A serving ruler feeds the hungry as families lift the fallen across a flourishing Jerusalem landscape

भजनसंग्रह 145

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1हे मेरा परमेश्‍वर, मेरा राजा, म तपाईंलाई उच्‍च पार्नेछु; म सदासर्वदा तपाईंको नामको प्रशंसा गर्नेछु।
2हरेक दिन म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा तपाईंको नामको स्तुति गर्नेछु।
3याहवेह महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ; उहाँको महानता अपार छ।
4एक पुस्ताले अर्को पुस्तालाई तपाईंका महान् कामहरूको प्रशंसा गर्नेछन्; तिनीहरूले तपाईंका शक्तिशाली कामहरूको वर्णन गर्नेछन्।
5तिनीहरूले तपाईंका ऐश्‍वर्यको महिमामय वैभवको वर्णन गर्नेछन्— र म तपाईंका आश्‍चर्यपूर्ण कार्यहरूमा मनन गर्नेछु।
6मानिसहरूले तपाईंका अद्‌भुत कार्यहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्— र म तपाईंका महान् कार्यहरूको घोषणा गर्नेछु।
7तिनीहरूले तपाईंको प्रशस्त भलाइको बारेमा उत्सव मनाउनेछन्, र तपाईंको धार्मिकताबारे आनन्दले जयजयकार गर्नेछन्।
8याहवेह अनुग्रही र कृपालु हुनुहुन्छ; रिसाउनमा ढिलो र अचुक प्रेममा महान् हुनुहुन्छ।
9याहवेह सबैमाथि भलो हुनुहुन्छ; र आफ्ना सारा सृष्‍टिमाथि उहाँले कृपा देखाउनुहुन्छ।
10हे याहवेह, तपाईंले सृष्‍टि गर्नुभएका सबै थोकले तपाईंको प्रशंसा गर्दछन्; तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको स्तुति गर्नेछन्।
11तिनीहरूले तपाईंको राज्यको महिमाको वर्णन गर्नेछन्; र तपाईंको शक्तिको बखान गर्नेछन्,
12ताकि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू, र तपाईंका राज्यको महिमामय वैभव थाहा पाऊन्।
13तपाईंको राज्य अनन्तको राज्य हो, र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ। आफ्ना सबै प्रतिज्ञामा याहवेह भरोसायोग्य हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ।
14लडेकाहरू सबैलाई याहवेहले सहारा दिनुहुन्छ; दबिएकाहरू सबैलाई उठाउनुहुन्छ।
15सबैका आँखाहरूले तपाईंकै बाटो हेर्दछन्; अनि तपाईंले तिनीहरूलाई उचित समयमा तिनीहरूको भोजन दिनुहुन्छ।
16तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ, र हरेक जीवित प्राणीका इच्छाहरूलाई तृप्‍त पार्नुहुन्छ।
17याहवेह उहाँका सबै मार्गहरूमा धर्मी हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ।
18याहवेहलाई पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ, उहाँलाई सत्यतामा पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ।
19उहाँको भय मान्‍नेहरूका इच्छालाई उहाँले पूरा गर्नुहुन्छ; उहाँले तिनीहरूको पुकार सुन्‍नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ।
20उहाँलाई प्रेम गर्ने सबैलाई याहवेहले रक्षा गर्नुहुन्छ; तर सबै दुष्‍टहरूलाई उहाँले नाश पार्नुहुनेछ।
21मेरो मुखले याहवेहको प्रशंसा गर्नेछ; हरेक प्राणीले सदासर्वदा उहाँको पवित्र नामको प्रशंसा गरून्!

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.