A worshiper washes at a bronze basin while corrupt dealings remain outside a joyful gathering

भजनसंग्रह 26

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1हे याहवेह, मलाई निर्दोष प्रमाणित गर्नुहोस्; किनकि मैले दोषरहित जीवन जिएको छु; ढलपल नभइकन मैले याहवेहमा भरोसा राखेको छु।
2हे याहवेह, मलाई जाँच्नुहोस्; र मेरो पारख गर्नुहोस्। मेरो हृदय र मन जाँचेर हेर्नुहोस्;
3किनकि तपाईंको अचुक प्रेम सधैँ मेरो सामु छ; र म तपाईंको विश्‍वासयोग्यतामा हिँडेको छु।
4म छली मानिसहरूसँग बस्दिनँ, न त पाखण्डीहरूसँग म सङ्गत गर्छु।
5कुकर्मीहरूको झुण्डलाई म घृणा गर्दछु; म दुष्‍ट काम गर्नेहरूसँग बस्‍न इन्कार गर्दछु।
6हे याहवेह, म आफ्ना हात निर्दोषतामा धुन्छु, र तपाईंका वेदीको परिक्रमा गर्दछु।
7उच्‍च सोरले म तपाईंको प्रशंसाको घोषणा गर्दछु, र म तपाईंका सबै अचम्मका कामहरूको वर्णन गर्दछु।
8हे याहवेह, तपाईंको वासस्थान, र तपाईंको महिमा रहने ठाउँलाई म प्रेम गर्दछु।
9पापीहरूसँग मेरो प्राण, रक्तपिपासुहरूसँग मेरो जीवन नलिनुहोस्;
10जसका हातहरू दुष्‍ट योजनाहरूले भरिएका छन्, र जसका दाहिने हात घूसले भरिएका छन्।
11तर म त निर्दोष जीवन जिउँछु; मेरो उद्धार गर्नुहोस् र ममाथि कृपालु हुनुहोस्।
12मेरा खुट्टाहरू समतल ठाउँमा खडा छन्; ठूलो महासभामा म याहवेहको प्रशंसा गर्नेछु।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.