
जकरिया 2
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1त्यसपछि मैले माथि हेरेँ, र त्यहाँ मेरो अगाडि आफ्नो हातमा एउटा नाप्ने डोरी लिएका एक जना मानिस थिए!
2मैले सोधेँ, “तपाईं कहाँ जाँदैहुनुहुन्छ?” तिनले जवाफ दिए, “यरूशलेमलाई नाप्न, त्यसको लम्बाइ र चौडाइ कति रहेछ, सो हेर्न जाँदैछु।”
3जब मसँग कुरा गरिरहेका स्वर्गदूत जाँदैथिए, र अर्को स्वर्गदूत तिनलाई भेट्न आए,
4अनि तिनलाई भने: “कुदेर जा, र त्यस जवान मानिसलाई भन्, ‘धेरैको संख्यामा मानिसहरू र गाईबस्तुहरू भएको कारण यरूशलेम पर्खाल नभएको सहर हुनेछ।
5अनि म आफैँ नै त्यस सहरको चारैतिर आगोको पर्खाल हुनेछु,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘अनि म त्यस भित्रको महिमा हुनेछु।’
6“आओ! आओ! उत्तरको देशबाट भागिहाल,” याहवेह घोषणा गर्नुहुन्छ, “किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासतिर तितरबितर पारिदिएको छु,” याहवेह घोषणा गर्नुहुन्छ।
7“हे सियोन, आइज! तँ जो बेबिलोनकी छोरीकहाँ बस्छेस्, भाग्!”
8किनकि सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “त्यसपछि महिमित एक जनाले मलाई तिमीहरूलाई लुटपाट गर्ने राष्ट्रको विरुद्धमा पठाउनुभयो—किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले उहाँको आँखाको नानीलाई छुन्छ—
9म निश्चय नै आफ्नो हात तिनीहरूको विरुद्धमा उठाउनेछु, ताकि तिनीहरूका दासहरूले तिनीहरूलाई लुटपाट गरून्। त्यसपछि तिमीहरूले जान्नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई पठाउनुभएको हो।
10“हे सियोनकी छोरी, चर्कोगरी करा र आनन्दित हो; किनकि म आउँदैछु, र म तिमीहरूको बीचमा बसोबास गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
11“त्यस दिन धेरै राष्ट्रहरू याहवेहसँग मिल्न आउनेछन् र मेरा मानिसहरू हुनेछन्। म तिमीहरूका बीचमा रहनेछु र तिमीहरूले जान्नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।
12याहवेहले यहूदालाई पवित्र देशमा आफ्नो भागझैँ उत्तराधिकार बनाउनुहुनेछ, र यरूशलेमलाई फेरि चुन्नुहुनेछ।
13हे सबै मानव-जाति हो, याहवेहको सामु चुपचाप रहो; किनकि उहाँ आफ्नो पवित्र वासस्थानबाट आउँदैहुनुहुन्छ।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.