
उत्पत्ति 4
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1आफ्नी पत्नी हव्वासित आदमको सहवास भयो; अनि तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “याहवेहको सहायताले मैले एक जना पुरुषलाई जन्म दिएकी छु।”
2त्यसपछि तिनले कयिनको भाइ हाबिललाई जन्माइन्। अब हाबिल भेडाबाख्राका गोठाला भए, र कयिनचाहिँ खेतको काम गर्ने भए।
3केही समय बितेपछि कयिनले याहवेहलाई भेटी चढाउन आफ्नो उब्जनीबाट केही ल्याए।
4अनि हाबिलले पनि आफ्ना बगालका पहिले जन्मेका मोटा पाठाहरूबाट केही असल भागहरू ल्याए। याहवेहले हाबिल र तिनको भेटीलाई निगाहको दृष्टिले हेर्नुभयो;
5तर कयिनलाई र तिनको भेटीलाई चाहिँ निगाहको दृष्टिले हेर्नुभएन। यसकारण कयिन रिसले चुर भए, र तिनको मुख अँध्यारो भयो।
6तब याहवेहले कयिनलाई भन्नुभयो, “तँ किन रिसाउँछस्? तेरो मुख किन अँध्यारो छ?
7तैँले जे ठिक छ, सो गरिस् भने के तँ स्वीकारयोग्य हुँदैनस् र? तर तैँले जे ठिक छ, सो गरिनस् भने पाप तेरो ढोकामा ढुकिबसेको छ; त्यसले तँलाई अधीनमा राख्न खोज्छ, तर तैँले त्यसलाई अधीन गर्नैपर्छ।”
8त्यसपछि कयिनले आफ्नो भाइ हाबिललाई भने, “आइज, हामी बाहिर खेतमा जाऔँ।” अनि जब तिनीहरू खेतमा थिए, तब कयिनले आफ्नो भाइ हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे।
9तब याहवेहले कयिनलाई सोध्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले जवाफ दिए, “म जान्दिनँ; के म मेरो भाइको गोठालो हुँ र?”
10याहवेहले भन्नुभयो, “तैँले यो के गरिस्? सुन! तेरो भाइको रगतको आवाजले भूमिबाट मलाई पुकार्दैछ।
11अब तँमाथि श्राप परेको छ, र भूमिबाट धपाइएको छस्, त्यस भूमिले तेरो हातबाट तेरो भाइको रगत लिनलाई आफ्नो मुख खोलेको छ।
12जब तैँले भूमिमा खनजोत गर्छस्, अब उसो त्यसले तेरा लागि अन्न उमार्नेछैन। तँ पृथ्वीमा एक बेचैन डुलुवा हुनेछस्।”
13कयिनले याहवेहलाई भने, “मेरो दण्ड मैले सहनै नसक्ने भयो।
14आज तपाईंले मलाई यस ठाउँबाट निकाल्नुहुँदैछ; अनि म तपाईंको उपस्थितिबाट लुकाइनेछु; यस पृथ्वीमा म बेचैन डुलुवा हुनेछु; अनि जसले मलाई भेट्टाउँछ, त्यसले मलाई मार्नेछ।”
15तर याहवेहले तिनलाई भन्नुभयो, “यस्तो हुनेछैन, यदि कसैले कयिनलाई मार्यो भने त्यसको सात गुणा बढ्ता त्यसले भोग्नेछ।” तब तिनलाई कसैले भेटेर नमारून् भनी याहवेहले कयिनलाई एउटा चिन्ह लगाइदिनुभयो।
16यसरी कयिन याहवेहको उपस्थितिबाट गयो, र अदनको पूर्वपट्टिको नोद भन्ने ठाउँमा बस्न लाग्यो।
17आफ्नी पत्नीसित कयिनको सहवास भयो; अनि तिनी गर्भवती भएर हनोकलाई जन्माइन्। तब कयिनले एउटा सहर बनायो, र त्यस सहरको नाम आफ्नो छोराको नामअनुसार हनोक राख्यो।
18हनोकबाट इरादको जन्म भयो, र इरादचाहिँ महूयाएलका पिता भए, र महूयाएलचाहिँ मतूशाएलका पिता भए, र मतूशाएलचाहिँ लेमेकका पिता भए।
19लेमेकले दुईटी स्त्रीहरूसित विवाह गरे; एउटीको नाम आदा र अर्कीको नाम सिल्ला थियो।
20आदाले याबाललाई जन्माइन्; जोचाहिँ पालहरूमा बस्नेहरू र पशुपालन गर्नेहरूका पुर्खा थिए।
21तिनको भाइको नाम यूबाल थियो; जोचाहिँ वीणा र बाँसुरी बजाउनेहरूका पुर्खा थिए।
22सिल्लाको पनि एउटा तूबल-कयिन नामको छोरा भयो, जसले काँसो र फलामका सबै किसिमका औजार बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिईन्।
23लेमेकले आफ्ना पत्नीहरूलाई भने, “आदा र सिल्ला, मेरो कुरा सुन; लेमेककी पत्नी हो, मेरा वचनहरू सुन! मलाई घाइते बनाउने मानिसलाई मैले मारेको छु, मलाई चोट पुर्याउने जवान मानिसलाई मैले मारेको छु।
24यदि कयिनको साटो सात गुणा हो भने लेमेकको चाहिँ सतहत्तर गुणा हुनेछ।”
25आदमको आफ्नी पत्नीसित फेरि सहवास भयो; अनि तिनले अर्को छोरो जन्माइन्, र त्यसको नाम यसो भन्दै शेत राखिन्, “कयिनले हाबिललाई मारेपछि परमेश्वरले मलाई त्यसको सट्टामा अर्को छोरो दिनुभयो।”
26शेतको पनि एउटा छोरा भयो; अनि तिनले त्यसको नाम एनोश राखे। त्यस बेलादेखि मानिसहरूले याहवेहको नाममा आराधना गर्न थाले।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.