Jonah kneels in prayer inside the shadowed great fish as seaweed and deep water surround him and warm light descends from above

योना 2

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1योनाले माछाको पेटभित्रबाट याहवेह आफ्ना परमेश्‍वरलाई प्रार्थना गरे।
2तिनले यसरी याहवेहसँग प्रार्थना गरेर भने: “मेरो सङ्कष्‍टको समयमा मैले याहवेहलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो। मृतकहरूको गहिरो पातालबाट मैले सहायताको निम्ति पुकारेँ; अनि तपाईंले मेरो क्रन्दन सुन्‍नुभयो।
3तपाईंले मलाई समुद्रको गहिराइमा फालिदिनुभयो, समुद्रको मुटुभित्र म डुबेँ; अनि पानीका छालहरूले मलाई घेरे; अनि तपाईंका पानीका छालहरू र लहरहरू ममाथि उर्लेर आए।
4मैले भनेँ, ‘म तपाईंको दृष्‍टिबाट निकालिएको छु; तापनि म फेरि पनि तपाईंको पवित्र मन्दिरतिर हेर्नेछु।’
5डुबाउने पानीले मलाई भयभीत तुल्याए, र समुद्रको गहिराइले मलाई चारैतिर घेरेका थिए; समुद्रका झारहरू मेरो टाउकोमा बेह्रिएका थिए।
6म डुबेर तल पर्वतहरूका फेदसम्मै पुगेँ; पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो। तर पनि तपाईंले, हे याहवेह मेरा परमेश्‍वर, मेरो प्राणलाई खाल्डोबाट निकालेर ल्याउनुभयो।
7“जब मेरो प्राण जानै लागेको थियो, हे याहवेह, मैले तपाईंलाई सम्झेँ; अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरसम्म पुग्यो।
8“जजसले व्यर्थका मूर्तिहरूमा भरोसा गर्छन्, तिनीहरू परमेश्‍वरको अचुक प्रेमबाट टाढा हुन्छन्।
9तर म धन्यवादको स्तुतिसहित तपाईंलाई बलिदान चढाउनेछु। मैले जे भाकल गरेको छु, त्यो म पूरा गर्नेछु। म भन्‍नेछु, ‘उद्धार याहवेहबाट नै आउँछ।’ ”
10अनि याहवेहले माछालाई आज्ञा दिनुभयो र त्यसले योनालाई सुक्खा जमिनमा उकेलिदियो।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.