Samuel addressing Israel’s elders as royal chariots and laborers appear beyond

१ शमूएल 8

पवित्र बाइबल
1जब शमूएल वृद्ध भए, तिनले आफ्ना दुई छोरालाई इस्राएलका न्यायकर्ताहरू बनाए ।
2तिनको जेठा छोराको नाउँ योएल थियो र महिलोको नाउँ अबिया थियो । तिनीहरू बेर्शेबामा न्यायकर्ताहरू थिए ।
3तिनका छोराहरू तिनका मार्गहरूमा हिंडेनन्, तर बेइमानपूर्ण लाभको पछि लागे । तिनीहरूले घूस लिए र न्यायलाई भ्रष्‍ट बनाए ।
4त्यसपछि इस्राएलका सारा धर्म-गुरुहरू भेला भए र रामामा शमूएलकहाँ आए ।
5उनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईं वृद्ध हुनुभयो, र तपाईंका छोराहरू तपाईंका मर्गहरूमा हिंड्दैनन् । सबै जातिझैं हाम्रो न्याय गर्न हाम्रा निम्ति एक जना राजा नियुक्‍त गर्नुहोस् ।”
6तर त्‍यसले शमूएललाई दुःख लाग्‍यो, जब तिनीहरूले भने, “हाम्रो न्याय गर्न हामीलाई एक जना राजा दिनुहोस् ।” त्यसैले शमूएलले परमप्रभुसँग प्रार्थना गरे ।
7परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मानिसहरूले तँलाई भनेका तिनीहरूका सबै कुरा पालन गर् । किनकि तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूमाथि राजा हुनबाट तिनीहरूले मलाई इन्कार गरेका छन् ।
8तिनीहरूले मलाई त्यागेका र अरू देवताहरूको सेवा गरेर मैले तिनीहरूलाई मिश्रबाट ल्याएदेखि गरेजस्तै तिनीहरूले गरिरहेका छन्, र त्यसैले तिनीहरूले तँलाई पनि त्यसै गर्दैछन् ।
9अब तिनीहरूको कुरा सुन । तर तिनीहरूलाई गम्भीरपूर्वक चेताउनी दे र राजाले जसरी तिनीहरूमाथि राज्‍य गर्नेछन्, त्‍यो तिनीहरूले राम्ररी जानून् ।”
10त्यसैले शमूएलले राजाको माग गरिरहेका मानिसहरूलाई परमप्रभुका सबै वचन सुनाए ।
11तिनले भने, “तिमीहरूमाथि राज्‍य गर्ने राजाको प्रचलन यस्तो हुनेछ । उनले तिमीहरूका छोराहरूलाई लानेछन् र आफ्‍ना रथहरूका निम्ति र घोडचढी हुनलाई र आफ्‍ना रथहरूको अगि-अगि दौडनलाई उनले तिनीहरूलाई नियुक्‍त गर्ने छन् ।
12उनले आफ्‍नो निम्ति हजारका कप्‍तानहरू र पचासका कप्‍तानहरू नियुक्‍त गर्नेछन् । कसैलाई आफ्नो जमिन जोत्‍न, कसैलाई आफ्‍नो अन्‍न कटानी गर्न र कसैलाई आफ्नो युद्धको हतियारहरू अनि आफ्ना रथहरूको सरसामान बनाउन लगाउनेछन् ।
13उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खाना बनाउने र रोटी बनाउने हुनलाई लिनेछन् ।
14उनले तिमीहरूका उत्तम खेतहरू, दाखबारीहरू र जैतूनका बगैंचाहरू लिनेछन् र ती आफ्ना सेवकहरूलाई दिनेछन् ।
15उनले तिमीहरूका अन्‍नको र दाखबारीहरूको दशौं भाग लिनेछन् र आफ्ना अधिकारीहरू र आफ्ना सेवकहरूलाई दिनेछन् ।
16उनले तिमीहरूका सेवक-सेविकाहरू, र तिमीहरूका उत्तम जवान पुरुषहरू तथा तिमीहरूका गधाहरू लिनेछन् । तिनीहरू सबैलाई उनले आफ्‍नो काममा लगाउनेछन् ।
17उनले तिमीहरूका बगालहरूको दशौं भाग लिनेछन्, र तिमीहरू उनका दासहरू हुनेछौ ।
18त्यसपछि त्‍यो दिन आफ्नो निम्ति छानेका तिमीहरूका राजाको कारणले तिमीहरूले पुकारा गर्नेछौ । तर परमप्रभुले त्यो दिनमा तिमीहरूलाई जवाफ दिनुहुनेछैन ।”
19तर मानिसहरूले शमूएलको कुरा सुन्‍न इन्कार गरे । तिनीहरूले भने, “होइन, हामीमाथि एक जना राजा हुनैपर्छ ।
20ताकि हामी अरू जातिहरूजस्तै हुन सक्‍नेछौं, अनि यसरी हाम्रा राजाले हाम्रो न्याय गर्नेछन् र हाम्रो निम्ति युद्ध गर्न हाम्रो अगि-अगि जानेछन् ।”
21जब शमूएलले मानिसहरूको सबै कुरा सुने, तब तिनले ती परमप्रभुले सुन्‍ने गरी दोहोर्‍याए ।
22परमप्रभुले शमूएललाई भन्‍नुभयो, “तिनीहरूका कुरा पालन गर् र कसैलाई तिनीहरूका राजा बना ।” त्यसैले शमूएलले इस्राएलका मानिसहरूलाई भने, “हरेक मानिस आ-आफ्नो सहर जानुपर्छ ।”

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.