Jehoshaphat and Judah praying as singers lead the people toward an abandoned enemy camp

२ इतिहास 20

पवित्र बाइबल
1यसपछि यस्‍तो हुन आयो, मोआब र अम्‍मोनका मानिसहरू र तिनीहरूसँग केही मोनीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए ।
2त्यसपछि केही यहोशापातकहाँ यसो भन्‍दै आए, “मृत-सागर पारि एदोमदेखि एउटा ठुलो भिड तपाईंको विरुद्धमा आइरहेछ । हेर्नहोस्, तिनीहरू हासेसोन-तामार, अर्थात्‌ एन-गदीमा छन् ।”
3यहोशापात डराए र परमप्रभुको खोजी गर्न अलग्‍गै गए । यहूदाभरि तिनले उपवासको घोषणा गरे ।
4परमप्रभुको खोजी गर्न यहूदाका मानिसहरू एकसाथ भेला भए । यहूदाका सबै सहरबाट तिनीहरू परमप्रभुको खोजी गर्न आए ।
5यहूदा र यरूशलेमका सभाको सामु परमप्रभुका मन्‍दिरको नयाँ चोकको अगि यहोशापात खडा भए ।
6तिनले भने, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्‍वर, के तपाईं स्‍वर्गका परमेश्‍वर हुनुहुन्‍न र? के तपाईं जातिहरूका सबै राज्‍यका शासक हुनुहुन्‍न र? शक्ति र बल तपाईंका हातमा छन्‌ । यसैले कसैले पनि तपाईंको विरोध गर्न सक्दैन ।
7हे हाम्रा परमेश्‍वर, के तपाईंले नै आफ्‍नो मानिस इस्राएलका सामुबाट यस देशका बासिन्‍दाहरूलाई धपाउनुभएको र यसलाई सदासर्वदाको निम्ति अब्राहामका सन्‍तानलाई दिनुभएको होइन र?
8तिनीहरू यसमा बसे र यसमा यसो भनेर एउटा पवित्र स्थान बनाए,
9‘हामीमाथि विपत्ति—तरवार, न्याय, वा रोग,वा अनिकाल आउँछ भने— हामी यस मन्‍दिरको अगि र तपाईंको अगि खडा हुने छौं (किनकी तपाईंको नाउँ यस मन्दिरमा छ), र हाम्रो कष्‍टमा हामी तपाईंसित पुकारा गर्ने छौं, र तपाईंले हाम्रा बिन्‍ती सुन्‍नुहुने छ र हामीलाई बचाउनुहुने छ ।'
10अब हेर्नुहोस्, यहाँ अम्मोन, मोआब, र सेइर पर्वतका मानिसहरू छन्, जसलाई तपाईंले मिश्रदेशबाट आउँदा इस्राएललाई आक्रमण गर्न दिनुभएन । बरु, इस्राएल तिनीहरूबाट तर्केर गए र तिनीहरूलाई नष्‍ट गरेनन् ।
11हेर्नुहोस्, यिनीहरूले हामीलाई कस्तो प्रतिफल दिइरहेका छन् । तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको ठाउँदेखि हामीलाई धपाउन तिनीहरू आउँदै छन्‌ ।
12हे हाम्रा परमेश्‍वर, के तपाईं उनीहरूको न्‍याय गर्नुहुन्‍न र? किनकि हाम्रो विरूद्ध आइरहेको यो ठुलो फौज को सामना गर्ने शक्ति हामीसँग छैन । हामीले के गर्नुपर्ने हो सो हामी जान्‍दैनौं, तर हाम्रा दृष्‍टि तपाईंमा छन् ।”
13सारा यहूदा आफ्ना सासाना बालबालिका, पत्‍नीहरू र छोराछोरीसमेत परमप्रभुको अगि खडा भए ।
14तब सभाको बिचमा आसापका छोरामध्येका मत्तन्‍याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्‍मा आउनुभयो ।
15यहासेलले भने, “हे सारा यहूदा र यरूशलेमका सबै बासिन्‍दा र राजा यहोशापात, सुन्‍नुहोस् । परमप्रभु तपाईंहरूलाई यही भन्‍नुहुन्‍छ, ‘नडराओ, यस ठूलो फौजका कारणले हतास नहोओ, किनकि लडाइँ तपाईंहरूको होइन, तर परमप्रभुको हो ।
16तिमीहरू भोलि उनीहरूका विरुद्धमा जानुपर्छ । हेर, उनीहरू जीजको बाटो भएर आउँदैछन् । तिमीहरूले उनीहरूलाई बेसीको पल्लो छेउमा यरूएलको उजाड-स्‍थान अगि भेट्‌ने छौ ।
17यो लडाइँ तिमीहरूले लड्‌नुपर्ने छैन । ए यहूदा र यरूशलेम, आफ्नो पंक्तिमा खडा होओ, स्थिर खडा होओ, र परमप्रभुले तिमीहरूलाई बचाउनुभएको कामलाई हेर । नडराओ, न त हतास होओ । तिनीहरूको विरुद्ध भोलि निस्‍केर जाओ, किनकि परमप्रभु तिमीहरूसँग हुनुहुन्छ ।’”
18यहोशापातले आफ्‍नो शिरलाई भूइँमा घोप्‍टो पारे । यहूदा र यरूशलेमका सबै बासिन्‍दा परमप्रभुको आराधना गर्दै उहाँको सामुन्‍ने घोप्‍टो परे ।
19कहाती र कोरहका वंशका कोही लेवीहरू चर्को सोरमा परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गर्न खडा भए ।
