Joab supporting grieving David as representatives welcome the king near the Jordan

२ शमूएल 19

पवित्र बाइबल
1योआबलाई भनियो, “हेर्नुहोस्, राजाले अब्शालोमको निम्ति रुँदै र विलाप गर्दै छन् ।”
2त्यसैले त्यस दिनको विजय सारा फौजको निम्ति शोकमा परिणत भयो, किनकि फौजले सुने कि, “राजाले आफ्नो छोराको निम्ति विलाप गर्दै छन् ।”
3जसरी युद्ध हारेर लाजमा परेका मानिसहरू युद्धबाट सुटुक्‍क भाग्‍छन्, त्‍यसरी नै त्‍यो दिन सपाहीहरू चुपचाप सुटुक्‍क सहरभित्र पस्‍नुपरेको थियो ।
4राजाले आफ्नो शिर ढाके र ठुलो सोरमा कराए, “ए मेरो छोरा ए अब्शालोम, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा !”
5तब योआब राजाको घरभित्र पसे र उनलाई भने, “आज तपाईंले आफ्नो सारा सिपाहीको मुहार लाजमा पार्नुभएको छ, जसले आज तपाईंको जीवन, तपाईंका छोराहरूका र तपाईंका छोरीहरूका र तपाईंका पत्‍नीहरूका जीवन र तपाईंका उपपत्‍नीहरूका पत्‍नीहरूको जीवन बचाए,
6किनभने जसले तपाईंलाई घृणा गर्छ त्यसलाई तपाईंले प्रेम गर्नुहुन्छ र जसले तपाईंलाई प्रेम गर्छ त्यसलाई तपाईं घृणा गर्नुहुन्छ । किनकि कमाण्‍डरहरू र सिपाहीहरू तपाईंका निम्ति केही होइनन् भन्‍ने कुरा आज तपाईंको देखाउनुभएको छ । आज मलाई विश्‍वास भयो कि अब्शालोम बाँचेको भए र हामी सबै मरेको भए तपाईं खुसी हुनुहुन्थ्यो ।
7यसकारण अब उठ्नुहोस् र बाहिर जानुहोस् र आफ्नो सिपाहीहरूसँग दयापूर्वक कुरा गर्नुहोस्, किनकि म परमप्रभुको नाउँमा शपथ खान्छु, तपाईं जानुभएन भने, आज राती तपाईंसँग एक जना पुरुष पनि रहने छैन । त्यो तपाईंको जवान अवस्थादेखि अहिलेसम्म घटेका सबै भन्दा खराब कुरा हुने छ ।”
8त्यसैले राजा उठे र सहरको ढोकामा बसे, र सबै मानिसलाई यसो भनियो, “हेर, राजा ढोकामा बसेका छन् ।” अनि सबै मानिस राजाको सामु आए । त्‍यति बेला इस्राएलका सबै मानिस भगरे आआफ्ना घरमा गएका थिए ।
9इस्राएलका सारा कुलमा सबै मानिसले यसो भन्‍दै आपसमा बहस गर्दै थिए, “राजाले हामीलाई हाम्रा शत्रुहरूका हातबाट बचाए, र उनले हामीलाई पलिश्‍तीहरूका हातबाट पनि बचाए, तर उनी अहिले अब्शालोमको कारणले देशबाट भागेका छन् ।
10हामीले अभिषेक गरेको अब्शालोम युद्धमा मरेका छन् । त्यसैले राजालाई फिर्ता ल्याउने बारेमा किन तिमीहरू केही बोल्दैनौ?”
11राजाले सादोक र अबियाथार पुजारीहरूलाई यसो भन्‍ने खबर पठाए, “यहूदाका धर्म-गुरुहरूलाई सोध, 'राजालाई उनको दरबारमा फिर्ता ल्याउन सबै इस्राएलको कुरा उनको पक्षमा भएको हुनाले राजालाई उनको दरबारमा ल्याउन तिमीहरू किन अन्तिम हुन्‍छौ?
12तिमीहरू मेरो दाजुभाइ, मेरो मासु र हाड हौ । तब राजालाई फिर्ता ल्याउन तिमीहरू किन अन्तिम हुन्‍छौ?'
