A king and community pray near offerings while horses and military standards stand distant

भजनसंग्रह 20

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1याहवेहले तपाईंको सङ्कष्‍टको दिनमा तपाईंलाई उत्तर देऊन्; याकोबका परमेश्‍वरका नामले तपाईंलाई सुरक्षा गरून्।
2उहाँको वासस्थानबाट तपाईंलाई मदत पठाऊन्, र सियोनबाट तपाईंलाई सहारा देऊन्।
3उहाँले तपाईंका सारा बलिदानहरू स्मरण गरून्, र तपाईंका होमबलिहरू ग्रहण गरून्। सेला
4उहाँले तपाईंको मनको इच्छा पूरा गरून्, र तपाईंका सबै योजनाहरू सफल गरून्।
5तपाईंको विजयमा हामी आनन्दले कराउनेछौँ, र हाम्रा परमेश्‍वरका नाममा हामी आफ्ना झण्डाहरू उच्‍च पार्नेछौँ। याहवेहले तपाईंका सबै बिन्ती पूरा गरिदेऊन्।
6अब मलाई थाहा भयो: याहवेहले आफ्ना अभिषिक्त जनलाई विजय दिनुहुन्छ। उहाँले आफ्नो दाहिने बाहुलीको उद्धारको शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट अभिषिक्त जनलाई जवाफ दिनुहुन्छ।
7कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्दछन्, तर हामीचाहिँ याहवेह हाम्रा परमेश्‍वरको नाममा भरोसा गर्दछौँ।
8तिनीहरू निहुरेर भुइँमा घुँडा टेक्नेछन्, तर हामीहरूचाहिँ खडा हुनेछौँ र सीधा उभिनेछौँ।
9हे याहवेह, राजालाई विजय गराउनुहोस्! हामीले पुकार गर्दा हामीलाई जवाफ दिनुहोस्!

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.