देखाउनुहुन्छ, तिमीहरूलाई टिठ्याउनुहुन्छ र तिमीहरूलाई पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएमुताबिक सङ्ख्यामा वृद्धि गराउनुहुन्छ ।
18आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्न र परमप्रभुको दृष्टिमा जे ठिक छ त्यही गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आवाज सुनेकाले उहाँले यसो गर्नुहुने छ ।
पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.