Pilgrims climb the holy hill while enormous city gates open before musicians and a veiled ark

भजनसंग्रह 24

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1पृथ्वी र यसमा भएका सबै थोक, यो संसार र यसमा बास गर्ने सबै प्राणीहरू याहवेहकै हुन्;
2किनकि उहाँले पृथ्वीलाई समुद्रमाथि बसाल्नुभयो, र पानीमाथि स्थापित गर्नुभयो।
3याहवेहको डाँडामा को उक्लिन सक्ला? उहाँको पवित्रस्थानमा को उभिन सक्ला?
4त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय शुद्ध छ; जसले मूर्तिमाथि भरोसा राख्दैन, अथवा जसले झूटो ईश्‍वरको नाममा शपथ खाँदैन।
5तिनीहरूले याहवेहबाट आशिष् पाउनेछन्, र मुक्तिदाता परमेश्‍वरले तिनीहरूलाई धर्मी ठहराउनुहुनेछ।
6उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्, जसले तपाईंको दर्शन खोज्दछन्, हे याकोबका परमेश्‍वर। सेला
7हे मूलढोकाहरू हो, आफ्ना शिर उच्‍च पार; हे सनातनका द्वारहरू हो, आफ्ना शिर उठाओ, ताकि महिमाका महाराजा प्रवेश गरून्।
8यी महिमाका राजा को हुनुहुन्छ? याहवेह, जो बलियो र शक्तिशाली हुनुहुन्छ, याहवेह, जो लडाइँमा पराक्रमी हुनुहुन्छ।
9हे मूलढोकाहरू हो, आफ्ना शिर उच्‍च पार; हे सनातनका ढोकाहरू हो, आफ्ना शिर उठाओ; ताकि महिमाका महाराजा प्रवेश गरून्।
10महिमाका यी महाराजाचाहिँ को हुनुहुन्छ? सेनाहरूका याहवेह— उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। सेला

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.