Zophar speaking as an imagined wealthy feast darkens behind him

इयोब 20

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1तब सोपर नमातीले जवाफ दिए:
2“मेरा पीडित विचारहरूले मलाई जवाफ दिन उक्साउँछ; किनकि म धेरै विचलित भएको छु।
3जब म मेरो अपमान हुने गालीहरू सुन्छु, मेरो समझशक्तिले मलाई जवाफ दिन उत्प्रेरित गर्छ।
4“निश्‍चय नै तपाईंले जान्‍नुहुन्छ, कि यो उहिलेदेखि नै हुँदैआएको छ, मानव-जातिलाई यो पृथ्वीमा राखिएको समयदेखि नै यो हुँदैआएको छ,
5कि दुष्‍ट मानिसहरूको खुशी एकछिनको लागि, र ईश्‍वरहीनहरूको आनन्द क्षणभरको लागि मात्र रहन्छ।
6यद्यपि ईश्‍वरहीन मानिसको घमण्ड आकाशसम्मै पुग्ला र त्यसको टाउकोले बादलहरूलाई नै छुइएला,
7तर त्यो आफ्नो मलजस्तै, सदाको निम्ति नाश भएर जानेछ; त्यसलाई देखेकाहरूले भन्‍नेछन्, ‘खोइ, त्यो कहाँ छ?’
8कहिल्यै पाउन नसकिने सपनाजस्तै त्यो उडेर जान्छ, रातको दर्शनजस्तै लोप भएर जान्छ।
9त्यसलाई देखेका आँखाहरूले त्यसलाई फेरि देख्नेछैनन्; त्यसको ठाउँले त्यसलाई फेरि चिन्‍नेछैन।
10त्यसका छोराछोरीहरूले गरिबहरूसँग भीख माग्नैपर्छ; त्यसका आफ्नै हातहरूले आफ्नो धन फर्काइदिनैपर्छ।
11त्यसका हड्डीहरूमा भरिएका यौवन त्यसको मृत्युसँग धुलोमा सुतिजानेछ।
12“दुष्‍टता त्यसको मुखमा मिठो भए तापनि र यसलाई त्यसले आफ्नो जिब्रोमुनि लुकाउँछ,
13तथापि त्यसले त्यो छोड्न सक्दैन, त्यसको मुखमै रहिरहे तापनि
14त्यसको भोजन त्यसको पेटमा अमिलो बन्‍नेछ; र त्यो सर्पको विषजस्तै त्यसभित्र परिवर्तन हुनेछ।
15त्यसले निलेको धनसम्पत्ति त्यसले फेरि ओकलेर बाहिर निकाल्नेछ; परमेश्‍वरले त्यसको पेटलाई त्यो सबै ओकल्न लगाउनुहुनेछ।
16त्यसले सर्पको विष चुस्‍नेछ; विषालु सर्पको लामो दाँतले त्यसलाई मार्नेछ।
17त्यसले खोलाहरू अर्थात् मह र नौनी बहने नदीहरूमा आनन्द लिन पाउनेछैन।
18त्यसले परिश्रम गरेका कुराहरूको उपभोग नगरी फिर्ता दिनुपर्छ; त्यसले आफ्नो व्यापारका नाफाहरूमा आनन्द मनाउन पाउनेछैन।
19किनकि त्यसले गरिबलाई अत्याचार गरेको छ, र तिनीहरूलाई त्यागेको छ; र त्यसले आफूले नबनाएको घर कब्जा गरेको छ।
20“निश्‍चय नै त्यसले आफ्नो लालसाबाट विश्राम पाउनेछैन; त्यसले आफ्नो धनसम्पत्तिद्वारा आफूलाई बचाउन सक्दैन।
21त्यसको निम्ति खानलाई केही पनि बाँकी रहेको छैन; त्यसको समृद्धि धेरै दिनसम्म रहँदैन।
22त्यसको प्रशस्तताको समयमा, त्यसमाथि विपत्ति आइपर्नेछ; जोडले कष्‍टको बोझ त्यसमाथि आइपर्नेछ।
23त्यसले आफ्नो पेट भरेको बेला, परमेश्‍वरले आफ्नो बल्दो रिस त्यसको विरुद्ध खन्याउनुहुनेछ, र त्यसमाथि आफ्नो मुक्‍का बर्साउनुहुनेछ।
24त्यो फलामको हतियारबाट बाँचे तापनि काँसोको टुप्पो भएको काँडले त्यसलाई छेड्नेछ।
25त्यसले त्यो आफ्नो पिठिउँबाट थुतेर निकाल्छ, र चम्किरहेको काँडको टुप्पोले त्यसको कलेजो छेड्नेछ। अनि त्रास त्यसमाथि आइपर्नेछ।
26त्यसको धनसम्पत्तिलाई घोर अन्धकारले ढुकेर बस्छ; नफुकेको आगोले त्यसलाई भस्म पार्नेछ; र त्यसको घरमा बाँकी भएका कुराहरूलाई स्वाहा पार्नेछ।
27आकाशले त्यसको दोष उदाङ्गो पारिदिनेछ; पृथ्वी त्यसको विरुद्धमा उठ्नेछ।
28त्यसको घरलाई बाढीले, र परमेश्‍वरको क्रोधको दिनको उर्लंदो भलले बगाएर लैजानेछ।
29परमेश्‍वरले दुष्‍ट मानिसको दशा यसरी नै तोकिदिनुभएको छ, परमेश्‍वरले तिनीहरूको निम्ति यस्तै प्रतिफल तोकिदिनुभएको छ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.