David quietly cutting a corner from Saul’s robe inside the cave at En-gedi

१ शमूएल 24

पवित्र बाइबल
1जब पलिश्‍तीहरूलाई लखेटेर शाऊल फर्के, तब तिनलाई भनियो, “दाऊद एन-गदीको उजाड-स्‍थानमा छन् ।”
2त्यसपछि शाऊलले सबै इस्राएलबाट तिन हजार मानिसहरू छानेर लिए र दाऊद अनि तिनका मानिसहरूलाई खोज्‍न घोरलको चट्टानमा गए ।
3तिनी बाटोमा भेडा-गोठहरूमा आए जहाँ एउटा गुफा थियो । शाऊल दिसा गर्न भित्र गए । दाऊद र तिनका मानिसहरू गुफाको पल्लो कुनामा बसिरहेका थिए ।
4दाऊदका मानिसहरूले तिनलाई भने, “तैंले जे चाहन्छस् सो गर्न, म तेरो शत्रुलाई तेरो हातमा सुम्‍पने छु' भनी परमप्रभुले तपाईंलाई भन्‍नुभएको दिन यही हो ।” अनि दऊद उठे र बिस्तारै अगि बढे र शाऊलको वस्‍त्रको छेउ काटे ।
5पछि दाऊदको हृदयमा कष्‍ट भयो किनभने तिनले शाऊलको वस्‍त्रको छेउ काटेका थिए ।
6तिनले आफ्ना मानिसहरूलाई भने, “परमप्रभुका अभिषिक्‍त जन, उहाँ परमप्रभुका अभिषिक्‍त जन भनी देखेर पनि उहाँको विरुद्धमा मैले हात उठाउने कुरालाई परमप्रभुले नै रोक्‍नुभएको होस् ।”
7त्यसैले दाऊदले आफ्ना मानिसहरूलाई यी कुराहरू भनेर हप्‍काए र शाऊललाई आक्रमण गर्न तिनीहरूलाई अनुमति दिएनन् । शाऊल उठे, गुफाबाट बाहिर निस्के र आफ्नो बाटो लागे ।
8पछि दाऊद पनि उठे, गुफा बाहिर गए र शाऊललाई कराएर भनेः “हे मेरो मालिक महाराजा ।” जब शाऊलले पछाडी फर्केर हेरे, दाऊद भुइँमा घोप्टो परे र उनलाई आदर गरे ।
9दाऊदले शाऊललाई भने, “'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्‍ने मानिसहरूको कुरा तपाईंले किन सुन्‍नुहुन्छ?
10तपाईं गुफामा हुनुहुँदा परमप्रभुले तपाईंलाई मेरो हातमा सुम्पनुभएको कुरा आज तपाईंले आफ्नै आँखाले देख्‍नुभएको छ । तपाईंलाई मार्न कसैले मलाई भने, तर मैले तपाईंलाई बचाएँ । मैले भने, 'म मेरो मालिकको विरुद्धमा हात उठाउँदिनँ । किनकि उहाँ परमप्रभुको अभिषिक्‍त जन हुनुहुन्छ ।'
11हेर्नुहोस् हे मेरा पिता, तपाईंको वस्‍त्रको छेउ मेरो हातमा हेर्नुहोस् । तपाईंको वस्‍त्रको छेउ मैले काटेको र मैले तपाईंलाई नमारेको कुराले, मेरो हातमा कुनै खराबी वा देशद्रोह छैन, र मैले तपाईंको विरुद्धमा पाप गरेको छैन, तापनि तपाईंले मेरो ज्यान लिन खोज्‍नुहुन्छ ।
12तपाईं र मेरो बिचमा परमप्रभुले नै न्याय गर्नुभएको होस् र तपाईंको विरुद्धमा म भए परमप्रभुले नै बद्‍ला लिनुभएको होस्, तर मेरो हात तपाईंको विरुद्ध हुनेछैन ।
13जस्‍तो पुरानो उखान छ, 'दुष्‍टबाट नै दुष्‍टता निस्‍कन्‍छ ।' तर मेरा हात तपाईंको विरुद्धमा हुनेछैन ।
14इस्राएलका राजा कसको पछि आएका छन्? कसलाई तपाईंले खेद्‍दै हुनुहुन्छ? एउटा मरेको कुकुरलाई होइन र! एउटा उपियाँलाई होइन र!
15परमप्रभु नै न्यायकर्ता हुनुभएको होस् र तपाईं र मेरो बिचमा फैसला गर्नुभएको होस्, र यो हेर्नुभएको होस्, मेरो पक्षमा वहस गर्नुभएको होस् र तपाईंको हातबाट उम्कन मलाई अनुमति दिनुभएको होस् ।
16जब दाऊदले यी कुराहरू शाऊललाई भनिसकेका थिए, तब शाऊलले भने, “मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?” शाऊलले डाँको छोडेर रोए ।
17तिनले दाऊदलाई भने, “मभन्दा तिमी धेरै धर्मी रहेछौ । किनकि तिमीले मलाई असल कुराले बदला लिएका छौ भने, मैले तिमीलाई खराब कुराले बदला लिएको छु ।
18तिमीले मप्रति कति असल गरेका छौ भनी तिमीले आज घोषणा गरेका छौ, किनकि परमप्रभुले मलाई तिम्रो कृपामा छोड्नुहुँदा पनि तिमीले मलाई मारेनौ ।
19किनकि कुनै मानिसले आफ्नो शत्रुलाई भेट्टायो भने, के त्‍यसलाई उसले सुरक्षित साथ जान दिनेछ र? तिमीले आज मेरो निम्ति जे गरेका छौ त्यसको निम्ति परमप्रभुले तिमीलाई असल इनाम दिनुभएको होस् ।
20अब मलाई थाहा भयो कि तिमी साँच्‍चै नै राजा हुनेछौ र इस्राएलको राज्य तिम्रै हातमा स्थापित हुनेछ ।
21तिमीले मपछिका मेरा सन्तानहरूलाई खत्तम पार्नेछैनौ र मेरो पिताको घरानाबाट मेरो नाउँ नाश पार्नेछैनौ भनी मसँग परमप्रभुको नाउँमा शपथ खाऊ ।
22त्यसैले दाऊदले शाऊलसित शपथ खाए । अनि शाऊल घर गए, तर दाऊद र तिनका मानिसहरू माथि किल्लामा गए ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.