13त्यसपछि अमासालाई भन, 'के तिमी मेरो मासु र मेरो हाड होइनौ? आज उप्रान्त तिमी यआबको सट्टामा मेरो फौजको कमाण्‍डर भएनौ भने परमेश्‍वरले मलाई यसै वा योभन्दा बढी गरून्' ।”
14त्यसैले तिनले यहूदाका सबै मानिसका हृदयहरू एक जना मानिसको झैं गरी जिते । तिनीहरूले राजाकहाँ यसो भन्‍ने खबर पठाए, “तपाईं र तपाईंका सबै मानिस फर्कनुहोस् ।”
15त्यसैले राजा फर्के र यर्दनमा आए । अब यहूदाका मानिसहरू गिलगालमा आए अनि राजालाई यर्दन वारि ल्याए ।
16बेन्यामिनी गेराका छोरा शिमी पनि बहूरीमबाट यहूदाका मानिसहरूसँगै हतार-हतार राजालाई भेट्न आए ।
17तिनीसित त्यहाँ बेन्यामीन कुलका मानिसहरू एक हजार जना थिए, र शाऊलका सेवक सीबा, तिनका पन्ध्र जना छोरा र तिनीसँगै बिस जना सेवक थिए ।
18तिनीहरू राजालाई ल्याउन र उनलाई जे असल लाग्छ सो गर्न पारि गए । गेराका छोरा शिमीले यर्दन तर्न सुरु गर्नअगि राजालाई साष्‍टङ्ग दण्‍डवत् गरे ।
19शिमीले राजालाई भने, “मेरो मालिक महाराजाले यरूशलेम छोडेको दिन हजुरका दासले गरेको कुरा मनमा नलिनुहोला वा दोषी नठहराउनुहोला । कृपया, यसलाई राजाले हृदयमा नराख्‍नुहोला ।
20किनकि हजुरको दासले पाप गरेको छ भनी जानेको छ । हेर्नुहोस्, म आज योसेफको सबै कुलबाट मेरो मालिक महाराजालाई भेट्न आउनेमा म पहिलो भएको छु ।”
21तर सरूयाहका छोरा अबीशैले जवाफ दिएर भने, “के शिमीलाई यसको निम्ति मर्नु पर्दैन किनभने त्‍यसले परमप्रभुका अभिषिक्‍तलाई सरापेको छ?”
22तब दाऊदले भने, “ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार, कि तिमीहरू आज मेरो विरोधीहरू हुन्छौ? के आजको दिन इस्राएलमा कुनै मानिसलाई मारिने छ र? किनकि आज म इस्राएलका राजा हुँ भन्‍ने कुरा मलाई थाहा छैन र?”
23त्यसैले राजाले शिमीलाई भने, “तिमी मर्ने छैनौ ।” त्यसैले राजाले शपथसहित तिनलाई प्रतिज्ञा गरे ।
24त्यसपछि शाऊलका नाति मपीबोशेत राजालाई भेट्न तल आए । तिनले राजा गएको दिनदेखि उनी शान्तिसँग घर नफर्केसम्म उनले आफ्नो खुट्टाको नङ्ग काटेका थिएनन्, न दाह्री नै काटे न लुगा नै धोएका थिए ।
25त्यसैले जब तिनी यरूशलेमबाट राजालाई भेट्न आए, राजाले तिनलाई भने, “ए मपीबोशेत, तिमी किन मसँग गएनौ?”
26तिनले जवाफ दिए, “ए मेरो मालिक महाराजा, मेरो सेवकले मलाई धोका दियो, किनकि मैले भनें, 'म गधामा जीन-लगाम लगाउने छु, ताकि म यसमा चढ्न र राजासँग जान सकूँ, किनभने हजुरको सेवक लङ्गडो छ ।'
27म हजुरको सेवकको बारेमा मेरो सेवक सीबाले हजुरसँग निन्दा गरेको छ । तर मेरो मालिक महाराजा स्वर्दूतजस्तो हुनुहुन्छ । यसकारण, तपाईंको दृष्‍टिमा जे असल छ त्यही गर्नुहोस् ।
28किनकि मेरो मालिक राजाको सामु मेरो बुबाको सबै घराना मृत मानिसहरू थिए, तर हजुरले आफ्नो सेवकलाई आफ्नै टेबलमा खानेमध्येको बनाउनुभयो । यसकारण म अझै राजासँग पुकारा गर्नुपर्ने मेरो के अधिकार छ र?”
