A violent thunderstorm breaks a cedar as worshipers watch safely from a stone sanctuary

भजनसंग्रह 29

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1हे स्वर्गदूतहरू हो, याहवेहको गुणगान गर। याहवेहलाई महिमा र शक्तिको श्रेय देओ।
2याहवेहलाई उहाँको नाम अनुसारको महिमा देओ; याहवेहलाई उहाँको पवित्रतामा सुशोभित भएर आराधना गर।
3याहवेहको आवाज पानीहरूमाथि प्रतिध्वनि हुँदछ; महिमाका परमेश्‍वर गर्जनुहुन्छ; याहवेह शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्छ।
4याहवेहको आवाज शक्तिशाली छ; याहवेहको आवाज प्रतापी छ।
5याहवेहको आवाजले देवदारुका काठहरू भाँचिन्छन्; याहवेहले लेबनानका देवदारुका काठहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ।
6उहाँले लेबनानलाई एउटा बाछाझैँ, र सिरिओनलाई जवान जङ्गली साँढेझैँ उफ्रन लगाउनुहुन्छ।
7याहवेहको आवाजले बिजुलीका चमकझैँ प्रहार गर्छ।
8याहवेहको आवाजले मरुभूमिलाई हल्‍लाउँदछ; याहवेहले कादेशको मरुभूमिलाई थर्कमान पार्नुहुन्छ।
9याहवेहको आवाजले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्छ, र जङ्गललाई लाछलुछ पारेर उजाड पारिदिन्छ। उहाँको भवनमा सबै जना “महिमा!” भन्दै कराउँछन्।
10याहवेह बाढी माथिको सिंहासनमा विराजमान हुनुहुन्छ; याहवेह राजा भई सदासर्वदै सिंहासनमा विराजमान हुनुहुन्छ।
11याहवेहले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ; याहवेहले आफ्ना मानिसहरूलाई शान्तिको आशिष् दिनुहुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.