A just king welcomes a richly dressed bride at an ancient royal wedding celebration

भजनसंग्रह 45

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1जब म राजाको निम्ति गीत गाउँदछु; सुन्दर विचारहरूले मेरो हृदय भरिन्छ; मेरो जिब्रो सिपालु लेखकको कलम हुन्छ।
2तपाईं पुरुषहरूमध्ये सर्वश्रेष्‍ठ हुनुहुन्छ; र तपाईंका ओठहरू अनुग्रहले अभिषिक्त छन्; किनकि परमेश्‍वरले तपाईंलाई सदाकालको निम्ति आशिष् दिनुभएको छ।
3हे परमवीर योद्धा, तपाईंको कम्मरमा आफ्नो तरवार भिर्नुहोस्; प्रताप र वैभव धारण गर्नुहोस्।
4तपाईंको वैभवमा विजयका साथ सवार हुनुहोस्; सत्यता, नम्रता र धार्मिकताको पक्षमा तपाईंको सवारी होस्; तपाईंको दाहिने बाहुलीले अचम्मका कामहरू गरोस्।
5तपाईंका तीखा काँडहरूले राजाका शत्रुहरूका हृदय छेडिओस्; राष्ट्रहरू तपाईंको चरणमा झुकून्।
6हे परमेश्‍वर, तपाईंको सिंहासन सदाको निम्ति रहनेछ; न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हुनेछ।
7तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्‍टतालाई घृणा गर्नुहुन्छ; यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई तपाईंका सङ्गीहरूभन्दा उच्‍च पार्नुभएको छ र हर्षको तेलले अभिषेक गर्नुभएको छ।
8तपाईंका सबै कपडाहरू मूर्र, चन्दन, तेजपातको सुवास्‍नाले सुगन्धित छन्; हस्तीदन्तले सिँगारिएका राजमहलबाट तारको सुरिलो सङ्गीतले तपाईंलाई हर्षित तुल्याउँछ।
9तपाईंका सम्मानित स्त्रीहरूमा राजकुमारीहरू छन्; तपाईंको दाहिने हातपट्टि ओपीरका निखुर सुनले सुसज्जित भएकी राजकीय दुलही छिन्।
10हे कुमारी, सुन, ध्यान देऊ र विचार गर: तिम्रा मानिसहरू र आफ्नो पिताको घरलाई पनि बिर्स!
11तिम्रो सुन्दरताले राजा मोहित होऊन्; उहाँको आदर गर; किनकि उहाँ तिम्रा मालिक हुन्।
12टायरकी छोरीहरू उपहार लिएर आउनेछन्; धनी मानिसहरूले तिम्रो कृपादृष्‍टि खोज्नेछन्।
13राजकुमारी राजमहलमा ऐश्‍वर्यमयी छिन्; तिनको वस्त्र सुनले जडिएको छ।
14तिनी बुट्टेदार पोशाकमा राजाकहाँ पुर्‍याइन्छिन्; तिनका कुमारी साथीहरूले तिनलाई पछ्याउँछन्, जो तिनीसँगै रहनलाई ल्याइन्छन्।
15हर्ष र आनन्दका साथ डोर्‍याइँदै, तिनीहरू राजाको महलभित्र प्रवेश गर्दछन्।
16तपाईंका पुर्खाहरूको स्थानमा तपाईंका छोराहरू हुनेछन्; तपाईंले तिनीहरूलाई सारा पृथ्वीमा राजकुमार बनाउनुहुनेछ।
17म तपाईंको नामलाई पुस्तौँ-पुस्तासम्म कायम राख्नेछु; यसकारण राष्ट्रहरूले तपाईंको प्रशंसा सदासर्वदा गर्नेछन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.