David praying over generous temple offerings while Solomon stands before the assembly

१ इतिहास 29

पवित्र बाइबल
1राजा दाऊदले सारा सभालाई भने, “परमेश्‍वरले चुन्‍नुभएको मेरा छोरो सोलोमन अहिले पनि सानै छ र कामचाहिं महान्‌ छ । किनकि यो मन्‍दिर मानिसहरूका निम्‍ति होइन तर परमप्रभु परमेश्‍वरको निम्‍ति हो ।
2यसैले मेरा परमेश्‍वरको मन्दिरको निम्ति सामाग्री जुटाउन मैले सकेसम्‍म प्रयास गरेको छु । सुनबाट बनाइने कुराहरूका निम्ति सुन, चाँदीबाट बनाइने कुराहरूका निम्ति चाँदी, काँसाबाट बनाइने कुराहरूका निम्ति काँसा, फलामबाट बनाइने कुराहरूका निम्ति फलाम, र काठबाट बनाइने कुराहरूका निम्ति काठ म दिंदैछु । पत्थरको कामको निम्‍ति आनिक्‍स, फिरोजा, विभिन्‍न रङ्गका पत्‍थरहरू— सबै किसिमका बहुमूल्‍य पत्‍थरहरू पनि म प्रशस्‍त मात्रामा दिंदैछु ।
3अब, मेरा परमेश्‍वरको मन्‍दिरमा मेरो आनन्दको कारणले यसको निम्‍ति आफ्‍नो निजी भण्‍डारबाट सुन र चाँदी म दिंदैछु । यस पवित्र मन्‍दिरको निम्‍ति मैले तयार गरेका सबै कुराहरूमा अरू थपः
4ओपिरको सुन तिन हजार तोडा र भित्तामा जलप लागाउनका निम्ति सात हजार तोडा निखुर चाँदी म दिंदैछु ।
5सुनबाट बनाउने कुराहरूका निम्‍ति सुन र चाँदीबाट बनाउने कुराहरूका निम्‍ति चाँदी, र अनि निपुण कारीगरले गर्ने कामलाई चाहिने सबै किसिमका कुराहरू म दिंदैछु । आज परमप्रभुलाई योगदान गर्न र आफैलाई उहाँमा अर्पण गर्न इच्‍छा गर्ने अरू कोही छ?”
6तब आफ्ना पुर्खाहरूका परिवारका अगुवाहरू, इस्राएलका कुलहरूका अगुवाहरू, हजार र सयका कमाण्‍डरहरू र राजाका सेवाको जिम्‍मामा रहेका अधिकारीहरूले स्‍वइच्‍छा भेटी चढाए ।
7तिनीहरूले परमेश्‍वरको मन्‍दिरको सेवाको निम्ति पाँच हजार तोडा र असी किलोग्राम सुन, दस हजार तोडा चाँदी, अठार हजार तोडा काँसो र एक लाख तोडा फलाम दिए ।
8बहुमूल्‍या रत्‍नहरू आफूसँग भएकाहरूले ती गेर्शोनका सन्‍तान यहीएलको जिम्‍मामा परमप्रभुको मन्‍दिरका भण्‍डारको निम्‍ति दिए ।
9यी स्‍वइच्‍छा भेटीका कारणले मानिसहरूले आनन्‍द मनाए, किनभने तिनीहरूले सम्‍पूर्ण हृदयले परमप्रभुको निम्‍ति दिएका थिए । दाऊद राजा पनि साह्रै आनन्‍दित भए ।
10दाऊदले सबै सभाको उपस्‍थितिमा परमप्रभुलाई धन्‍यवाद दिए । तिनले भने, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्‍वर, सदासर्वदा तपाईंको प्रशंसा होस्‌ ।
11हे परमप्रभु, महान्‌ता, शक्ति, महिमा, विजय र ऐश्‍वर्य तपाईंकै हुन् । किनकि आकाश र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌ । हे परमप्रभु, राज्‍य तपाईंकै हो, र तपाईं नै सबैभन्दा माथिको शासकको रूपमा उच्‍च पारिनुभएको छ ।
12धन र मान दुबै तपाईंबाट नै आउँछन्‌, र तपाईंले सबै मानिसमाथि राज्‍य गर्नुहुन्‍छ । पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन् । मानिसहरूलाई उच्‍च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्‌ ।
13अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्छौं ।
14तर म को हुँ, र मेरा मानिसहरू को हुन् र हामीले स्‍वइच्‍छाले यी कुराहरू दिन सक्‍छौं? वास्तवमा सबै कुरा तपाईंबाटै आउँछन्, र तपाईंका जे हुन् ती तपाईंलाई हामीले फिर्ता दिएका मात्रै हौं ।