29तब राजाले तिनलाई भने, “अझ अरू बेलीबिस्‍तार किन गर्नु? तिमी र सीबाले जमिन बाँड्‍नुपर्छ भनी मैले निर्णय गरेको छु ।”
30मपीबोशेतले राजालाई जवाफ दिए, “होस्, त्यसैले सबै लैजाओस्, किनभने मेरो मालिक महाराजा आफ्नो घरमा सुरक्षित आउनुभएको छ ।”
31त्यसपछि रोगेलीमबाट गिलादी बर्जिल्लै तल आए राजासँगै यर्दन तरे र तिनी राजासँगै यर्दन पारि गए ।
32यति बेला बर्जिल्लै धेरै वृद्ध, असी वर्षका भएका थिए । राजा महनोममा बस्‍दा तिनले राजालाई सबै खाद्यन्‍नहरू दिएका उपलब्ध गरेका थिए, किनभने तिनी धेरै धनी मनिस थिए ।
33राजाले बर्जिल्लैलाई भने, “मसँगै आउनुहोस् र मसँग यरूशलेम बस्‍नलाई म तपाईंलाई प्रबन्ध मिलाउने छु ।”
34बर्जिल्लैले राजालाई जवाफ दिए, “मेरो जीवनका वर्षहरूमा कति दिन बाँकी छन् र ताकि म महाराजासँग यरूशलेममा जाऊँ?
35म असी वर्ष भएँ । के म असल र खराब बिच भिन्‍नता छुट्टाउन सक्छु र? के हजुरको सेवकले के खायो र के पियो भनी स्वाद लिन सक्छ र? कै मैले गायक पुरुष र गायक महिलाको सोर अझै सुन्‍न सक्छु र? अनि हजुरको सेवक मेरो मालिक महाराजाको निम्ति किन बोझ बन्‍नु र?
36हजुरको सेवक महाराजासँग यर्दन पारिसम्म मात्र जान चाहन्छ । महाराजाले मलाई किन यस्तो इनाम दिनुहुन्छ?
37कृपया आफ्नो सेवकलाई घर फर्कन दिनुहोस्, ताकि मेरो आफ्नै सहरमा मेरो बुबा र आमाको चिहानको छेउमा म मर्न पाऊँ । तर हेर्नुहोस्, हजुरको सेवक किमहाम छ । मेरो मालिकसँग त्यही नै जाओस् र हजुरलाई जे असल लाग्छ सो त्यसको निम्‍ति गरिदिनुहोस् ।”
38राजाले जवाफ दिए, “किमहाम मसँगै जाने छ, र म त्यसको निम्ति तपाईंलाई जे असल लाग्छ सो म गर्ने छु र तपाईंले मबाट जे इच्छा गर्नुहुन्‍छ सो म तपाईंको निम्ति गर्ने छु ।”
39त्यसपछि सबै मानिसहरूले यर्दन तरे र राजाले पनि यर्दन तरे, अनि राजाले बर्जिल्लैलाई चुम्बन गरेर तिनलाई आशिष् दिए । तब बर्जिल्लै तिनको आफ्नै घरमा फर्के ।
40यसरी राजा पारि गिलगालमा आए र किमहाम उनीसँगै पारि आए । यहूदाका सबै फौज र इस्राएलका आधा फौजले राजालाई लिएर आए ।
41चाँडै इस्राएलका सबै मानिस राजाकहाँ आउन लागे र राजालाई यसो भन्‍न लागे, “हाम्रा दाजुभाइ अर्थात् यहूदाका मानिसहरूले हजुरलाई किन चोरेर लगेका छन्, र महाराजा उहाँका परिवारलाई र दाऊदका सबै मानिसलाई उहाँसँगै यर्दन वारि पुर्‍याएका छन्?”
42त्यसैले यहूदाका मानिसहरूले इस्राएलका मानिसहरूलाई जवाफ दिए, “किनभने राजा हामीसँग अझ धेरै नजिकबाट सम्बन्धित हुनुहुन्‍छ । तब तिमीहरू यसबारे किन रिसाउँछौ? के महाराजाले तिर्नुपर्ने गरी हामीले कुनै कुरा खाएका छौं र? के उहाँले हामीलाई कुनै उपहार दिनुभएको छ र?”
43इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “हामीसँग महाराजासँग सम्बन्धित दश कुल छन्, त्यसैले दाऊदसँग तिमीहरूको भन्दा धेरै अधिकार हामीसित छ । तब तिमीहरूले हामीलाई किन तुच्‍छ ठान्‍यौ? के हाम्रो राजालाई फिर्ता ल्याउने हाम्रो प्रस्ताव पहिले सुनुवाइ हुनुपर्दैनथ्यौ?” तर यहूदाका मानिसहरूका वचनहरू इस्राएलका मानिसहरूका वचनभन्दा धेरै रुखो थियो ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.