Humble worshipers rejoice beside a steady pillar while proud rulers face a dark cup of judgment

भजनसंग्रह 75

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1हे परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ; किनकि तपाईंको नाम नजिकै छ; मानिसहरूले तपाईंका अचम्मका कामहरूको वर्णन गर्दछन्।
2तपाईं भन्‍नुहुन्छ, “मैले उचित समय ठहराएको छु; मैले नै निष्पक्षतासाथ न्याय गर्दछु।
3जब पृथ्वीमा भुइँचालो जान्छ र मानिसहरू काम्छन्, त्यसका खम्बाहरूलाई स्थिर गरी थामिराख्ने म नै हुँ। सेला
4घमण्डीहरूलाई म भन्दछु, ‘घमण्ड नगर,’ र दुष्‍ट मानिसहरूलाई भन्दछु, ‘तिमीहरूका सिङ नउठाओ,
5स्वर्गको विरुद्धमा तिमीहरूको सिङ नउठाओ; मुन्टो बटारेर घमण्डसाथ नबोल।’ ”
6किनकि विजय पूर्वबाट वा पश्‍चिमबाट वा मरुभूमिबाट आउँदैन।
7परमेश्‍वरले न्याय गर्नुहुन्छ: उहाँले कसैलाई होच्याउनुहुन्छ, र कसैलाई उच्‍च पार्नुहुन्छ,
8याहवेहको हातमा एउटा कचौरा छ, जसमा मसाला मिसिएको फीँज भएको मद्य छ; उहाँले त्यो खन्याउनुहुन्छ, र पृथ्वीका सबै दुष्‍टहरूले मद्यको थिग्रासम्मै पिउँछन्।
9तर मचाहिँ सदाकाल यही कुरा घोषणा गर्नेछु; म याकोबका परमेश्‍वरको प्रशंसा गाउनेछु,
10जसले भन्‍नुहुन्छ, “म सबै दुष्‍टहरूका सिङहरू काटिदिनेछु; तर धर्मी जनहरूका सिङचाहिँ उच्‍च पारिनेछन्।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.