15किनकि तपाईंको सामु हामी परदेशी र घुमन्‍तेहरू हौं । हाम्रा सबै पुर्खाहरू पनि त्‍यस्‍तै थिए । पृथ्‍वीमा हाम्रा दिन छायाजस्‍तो हो र पृथ्वीमा रहिरहने आशा छँदैछैन ।
16हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंको पवित्र नाउँका सम्‍मान गर्न मन्‍दिर बनाउन हामीले जम्‍मा गरेका यी सबै धन तपाईंबाट नै आउँछन्, र तपाईंकै हुन्‌ ।
17हे मेरा परमेश्‍वर, म यो पनि जान्‍दछु कि तपाईंले हृदयको जाँच गर्नुहुन्‍छ, र सोझोपनामा खुशी हुनुहुन्‍छ । मेरो बारेमा,मेरो हृदयको सोझोपनामा मैले स्‍वइच्‍छाले यी सबै कुराहरू तपाईंमा चढाएको छु, र यहाँ उपस्‍थित तपाईंका मानिसहरूले स्‍वइच्‍छाले चढाएको कुरा देखेर म आनन्दित भएको छु ।
18हे परमप्रभु, हाम्रा पुर्खा अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर, यस्तो विचारको मन तपाईंका मानिसहरूमा सधैंभरि रहोस् । तिनीहरूका हृदयलाई तपाईंतिर लगाउनुहोस् ।
19मेरा छोरा सोलोमनलाई तपाईंका आज्ञाहरू, तपाईंका धार्मिक नियमहरू र तपाईंका विधिहरू भक्तिसाथ पालन र मैले जुटाएका कुराले एउटा स्‍थान बनाउने योजना पुरा गर्न सम्‍पूर्ण हृदयको इच्छा दिनुहोस् ।”
20दाऊदले सम्‍पूर्ण सभालाई भने, “अब परमप्रभु आफ्‍ना परमेश्‍वरलाई धन्‍यवाद देओ ।” सम्‍पूर्ण समुदायले आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई धन्‍यवाद दिए, आफ्ना शिर निहुराएर परमप्रभुको आराधना गरे र राजाको सामु घोप्‍टो परेर दण्‍डवत्‌ गरे ।
21भोलिपल्‍ट तिनीहरूले परमप्रभुको निम्‍ति बलिदान गरे, र उहाँलाई होमबलि चढाए । तिनीहरूले एक हजार साँढे, एक हजार भेडा, एक हजार थुमा, र तिनका साथै आफ्‍ना अर्घबलि र सबै इस्राएलको निम्‍ति अरू प्रशस्‍त बलिदान चढाए ।
22त्‍यो दिनमा, तिनीहरूले ठुलो उत्‍सव मनाउँदै परमप्रभुको सामु त्‍यस दिन खाए र पिए । तिनीहरूले दोस्रो पटक दाऊदका छोरा सोलोमनलाई राजा बनाए, र परमप्रभुको अधिकारमा तिनलाई राजा अभिषेक गरे । तिनीहरूले सादोकलाई पूजाहारी अभिषेक पनि गरे ।
23त्यसपछि सोलोमन आफ्‍ना पिता दाऊदको सट्टा परमप्रभुको सिंहासनमा राजा भएर बसे । तिनको उन्‍नति भयो र सबै इस्राएलले तिनको हुकुम पालन गरे ।
24सबै अगुवाहरू, सेनाहरू, र दाऊद राजाका सबै छोराहरूले पनि सोलोमन राजालाई आफ्‍नो राजभक्ति देखाए ।
25सारा इस्राएलका नजरमा परमप्रभुले सोलोमनलाई सम्मानित तुल्याउनुभयो र तिनी अघिका इस्राएलका राजाको भन्‍दा महान् शक्ति उहाँले तिनलाई दिनुभयो ।
26यिशैका छोरा दाऊदले सारा इस्राएलमाथि राज्‍य गरे ।
27दाऊदले इस्राएलमाथि चालिस वर्षसम्म राज्‍य गरे । तिनले हेब्रोनमा सात वर्ष र यरूशलेममा तेत्तिस वर्ष राज्‍य गरे ।
28तिनी दिर्घ जीवन, धन-सम्‍पत्ति र मानमा आनन्द भई वृद्धावस्‍थामा मरे । तिनीपछि तिनका छोरा सोलोमन राजा भए ।
29शमूएल अगमवक्ताको इतिहास, नतान अगमवक्ता इतिहास र गाद अगमवक्ताका इतिहासमा दाऊद राजाका उपलब्धिहरूका बारेमा लेखिएका छन् ।
30त्यहाँ तिनको शासनको समयका कामहरू, तिनका उपलब्धिहरू र तिनलाई असर पारेका घटनाहरू, इस्राएल, र अन्य देशका राज्यहरूको बारेमा त्‍यहाँ लेखिएका छन् ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.