
भजनसंग्रह 61
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1हे परमेश्वर, मेरो पुकार सुन्नुहोस्; मेरो प्रार्थना सुनिदिनुहोस्।
2जब मेरो हृदय धेरै व्याकुल हुन्छ, तब म पृथ्वीको छेउदेखि तपाईंलाई पुकार्दछु; मभन्दा धेरै अग्लो चट्टानमा मलाई लैजानुहोस्।
3किनकि तपाईं मेरा लागि शरणस्थान हुनुहुन्छ, तपाईं मेरा वैरीका विरुद्धमा एक बलियो धरहरा हुनुहुन्छ।
4तपाईंको पालमा सदासर्वदा रहिरहन, र तपाईंको पखेटामुनि शरण लिन पाऊँ भन्ने मेरो चाहना छ। सेला
5किनकि हे परमेश्वर, तपाईंले मेरा भाकलहरू सुन्नुभएको छ; तपाईंको नामको भय मान्नेहरूका उत्तराधिकार मलाई दिनुभएको छ।
6राजाको आयु बढाइदिनुहोस्; पुस्तौँसम्म उनको आयु बढाउनुहोस्।
7उनी परमेश्वरको उपस्थितिमा सदासर्वदा राज गरून्; तपाईंको अचुक प्रेम र विश्वासयोग्यताले उनको सुरक्षा गर्नुहोस्!
8तब म यसरी सदासर्वदा तपाईंको नामको स्तुतिगान गाउनेछु र प्रत्येक दिन मेरा भाकलहरू पूरा गर्नेछु।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.