20तिनीहरू बिहान सबेरै उठे र निस्‍केर तकोको उजाड-स्‍थानमा गए । जब तिनीहरू निस्‍केर गए, तब यहोशापात खडा भए र भने, “हे यहूदा र यरूशलेमका बासिन्‍दा हो, मेरो कुरा सुन । परमप्रभु आफ्‍ना परमेश्‍वरमा भरोसा राख र तिमीहरूलाई सहायता मिल्ने छ । उहँका अगमवक्तामाथि भरोसा गर, र तिमीहरू सफल हुने छौ ।”
21मानिसहरूसित सल्‍लाह लिएपछि, परमप्रभुको निम्ति गाउने र उहाँको प्रशंसा गर्नेहरूलाई तिनीहरू हिंड्‍दै गर्दा, उहाँको महान् वैभवताको प्रशंसा गरेर यसो भन्दै गाउनलाई केहीलाई तिनले नियुक्त गरे, “परमप्रभुलाई धन्‍यवाद देओ, किन उहाँको करारको विश्‍वस्‍तात सदासर्वदा रहन्छ ।”
22जब तिनीहरूले गाउन र प्रशंसा गर्न सुरु गरे, तब परमप्रभुले यहूदासँग युद्ध गर्न आइरहेका अम्‍मोनी, मोआबी र सेइर पर्वतका मानिसहरूको विरूद्ध ढुकेर आक्रमण गर्ने मानिसहरू खडा गर्नुभयो । उनीहरू परास्‍त भए ।
23किनकि सेइर पर्वतका मानिसहरूलाई पूर्ण रूपले मारेर सिद्ध्‍याउन र तिनीहरूलाई नाश गर्न भनेर अम्‍मोनी र मोआबीहरू तिनीहरूका विरुद्धमा उठे । जब तिनीहरूले सेइरका बासिन्‍दाहरूलाई नाश गरेर सिद्ध्‍याए, तब तिनीहरू सबैले एक-अर्कालाई नाश गर्न मदत गरे ।
24जब यहूदाका मानिसहरू उजाड-स्‍थान देखिने अल्‍गो ठाउँमा आइपुगे, तब तिनीहरूले फौजलाई हेरे । हेर, तिनीहरू मरेर भूइँमा ढलेका थिए । एक जना पनि बाँचेको थिएन ।
25जब यहोशापात र तिनका मानिसहरू उनीहरूका लूटका माल जम्‍मा गर्न आउँदा, तिनीहरूले उनीहरूका बिचमा प्रशस्त सामानहरू, लुगाफाटा र बहुमूल्‍य थोकहरू भेटाए, जसलाई तिनीहरूले बोक्‍न सक्‍नेभन्‍दा धेरै आफूसँग लगे । लूटका माल ओसार्न तिनीहरूलाई तीन दिन लाग्यो । त्‍यो सह्रै धेरै थियो ।
26चौथो दिन तिनीहरू बराकाहको बेसीमा भेला भए । तिनीहरूले त्‍यहाँ परमप्रभुको प्रशंसा गरे। यसैले त्‍यस ठाउँको नाउँ आजको दिनसम्‍म पनि, ‘बराकाको बेसी’ रहेको छ ।
27त्‍यसपछि यहूदा र यरूशलेमका हरेक मानिस यहोशापातलाई अगि लगाएर विजयको साथ यरूशलेम जानलाई फर्के, किनकि परमप्रभुले तिनीहरूका शत्रुमाथि तिनीहरूलाई आनन्‍दित तुल्‍याउनुभएको थियो ।
28तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा र परमप्रभुको मन्‍दिरमा आए ।
29परमप्रभुले इस्राएलका शत्रुहरूका विरुद्धमा युद्ध गर्नुभएको कुरा सुनेर सबै देशका राज्‍यहरूमा परमेश्‍वरको भय फैलियो ।
30यसरी यहोशापातको राज्‍यमा शान्‍ति भयो, किनकि तिनका परमेश्‍वरले तिनका चारैतिरबाट तिनलाई शान्ति दिनुभयो ।
31यहोशापातले यहूदामाथि राज्‍य गरेः तिनले राज्य गर्न सुरु गर्दा तिनी पैंतिस वर्षका थिए, र तिनले यरूशलेममा पच्‍चिस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अजूबा थियो, र तिनी शिल्‍हीकी छोरी थिइन्‌ ।
32तिनी आफ्‍ना बुबा आसाका चालमा हिंडे । तीबाट तिनी तर्केर गएनन्‌ । परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे ।
33तापनि तिनले डाँडाका थानहरू तिनले हटाएनन् । मानिसहरूले अझैसम्‍म पनि आफ्‍ना पुर्खाहरूका परमेश्‍वरमाथि आफ्‍नो हृदय लाएनन्‌ ।
34यहोशापातको राजकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म नै हनानीका छोरा येहूको इतिहासमा लेखिएका छन्‌, जुन इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌ ।
35त्यसपछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्‍याहसँग मित्रता गरे, जसले धेरै दुष्‍ट काम गरे ।
36तर्शीशमा जाने जहाजहरू बनाउनको निम्ति तिनले उनीसँग मित्रता गरे । तिनीहरूले एस्‍योन-गेबेरमा जहाजहरू बनाए ।
37तब मारेशाका दोदाबाहुका छोरा एलीएजरले यहोशापातको विरुद्धमा अगमवाणी बोले । तिनले भने, “तपाईंले अहज्‍याहसँग मित्रता गर्नुभएको हुनाले, परमप्रभुले तपाईंका योजनाहरू नष्‍ट पार्नुभएको छ ।” ती जहाजहरू नष्‍ट भए ताकि ती तैरन सकेनन् ।'

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.