A sick remorseful man bows apart from distant friends as an elder approaches to help

भजनसंग्रह 38

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1हे याहवेह, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्; वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस्।
2किनकि तपाईंका काँडहरूले मलाई घोचेका छन्, र तपाईंको हात ममाथि परेको छ।
3तपाईंको क्रोधले गर्दा मेरो शरीर तन्दुरुस्त छैन; मेरा पापको कारणले गर्दा मेरा हाडहरू स्वस्थ छैनन्।
4मेरा अधर्महरूले मलाई ढाकिसकेको छ, बोक्न नसक्ने भारीझैँ ती धेरै गह्रौँ भएका छन्।
5मेरो पापमय मूर्खताको कारणले गर्दा, मेरा घाउहरू दुर्गन्धित भएका छन्, र सडिसकेका छन्।
6म झुकेर धुलैमा मिलिसकेको छु; सारा दिन म विलाप गर्दै हिँड्छु।
7मेरो ढाड जलनको पीडाले भरिएको छ; मेरो शरीर स्वस्थ छैन।
8म दुर्बल भएको छु, र पूर्ण रूपले टुटेको छु; हृदयको पीडामा म कहालिन्छु।
9हे प्रभु, मेरा सबै इच्छा तपाईंको अगि खुलस्त छन्; मेरा सुस्केरा तपाईंबाट लुकेको छैन।
10मेरो मुटु छिटो-छिटो धड्कन्छ; मेरो बलले भ्याउँदैन; मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ।
11मेरा मित्रहरू, र सङ्गीहरू मेरा घाउहरूका कारणले गर्दा मबाट अलग बस्छन्; मेरा छिमेकीहरू टाढै उभिन्छन्।
12मेरो प्राण लिन खोज्नेहरूले पासो थाप्छन्; मेरो हानि खोज्नेहरूले मेरो विनाशको कुरा गर्छन्; दिनभरि छली योजना रच्दछन्।
13म त बहिरो मानिसझैँ भएको छु, जसले सुन्‍न सक्दैन; बोल्नै नसक्ने मानिसझैँ म लाटो भएको छु;
14सुन्‍न नसक्ने मानिसजस्तै म भएको छु, जसको मुखले जवाफै दिन सक्दैन।
15हे याहवेह, म तपाईंकै प्रतीक्षा गर्दछु; हे प्रभु, मेरा परमेश्‍वर, तपाईंले जवाफ दिनुहुनेछ।
16किनकि मैले भनेँ, “तिनीहरूले मेरो उपहास गर्न नपाऊन्, वा मेरो गोडा चिप्लँदा तिनीहरूले घमण्ड गर्न नपाऊन्।”
17किनकि म त ढल्नै लागेको छु; र मेरो पीडा सधैँ मसँग छ।
18मेरो अधर्म म स्वीकार गर्दछु; मेरो पापको कारण म दुःखित छु।
19कारणविना मेरा शत्रुहरू धेरै भएका छन्; कारणविना मलाई घृणा गर्नेहरू धेरै छन्।
20मेरो भलाइको साटो खराबी गर्दछन्, मैले तिनीहरूको केवल भलाइ गर्न खोज्दा पनि मेरो विरुद्धमा दोष लगाउँछन्।
21हे याहवेह, मलाई नत्याग्नुहोस्; हे मेरा परमेश्‍वर, मबाट टाढा नहुनुहोस्!
22हे प्रभु, मेरा मुक्तिदाता, मलाई सहायता गर्न चाँडै आउनुहोस्!

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.